

१३ फागुन, धादिङ –
त्रिविले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन देशभर फागुन १८ गते गर्ने भनेपनि धादिङका ३ वटा क्याम्पसमा फागुन १४ गते नै निर्वाचन गर्ने तय गरेको हो ।
धादिङका ८ वटा क्याम्पस मध्ये सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ क्याम्पस, गजुरीमा रहेको आर्दश बहुमुखी क्याम्पस र खानीखोलामा रहेको मछिन्द्र बहुमुखी क्याम्पसमा शनिबार निर्वाचन हुने बताइएको छ ।
विभिन्न विद्यार्थी संगठनहरुबीचको सहमति भएपछि ३ वटा क्याम्पसमा फागुन १४ गते नै निर्वाचन गर्ने तय गरिएको हो । बाँकी ५ वटा क्याम्पसमा त्रिविले तोकेकै मिति फागुन १८ गते निर्वाचन हुनेछ ।
सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ क्याम्पसमा अध्यक्ष, कोषाध्याक्ष, सचिव सहित सदस्य गरी ८ पदका लागि २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन शनिबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म संचालन हुने नीलकण्ठ क्याम्पसका उपप्रध्यापक मुरारी अधिकारीले पाविलन्यूज डटकमलाई जानकारी दिए ।
७ सय ७९ मतदाता रहेको नीलकण्ठ क्याम्पसमा अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी यूनियनबीच चुनावी प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै गजुरीमा रहेको आर्दश बहुमुखी क्याम्पसमा १ सय ४६ जना मतदाता मध्ये ११ पदका लागि २२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। त्रिविले यसअघि स्ववियु निर्वाचन फागुन १४ गते गर्ने घोषणा गरेको थियो तर पछि फागुन १८ गते सरेको हो ।
२०७३ फागुन १३ गते प्रकाशित