Tue. Mar 4th, 2025

विकल्पमाथिका बहसहरुमा नेपाली राजनीति

sudarsan khatiwada

सुदर्शन खतिवडा –

नेपाली समाज यतिबेला तिव्ररुपमा विकल्पको खोजीमा छ । विकल्पमाथिका बहसहरु दिनानुदिन घनिभूत बन्दै गइरहेका छन् । राजनीतिक परिवर्तनको नेतृत्व गरेका दल र नेताहरुमाथिको विकर्षण बाक्लिँदो छ । नयाँ राजनीतिक शक्तिको अभ्यास गरिरहेका केही शक्तिहरुले पुरानोप्रतिको तिव्र विकर्षणलाई तिव्र आकर्षणमा रुपान्तरित गर्न सक्लान् ?

राजनीतिक परिवर्तनको लागि बनेको दल र त्यसमा आवद्ध नेताहरु भौतिक सभ्यता निर्माण अथवा समृद्धिको नेतृत्व गर्न सफल होलान्? अथवा पुराना राजनीतिक शक्तिहरुलाई नयाँ शक्तिद्वारा उक्त ऐतिहासिक आवश्यकता पूरा गर्न विस्थापित होलान् ?व्यक्त अव्यक्त जुनरुपमा भए पनि यो प्रश्न आजको नेपाली समाजमा उठिरहेको निर्विकल्प प्रश्न हो । लोकतन्त्रको विकल्प राजतन्त्र कि अझ उन्नत लोकतन्त्र भन्ने बहसमा पनि समाज विभाजित भइरहेको छ । विकल्पको खोजीमा बाक्लिँदो बहस र यसको उत्कर्षले नेपाली समाजलाई कता लैजाला ?०६२÷०६३ भन्दा पछाडितिर किकि अझ उन्नत लोकतन्त्रतिर ?

वास्तवमा विकल्पलाई अपनाउने क्षमता देखाउनसक्ने हो भने संसारमा केही कुरा पनि पुराना हुँदैनन् । यसरी नै विकल्पलाई अपनाउन नसक्ने हो भने नयाँ भन्नेहरु पनि पुरानाभन्दा पनि पुराना हुन्छन् । जस्तो आजका युवाका कुरा गरौं । दलका भातृ संगठनमा लागेका कयौं युवाहरु हप्तादेखि चन्दासम्म उठाउने काममा सक्रिय देखिन्छन् । उनीहरुको जीवनशैली कसैगरी पनि रचनात्मक र प्रगतिशील देखिँदैनन् । माउ पार्टीका आदेशपालकजस्ता लाग्ने उनीहरु आफ्नो मष्तिष्कको प्रयोग कहिल्यै गर्दैनन् ।

उनीहरु अनुशासित होइनन्, आदेशपालकको भूमिकामा देखिन्छन् । आफ्नै पार्टीका गलतका विरुद्ध विद्रोह बोल्न हिच्किचाउँछन् । यसरी हेर्दा लाग्छ, उनीहरु गधापच्चीसकै उमेरमा चरित्रका हिसाबले चाउरिईसकेका छन्, कुप्रिसकेका छन् । त्यसो त, बुढेसकालमा पनि प्रगतिशील र क्रियाशील जीवन जिउने ‘युवा’हरु हामीले दैनिक जीवनमा प्रशस्तै भेट्न सक्छौं । यी उदाहरणहरु हेर्दा भन्न सकिन्छ, जसरी उमेरले युवा हुँदैमा मानिस युवा हुँदैन, त्यसैगरी नयाँ भनेर मात्रै नयाँ बन्न सकिँदैन । नयाँ त त्यसले ग्रहण र अनुकूलन गरेको चरित्रमा प्रतिबिम्बित हुनुपर्छ ।

केही समयअगाडि ऊर्जाशील युवाहरुको पहलुमा विवेकशील नेपाली पार्टी नामकनयाँ राजनीतिक शक्ति जन्मियो । पार्टीभित्रको जीवन्त लोकतन्त्रको अभ्यास, पारदर्शिता, सुशासन, गतिशीलताजस्ता पक्षहरुमा विवेकशील असाध्यै अगाडि देखियो । राजनीतिक दल यति साह्रो व्यवस्थित र पारदर्शीरुपमा पाउनु वास्तवमै नयाँ नै कुरा हो । तर राजनीतिक आव्हान अथवा पोलिटिकल अपिलको कोणबाट यो पार्टी अगाडि आउन सकेन । केवल कुनै प्रभावकारी गैसस अथवा समूहले उठाउने सामान्य सामाजिक आन्दोलनको तहभित्रै उक्त दलले अहिलेसम्म संघर्ष गरिरहेको छ ।

नयाँ शक्ति पार्टी, नेपाल विवेकशीलमा खड्किएको राजनीति आव्हान (पोलिटिकल अपिल) को सवालमा बलियो देखियो । तर उक्त पार्टी पनि आन्तरिक लोकतन्त्र, पार्टी सञ्चालन प्रक्रिया, पारदर्शिता, नेतृत्व विकासलगायतका सवालमा पुरानाभन्दा खासै नयाँ देखिन सकिरहेको छैन । भनिन्छ, पुरानै गतिमा हिँडेर नयाँ गन्तव्यमा पुग्न सकिन्न । नयाँ गन्तव्यका लागि कि नयाँ दिशा चाहिन्छ कि नयाँ गति । अर्थशास्त्री जेएम किन्स विचार सापटी लिने हो नयाँ विचारको विकास गर्नु जति सजिलो छ त्यो भन्दा पुरानो विचारबाट मुक्त हुन कठिन हुन्छ ।

नयाँ शक्तिको लागि यही निर्दिक्षा (अनलर्निङ) सबैभन्दा चुनौतीपूर्ण कुरा बनिरहेको छ । विभिन्न पृष्ठभूमिबाट जम्मा भएका पात्र र प्रवृत्तिहरुलेआफ्नो राजनीतिक, सामाजिक र सांस्कृतिक अभियानका क्रममा सिकेका शिक्षा, संस्कार, शैली मष्तिष्कबाटै हटाउने कुरा कठिन हुन्छ भन्ने कुरा उनीहरुको जीवनमा लागू भइरहेको छ । आफ्नै विगतलाई अस्वीकार गर्नेआँट नयाँ शक्तिभित्रका केही नेतृत्वमा आजको दिनसम्म देखिएको छैन ।

अब हामीले हाम्रो जीवनको सबै ऊर्जा पुरानोको विरुद्ध लड्न खर्चिने कि नयाँ बनाउन ? यहीँनेर वैकल्पिक राजनीतिको दशा र दिशा अन्तरनिहित छ । यहीक्रममा केही साताअगाडि चर्चित पत्रकार रविन्द्र मिश्र पनि दुई दशक लामो जागिर छाडेर राजनीतिमा होमिएका छन् । उनले विवेकशील र नयाँ शक्तिले पूरा गर्न नसकेका भूमिका पूरा गर्ने गरी राजनीतिक दल निर्माणको लागि भूमिका खेल्न सक्लान् ? अथवा त्योभन्दा पनि फितलो भूमिकामा राजनीतिक रंगमञ्चमा बिलाएर जालान् ? त्यो पनि भविष्यकै जिम्मामा छोड्नुपर्ला । यद्यपि यी र यस्ता गतिविधिहरुले नेपाली राजनीतिमा विकल्पको खोजीको घनत्वलाई बुझ्न सघाउँछन् ।

नेपालमा राजनीतिक व्यवस्थाहरु परिवर्तन भएको भनिए पनि देशको खास राजनीतिक, आर्थिक र सामाजिक स्वभाव फेरिएनन् । आर्थिक र सामाजिक सत्ताले नै राजनीतिक सत्ता चलाइरहने अवस्थामा भोको पेटले हालेको मतको खासै अर्थ देखिएन । राजनीतिक परिवर्तन भनेकोअमूक नेताहरुको मात्रै सवाल नभएर कार्यकर्ता र नागरिक तहसम्मको राजनीतिक चरित्र र स्वभाव परिवर्तनको प्रश्न हो । यो समृद्धि सपनाको व्यवहारिक रुपान्तरणसँग जोडिएको प्रश्न हो ।

पुराना दलहरुको अभ्यासबाट वाक्कदिक्क नागरिकले राजनीति गर्ने तरिकाको परिवर्तन खोजिरहेका छन् । नयाँ फ्लेभर खोजिरहेका छन् । यो वैकल्पिक राजनीति भन्दा बढी राजनीतिक विकल्प हो । यसको अर्थ विद्यमान राजनीतिक दलहरुमा सामान्य सुधार भन्दा पूरै राजनीतिक चरित्र र स्वभावमैं परिवर्तन गरी नयाँ दलबाट विकल्पको खोजी गरिनु हो । सिद्धान्त, विचार, नीति, विधि, प्रक्रिया, पद्धति, योजना, कार्यक्रम, पार्टी संरचना, ढाँचा, कार्यशैली, संस्कार, संस्कृति, सौन्दर्यजस्ता राजनीतिका समग्र आयाममा नयाँपन नदिईकन राजनीतिक विकल्प दिने कुरा त्यति सजिलो हुनेछैन । यसमा यी नयाँ दलहरुले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

पुराना दलहरुले कम्तीमा ४ दशकभन्दा बढी समय लगाएर बनाएको वडादेखि टोलटोलसम्म फैलिएको संरचनात्मक सञ्जाल तोड्नु नयाँ शक्तिहरुका लागि शक्तिशाली प्रतिकूलता हुन सक्छ । निर्वाचन जित्न पैसा खर्च गर्ने र निर्वाचन जितेपछि त्यही रकम उठाउन भ्रष्टाचार गर्ने दुश्चक्रबाट आफूलाई बचाउँदै नयाँ राजनीतिक शक्तिको रुपमा स्थापित हुनुपर्ने चुनौती त छँदैछ । यी अप्ठेराहरुको कुरा गर्दैगर्दा नयाँ शक्तिहरुका लागि प्रशस्तै अनुकूलताहरु पनि उपलब्ध छन् । राष्ट्रियरुपमा भन्दा पुराना शक्तिहरुको अदूरदर्शिता, असफलता र असक्षमतासँगै बाक्लिँदो अविश्वास नयाँ शक्तिहरुका लागि पहिलो प्रतिकूलता हो ।

सामाजिक विकासको नयाँ चरण र नयाँ आवश्यकतासँगै वस्तुगतरुपले छिप्पिँदो नयाँ सन्दर्भ र पुरानो नेतृत्वको अन्तरविरोध पनि नयाँ शक्तिहरुका लागि सजिला सम्भावनाहरु हुनसक्लान् । किनकी नेता भनेका समाजका अग्रचेतना हुनुपर्छ तर राजनीतिक परिवर्तनको नेतृत्व गरेर आएका हाम्रा नेतृत्वमा इतिहासको ब्याज खाने गुण काफी देखिए पनि मुलुकलाई अगाडि बढाउने दूरदर्शिता देखिएन । यो पुस्तान्तरणको पनि समस्या हुनसक्छ । भिडले जेभन्दा ताली बज्छ, त्यही अनुसार बोल्ने ‘चेयर लिडर’हरुप्रति नयाँ पुस्ताको त्यतिसाह्रो रुचि देखिँदैन । एउटा निर्वाचन हारे पनि एजेन्डा नछोड्ने राजनेताको तिव्र खोजीमा पुराना दलहरुबाट त्यति सम्भावना बोकेका पात्रहरु अहिलेसम्म देखिन सकेका छैनन् ।

नेपाली समाजभित्र वर्षौंदेखि जकडिएर रहेका उत्पीडनका रेखाहरु मेट्दै नयाँ राष्ट्रिय एकताको गोरेटोमा डोहो¥याउन सक्ने पार्टी र नेतृत्वको खोजी पनि नयाँ पुस्ताले गरिरहेका छन् । बहुजाति, बहुधर्म, बहुभाषा र बहुसंस्कृतिको इन्द्रधनुषी विविधता विद्यमान हाम्रो देशको मौलिक सन्दर्भमा यसको समुचित व्यवस्थापन गर्न सक्ने नेतृत्वको खोजी पनि भइरहेको छ । युरोपमा औद्योगिक क्रान्तिपछि मजदुर र मालिकको संघर्ष व्यवस्थापन गर्न कार्ल माक्र्सले कम्युनिष्ट पार्टीको घोषणापत्र लेखिरहँदा नेपालमा भानुभक्तले संस्कृतबाट नेपालीमा रामायण उल्था गरिरहेका थिए । हाम्रो राजनीति, सामाजिक, सांस्कृतिक र आर्थिक विकासको आफ्नै रफ्तार छ । यसैगरी भारत र चीनको बीचमा रहेको हाम्रो रणनीतिक अवस्थिति आफैंमा अवसर र चुनौती दुवै हो ।

यही र यस्तै सन्दर्भहरुको बीचमा हामी नेपाली समाजको रुपान्तरणलाई संस्थागत गर्दै आर्थिक समृद्धि हासिल गर्ने अर्जुनदृष्टिका साथ अगाडि बढिरहेका छौं ।यो यस्तो भयंकर अप्ठेरो अवस्था हो कि एकताको परम्परागत सन्दर्भ र भाष्य जुन तिव्रतामा भत्किँदै गएको छ, त्यही रफ्तारमा नयाँ सन्दर्भ र भाष्यको विकास र सर्वस्वीकार्यतामा अपेक्षित सफलता हासिल भइरहेको छैन । यो संक्रमणलाई सही दिशामा डोहो¥याउन समाजले नयाँ राजनेता जन्माउनै पर्छ । यी सबै नयाँ वैकल्पिक राजनीतिक अनुयायीहरुका लागि उपलब्ध अनुकूलता हुन् ।

अन्तर्राष्ट्रिय सन्दर्भहरु कोट्याउँदा पुरानो राजनीतिक व्यवस्था तिव्र संकटमा परिरहेको देख्न सकिन्छ । ब्रेक्जिटपछि अमेरिकामा डोनाल्ड ट्रम्पको विजय हुँदै फ्रान्समा दक्षिणपन्थीहरुको सम्भावित विजयलाई मध्यनजर गर्दा हामीले विश्व राजनीतिमा विकास हुँदै गइरहेको नयाँ दृश्य देख्न सक्छौं । आज भूमण्डलीकरका जन्मदाताहरु नै यसबाट सबैभन्दा बढी आतंकित देखिन्छन् । विश्वव्यापीरुपमा वातावरणीय संकट, प्रणालीहरुको संकट र समानुभूति संकटले चरम रुप लिइरहेको छ । पुँजीवादले बिगारेको वितरण र समाजवादीहरुले बिगारेको प्रक्रियाको विकल्पमा ‘न दक्षिणपन्थ, न वामपन्थ, बरु अग्रपन्थ’ बहसले आकार लिइरहेको छ ।

यसैसाता बेलायतका पूर्वप्रधानमन्त्री तथा लेबर पार्टीका पूर्वनेता टोनी ब्लेयरले न्यूयोर्क टाइम्समा ‘प्रोग्रेसिभ सेन्टर’ अथवा प्रगतिशील केन्द्रको बहसलाई अगाडि सारेका छन् । यसको अर्थ अहिले विश्वमै राजनीतिले नयाँ आकार ग्रहण गरिरहेको छ ।

यिनै अनुकूलता र प्रतिकूलताको बीचमा नेपालमा पनि वैकल्पिक राजनीतिको बहस अगाडि बढिरहेको छ । जोहान वोल्फग्यांग वन गोथे भन्छन्, ‘नयाँ सत्यको उद्घाटनको लागि पुराना गल्तीहरुको पुनरावृत्तिभन्दा खतरनाक केही हुँदैन ।’ यहाँनेर भन्न सकिन्छ, नयाँ दलहरुलाई नयाँ गल्ती गर्ने छुट छ तर, पुराना गल्तीहरु दोहोर्याउने छुट छैन । दलका नेता र कार्यकर्ताको भीडमा फरक कार्यशैली र भूमिकासाथ नागरिकले सजिलै चिन्न सक्ने, भेट्न सक्ने, भलाकुसारी गर्न सक्ने र सपना देखाउँदै नेतृत्व गर्न सक्ने नेता र कार्यकर्ता जसले जन्माउन, हुर्काउन र काममा लगाउन सक्छ, त्यही पार्टीको भविष्य उज्यालो छ । प्रतिस्पर्धाको नियम हरेक खेलाडीले पछ्याउनैपर्छ । समयको यो परीक्षामा नयाँ गोरेटो खन्ने साहस गर्ने सबै अभियन्ताहरुलाई बधाई तथा शुभकामना †

२०७३ चैत ६ गते प्रकाशित

About The Author