११ माघ, धादिङ-
नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई श्रीलंकन राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक डेभ ह्वाटमोरले प्रशिक्षण दिने भएका छन् ।
आइसीसी विश्व क्रिकेट लिगअन्तर्गत् केन्याविरुद्ध हुने खेलका लागि नेपाली टोलीलाई प्रशिक्षण दिन ह्वाटमोर नेपाल आएका हुन् । श्रीलंकालाई एक दिवसीय विश्वकप क्रिकेटको उपाधि दिलाउनुभएका ह्वाटमोरलाई ‘ब्याट एन्ड बल फाउन्डेसन’ले केन्याविरुद्धको खेलका लागि नेपाल ल्याएको हो ।
यसअघि पाकिस्तान, बंगलादेश, जिम्बाबे तथा इन्डियन प्रिमियर लिग (आइपीएल)को टोली कोलकाता नाइट राइडर्सलाई समेत प्रशिक्षण दिइसक्नुभएका ह्वाटरमोरलाई विश्व क्रिकेट जगतको उत्कृष्ट प्रशिक्षक मध्येका एक मानिन्छ । अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीबाट अन्तराष्ट्रिय खेलसमेत खेल्नुभएका ह्वाटमोरले नेपाली टोलीकोबारेमा त्यति धेरै जानकारी नभएपनि अन्तराष्ट्रिय क्रिकेटमा नेपालको बलियो सम्भावनाको बारेमा आफू जानकार रहेको बताए ।
उनले नेपाली टोलीसँग जोडिन पाउँदा आफू निकै उत्साहित रहेका समेत बताए। विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत् केन्याविरुद्ध नेपालले आगामी फागुन २८ र ३० गते दुईओटा एकदिवसीय खेल खेल्नेछ ।
२०७३ माघ ११ गते प्रकाशित