
३० फागुन धादिङ ।
आइसिसि विश्व क्रिकेट लिग च्याम्पियसिपमा आज नेपाल र केन्या बीचको दोस्रो खेल सुरु हुदै छ । शनिवारको खेल गुमाएको नेपालले शिर्ष चार भित्र पर्न गणितीय अंक कायम गर्नको लागी आजको खेल जित्नैपर्ने हुन्छ ।
शनिबारको खेल हारेर २ अंक गुमाएपछि प्रतियोगिताको शीर्ष चारमा रहने सम्भावना गणितीय रुपमा मात्र कायम रहेको भएपनि नेपाल सोमबार जित्नैपर्ने मानसिकताका साथ मैदान उत्रिदैछ ।
शनिबार ३६ ओभर खेलेको नेपालले जम्मा ११ वटा चौका हान्यो भने ने छक्काको त खातै खोल्न सकेन । नेपालका ब्याट्सम्यान केन्याका बलर सामु निरिह देखिए । डेब्यु गरेका दिपेन्द्रसिंह ऐरीले मध्यम प्रदर्शन गरेपनि सुनिल धमला तीन रनमै आउट भए । भरपर्दा ब्याट्स्म्यान शरद भेषावकर, लामो समयपछि टीममा परेका मेहवुव आलम, ठूला सट हान्न माहिर विनोद भण्डारी कसैको ब्याट चलेन ।
कप्तानी भूमिका निर्वाह गरिरहेका ज्ञानेन्द्र मल्ल र सागर पुनले इनिङ सम्हाल्ने कोशिस त गरे तर खेल्नुपर्ने जस्तो खेल्न उनीहरुले पनि सकेनन् । समग्रमा भन्दा ब्याटिङमा समस्या देखियो । खेल सकिएपछि कप्तान ज्ञानेन्द्र र मुख्य प्रशिक्षक जगत टमाटाले पनि स्वीकारे कि ‘ब्याटिङ नचल्दा खेल हारियो ।’
नेपालको बलिङ सुधार र केन्याको बलिङबाट बच्न दबाब
केन्याका तिव्र गतिका बलरले नेपाली इनिङस ध्वस्त बनाउन ठूलो भूमिका खेलेका थिए । तर नेपाली फास्ट बलरलाई केन्याका ब्याट्सम्यानले धेरै रन हानेकोले खेलमा के भएको हो र के हुने हो सजिलै भन्न नसकिने क्रिकेट विश्लेषकको भनाई छ । आफ्नो जितको आधार भनेकै तीब्र गतिका बलर भएको केन्याका कप्तानले भनिसकेकाले नेपालका ब्याट्सम्यान केन्याका बलरसँग निकै सर्तक हुनुपर्ने देखिन्छ । ब्याटिङमा राम्रो प्रदर्शन गर्न सक्ने सोमपाल कामीलाई पाँचौ या छैठौं नंबरमा ब्याटिङमा ल्याउनु टिमका लागि प्रभावकारी हुनसक्छ ।
त्यसैगरी सोमपाल कामी जस्ता तीब्र गतिका नेपाली बलरलाई केन्याका ब्याट्सम्यानले निरिह बनाएकाले नेपालले स्पिनरलाई धेरै खेलाउनेतर्फ पनि सोच्नुपर्नेछ । ५० ओभरको खेलमा २ सय रन नबनाएसम्म नेपाल असुक्षित नै हुने क्रिकेट विश्लेषकहरु बताउँछन ।
२०७३ फागुन ३० गते प्रकाशित