११ माघ, धादिङ-
धादिङमा सुन्तला उत्पादनको क्षेत्रफल बढ्दो भएपनि उत्पादन भने घट्दै गएको छ । सुन्ताला खेती गर्ने किसनाहरुको संख्या हरेक वर्ष बढेपनि उत्पादन भने घट्दो क्रममा रहेको जिल्ला कृषी विकास कार्यालय धादिङको तथ्याङ्कले देखाएको छ । अघिल्लो वर्षमा भन्दा यस वर्ष ५६ मेट्रिक टन सुन्ताला उत्पादन घटेको हो । तर गत वर्षको तुलनामा सुन्ताला खेती गरेको क्षेत्रफल भने चालीस हेक्टरले बढेको जिल्ला कृषि विकास कार्यालय धादिङका बागबानी विकास अधिकृत केशवप्रसाद घिमिरेले बताए ।
सुन्ताला उत्पालन सिल क्षेत्र (पकेट क्षेत्र) भने यस वष बढेर तिन सय दश हेक्टर भएको छ । जिल्ला कृषी विकास कार्यालयले किसानहरुलाई विरुवामा दिईएको सहुलीयत र विभिन्न औषधी र मलहरुमा दिईने गरेको अनुदानका कारण सुन्ताला खेती गर्ने किसानहरुक संख्या बढेको छ । सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिएको धादिङको महादेवस्थान, धुषा र जोगिमाराका विभिन्न स्थानका सुन्तला उत्पादनमा कमी आएको छ । उत्पादन दिन थालेको केही वर्षमै सुन्तलाको बोट मर्न थालेको महादेवस्थान १ का वर्सिम चेपाङले बताए । वर्सेनि सुन्तला उत्पादन घट्दै जान थालेपछि अधिकांश चेपाङ समुदायको बसोबास रहेको महादेवस्थानका किसानहरु चिन्तित भएका छन् ।
केही वर्षदेखि सुन्तलाबाट घाटा वेहोर्दे आएका महादेवस्थानको माङ्टार, भान्टाकी, लगायतका क्षेत्रका किसानहरुले व्यवसायिक रुपमा खेती गर्दै आएको सुन्तलाको बोट नै मर्न थालेपछि थप चिन्तामा परेका छन् । मुख्य आम्दानिको श्रोत सुन्तला भएपनि जलवायु परिर्वतन संगै खेति गर्ने तरिका र रोग तथा उपचारको बारेमा सामान्य ज्ञान पनि नभएकोले राम्रो उत्पादन लिन नसकिएको स्थानिय शुब मगरले बताए । ‘पहिले पहिले एक वर्ष बढी एक वर्ष कम फल्थ्यो, हिजआज बोट नै मर्न थाल्यो’ महादेवस्थानका कृषक पूर्णबहादुर थापा मगरले गुनासो गरे । ‘१५/२० वर्षसम्म एउटै बोटमा फल्थ्यो, अहिले २ वर्ष नफल्दै बोट नै मरेको छ ।’ पहिले एउटैको बगैचा (डि)बाट ३ लाख सम्मको ठेक्कामा लैजान्थ्यो, अहिले १ लाख पनि दिन मान्दैन ।
२ वर्ष अघि १ लाखमा व्यापारीलाई ठेक्का दिएका पूर्णबहादुरको बगैचामा यस वर्ष ४ कुण्टल पनि सुन्तला नफलेको उनले निशासा सुनाए । केही वर्ष अघिदेखि नै सुन्तलामा देखा परेको रोग पत्ता लगाउन नसक्दा उत्पादन घट्दै गएको पूर्णबहादुरले अनुभव बताए । उनले भने– ‘किन उत्पादन घट्यो ? के कारणले बोट सुक्न थाल्यो ? त्यो कारण हामीले पत्ता लगाउन सकेका छैनौं । अहिलेसम्म कोही प्राविधिकहरु हाम्रो बारीमा आइपुगेका छैनन् ।
महादेवस्थान, धुषा र जोगिमारा गाविसका मानिसहरुको मुख्य आम्दानीको श्रोत भनेकै सुन्तला खेति हो । जलवायु परिर्वतन र प्राविधिक सहयोगको अभावका कारण केहि वर्ष यता सुन्तला उत्पादन क्रमश घट्न थालेको छ । सुन्तलाको बोटमा टुप्पो मर्ने रोगका कारण सुन्तलाको बोट विस्तारै सुक्दै जान थालेपछि सुन्तलाको उत्पादन समेत घट्दै गएको किसानहरुले बताएका छन् । धादिङमा करिव ६ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जोगिमाराको जवाङ, जयपुरी, भार्पाङ, धुषाको स्यादुल, महादेवस्थान, ज्यामरुङ र नलाङ गाविसका विभिन्न गाउँमा व्यवसायिक रुपमा सुन्तला खेती हुँदै आएको छ ।
धादिङमा उत्पादित सुन्ताला चितवन काठमाण्डौ र चितवन लगाएत पोखराका बजारहरुमा विक्रिका लागी ठेकेदारहरुले लैजाने गरेका छन् ।
२०७३ माघ ११ गते प्रकाशित