सरिता श्रेष्ठ / १ चैत, धादिङ –
आगामी चैत ३ गतेदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षामा (विगतको एसएलसी) धादिङ जिल्लाबाट ६ हजार ९ सय २ विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यलय धादिङले जनाएको छ ।
नियमिततर्फ ६ हजार ५ सय ९, एक्जेम्टेडतर्फ १ सय १५ र आंशिकतर्फ १ सय ८९ जनाले परिक्षा फारम भरेको जिल्ला शिक्षा कार्यालय धादिङका शाखा अधिकृत दुर्गाप्रसाद सिलवालले जानकारी दिए । त्यस्तै प्राविधिकतर्फ ६९ जना विद्यार्थीले परीक्षा दिने बताइएको छ ।
जिल्लाभर २६ वटा केन्द्राध्यक्ष, ३४ जना सहायक केन्द्राध्यक्ष, २ सय ९२ जना निरीक्षक ७८ जना सहायक कर्मचारी तथा ३ सय ९० जना सुरक्षाकर्मी खटिने पनि कार्यलयले जनाएको छ । यस वर्ष सिद्देश्वर उमावि नलाङ, सुनखानी मावि चैनपुर, जनजागृति उमावि थाक्र्रे, गणेशकुण्ड उमावि दार्खा र त्रिपूरासुन्दरी उमावि सल्यानकोट परीक्षा केन्द्र तोकिएको छ ।
परीक्षाका लागि यस वर्ष महेशधर्म मावि जीवनपुर, मच्छिन्द्र मावि खानीखोला, जनजागृति मावि थाक्र्रे, महाकाली मावि सिम्ले, बागेश्वरी मावि बैरेनी, जनकल्याण मावि बैरेनी मासटार, आदर्श मावि गजुरी निर्धारण गरिएको छ ।
त्यस्तै बागेश्वरी मावि रिचोकटार, चन्द्रोदय मावि विशालटार, मिन्दुका मावि नलाङ, देउराली मावि ससाह, नीलकण्ठ मावि धादिङबेसी, शमिभन्ज्याङ मावि मैदी, संस्कृत तथा साधारण मावि मैदी, रानीपौवा मावि सल्यानटार, अचने मावि खहरे, बद्रीविशाल मावि बुढाथुम रहेको छ ।
त्यसैगरी मण्डली मावि फूलखर्क, धादिङ आवसीय मावि धादिङबेसी, महेन्द्रबाराही उमावि कटुञ्जे, बच्छलादेवी उमावि सत्यदेवी, चिल्ड्रेनपार्क मा वि धादिङबेसी, बालमन्दिर मावि धादिङबेसी, सुनखानी मावि चैनपुर, सिद्धेश्वर मावि नलाङ र तामाङखर्क उमावि गुम्दी रहेको छ ।
परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा कार्यलय धादिङले जनाएको छ । नेपालमा वि.स. १९९० सालदेखिको लामो इतिहास रहेको एसएलसी परीक्षा यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (इस.इ.इ) का नाममा हुँदैछ ।
२०७३ चैत १ गते प्रकाशित