२७ माघ, काठमाडौं –
देशमै रोजगारको अवसर नभएको भन्दै युवा विदेश पलायन हुने क्रम तीव्र छ । तर, रुपन्देहीका शशी पौडेल गाईको दूध बेचेरै दैनिक ८० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्छन् ।
विगत आठ वर्षदेखि गाई पाल्दै आएका उनले रुपन्देही तिलोत्तमा नगरपालिकाको टिकुलीगढमा गाई फार्म सञ्चालन गरिरहेका छन् ।
पौडेलको फर्ममा अहिले पाँच सयको हाराहारीमा गाई छन् । गाई फार्मको नाम ‘लुम्बिनी प्रोडक्टस एन्ड रिसर्च सेन्टर’ राखिएको छ । उनको फार्ममा गाईले सरदर २० देखि ३० लिटरसम्म दूध दिन्छन् । पौडेलको फार्मबाट दैनिक १५ सय लिटरभन्दा बढी दूध उत्पादन भइरहेको छ ।
एक अर्बभन्दा बढी लगानी रहेको पौडेलको गाई फार्ममा सवा सयभन्दा बढी दुहूना गाई छन् । त्यसबाहेक दुई सयका हाराहारीमा गर्भवती गाई र एक सय ५० को हाराहारीमा साना बाच्छी छन् ।
पौडेलले गाईको दूधबाहेक बार्षिक दुई सयभन्दा बढी गाई पनि बेच्ने गर्छन् । एउटा गाईको मूलय ४० हजारदेखि ७० हजार रुपैयाँसम्म छ । यसबाहेक उनले गाईको मल बेचेर पनि आम्दानी गर्छन् ।
गाईको गोबरबाट पौने एक मेगावाट बिजुली
पौडेल अहिले दूध बेच्ने कामसँगै गोवरबाट बिजुली निकाल्न पनि लाग्दैछन् । उनले निकाल्न लागेको क्षमता नेपालमै पहिलो हो । पौडेलले करिब तीन् करोड रुपैयाँ बराबरको लगानीमा विद्युत उत्पादन गर्ने भएका छन् । अहिले गोबरबाट बिजृुली निकाल्ने काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । अबको एक महिनबाट बिजुली उत्पादन हुने उनले बताए । अन्नपूर्ण पोस्ट दैनिकबाट
२०७३ माघ २७ गते प्रकशित