
कृष्णप्रसाद घिमिरे ‘मैदेली’ –
जुनसुकै भाषाको पनि आफ्नै व्याकरण हुन्छ । त्यही व्याकरणको मानकमा लेखिन्छ भाषा । भाषाको मूल आधारलाई खलबल्याउँदा त्यसले धेरै ठाउँमा प्रभाव पार्न पुग्दछ । त्यो भाषाले ओगटेको संस्कृति, इतिहास, साहित्यदेखि तन्त्र, मन्त्र र धर्मको मर्ममासमेत खलबल पार्न पुग्दछ । राष्ट्रको मूल भाषा र लिपिलाई आधार बनाएर मुलुक भित्रका अन्य भाषिकाहरू पनि बनेका हुन्छन् । मूल भाषा (नेपाली) लाई नै अन्य भाषाभाषीहरूले सम्पर्क भाषा बनाएका हुन्छन् । भाषाको मूल धमिलिन पुग्दा सबैतिर धमिलिन पुग्दछ । मगर, गुरुङ, तामाङ, राई, लिम्बू आदि सबै भाषामा प्रभाव पर्न पुगेको हुन्छ । प्रज्ञा प्रतिष्ठाननै मुकदर्शी बनेर भाषामा भाँडभैलो मच्चाउने पक्षकै वकालत गर्नु राम्रो लक्षण देखिएन । नेपाली भाषामा विचलन ल्याएर बिना मानकका शब्दकोश बनाएर पैसा कमाउनेले भाषामाथि खेलबाड गरेको देखिएपछि, सर्वसाधारणले थाहा पाएपछि नै हो भाषाका बारे बढी चर्चा हुन थालेको छ । स्वार्थ राखेर काम र दाम कमाउनेहरू पनि डराउन थालेका छन् ।
नेपाली भाषा देवनागरि लिपिमा लेखिने भाषा हो । यसको परम्परागत मान्यतालाई दल्ने, बदल्ने गर्दा भाषाको सनातनी बाटो त बिग्रन्छ नै त्यसबाट मुलुकभित्रै चलेका अन्य भाषाभाषी समेत प्रभानित हुन पुग्दछन् । पुगिरहेका छन् । भाषाजस्तो संवेदनशील विषयलाई केही व्यक्तिको लहडमा अन्य बाटोतिर तान्न धकेल्न पाइन्न । देशको मूल कानुन पनि यही (नेपाली) भाषामा लेखिएको हुनालेअनधिकार तरिकाले भाषामा विचलन ल्याउनु कानुन बिपरीत पनि हुन जान्छ । भाषा केही फेरबदल गर्दा अर्थको अनर्थ हुँदा चोरलाई चौतारो र साधुलाई शूली पनि हुन पुग्दछ । भाषा स्वतन्त्र छ र नै हामी स्वतन्त्र छौँ । भाषाको मानकलाई लिएर नै शब्दको अर्थ बुझिने हो । कानुनी व्याख्या पनि त्यसैअनुसार भैरहेको हुन्छ ।
हाल विशेष चर्चाको विषय बनेको छ नेपाली भाषाको वर्णविन्यास विवाद । भइरहेको सर्वमान्य मानकलाई तोडे, मोडे भनेर नै हो गतसालदेखि भाषा बचाउ अभियान राष्ट्रव्यापी भएर बढी चर्चामा आइरहेको ।
कुनै आधिकारिक व्यक्तिले आफूखुशी लहडमा केबाट प्रभावित भएर हो अंग्रेजी भाषा पढ्नेहरूलाई सजिलो परोस् भनेर भाषामा विचलन ल्याई परमपरागत कतिपय मानकलाई बदलिदिए । त्यसको चौतर्फी बिरोध हुँदाहुँदै पनि पाठ्यपुतकमा समेत राखेर त्यसको लाभांश लिनतिर लागे । यसको राम्ररी छानविन हुँदा अरबौँ घोटाला भएको तथ्याङ्कको आँकडा प्रचारमा आइसकेको छ ।
बारम्बार उठेको विवादलाई त ‘काग कराउँदै, पिना सुक्दै’ को स्थिति बनाएर त्यही खाले शब्दको श बनाएर बेचिरहनुलाई राम्रो लक्षण मानिन्न । भाषा लेखपढको व्याकरण बाझिँदा र विद्यार्थीका प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणमा गोलमाल पर्दाबल्ल सबै पक्ष र वर्ग सचेत भएका हुन् । त्यसो त यसको विरोध हामीले सुरु देखिनै गर्दै आएका हौँ । हाम्रो आवाजलाई प्रज्ञाप्रतिष्ठानले समेत टेरपुच्छर लगाएन । सबैतिरबाट विरोधका आवाज आइसक्दा पनि भाषा बिगार्नेले नै भाषा बचाउ अभियानलाई फुटाएर फटाएर टार्न खोजेको आभाष देखियो । अझै सुरक्षित अवतरण खोज्न नचाहनुले पनि शुभ शङ्केत नदेखाइ रहेको अवस्था छ ।
पाठ्यपुस्तक बदल्ने पक्षले कतिपय अक्षर छोड्दै, कुनै मात्रा तोड्दै, पदयोगलाई वियोग पार्दै, ठाउँठाउँमा अर्थको अनर्थ हुनेगरी सार्थक शब्दलाई निरर्थक र अनेकार्थक हुने भ्रम पारेर पाठ्यपुस्तकमा समेत राखिदिँदा परीक्षा, परीक्षक र परीक्षार्थीलाई समेत अन्योलमा पारिनुले नै हो त्यसको विरुद्धमाभाषा बचाउ अभियान सुरु भएको ।
धेरै लेखक, भाषाप्रेमी, भाषाविद्हरूका अभिव्यक्तिछन् ‘यसरी जानीजानी भाषा बिगार्नेलाई कार्बाही गर्नुपर्छ’ भन्ने। कुनै स्वार्थमा परेर यसरी भाषामाथि खेलबाड गर्नेहरूलाई त कानुनी कठघरामा उभ्याउनु पर्छ भन्ने आवाज पनि आइरहेको छ। भाषाको परम्परागत मानकलाई बिगार्दा, बदल्दा प्रत्यक्ष मारमा विगत केहीवर्षयता विद्यार्थी परिरहेका छन् । परीक्षकहरू अलमलिइरहेका छन् । कसैले मानकको आधारमा प्रश्नपत्र बनाएर परीक्षण गरेका छन् त कसैले भाषा बदलिएको मानकलाई आधार मानेर परीक्षक बनेका छन् । परीक्षकले जुन आधार मान्दा पनि परीक्षार्थी नै धारमा परिरहेका छन् । यो भाषामा मनगढन्ते पाराले परिमार्जन किन कसका स्वार्थले भयो? अहिले यतिबेला तमाम भाषाभाषीका चासो र चर्चाको विषय यही बनिरहेको छ ।
भाषालाई अपाङ्ग यसरी बनाइरहेका छन् :
.व्यञ्जन वर्णमालाका ३६ अक्षरमा क्ष, त्र, ज्ञ यी ३ अक्षर हटाई ३३मात्र गरेर,
पदयोगलाई अनर्थ हुनेगरी पदवियोग गरेर,
शब्दका सुरु र बीचका सबै इकार उकार ह्रस्व बनाएर,
श, ष, स, मा एउटै ‘स’ले काम चलाउँछु भनेर,
संस्कृतदेखि अन्य भाषाकातत्समर तद्भव शब्दलाई मनोमानी ढङ्गले न्वारन र प्रयोग गरेर,
आगन्तुक र झर्रा नेपालीका शब्दमा आएका श,ष, स जुनसुकै भए पनि पातलोस (स) लाई मात्र राख्छु भनेर,
व, ब का मानकलाई आफूखुशी ब मात्र प्रयोग गरेर,
यसरीभाषा भााडिदिँदा नै हो भाषामा भाँडभैलो भएको ।
भाषाविद्का अडान, भाषाप्रेमीका तर्क र समाजका सबै पक्षको आवाज सम्बन्धित पक्षले नसुनेर नै हो भाषा बचाउनका लागि हामीले खुलामञ्चमा गएर सत्याग्रह गर्नु परेको, एकेडेमीमा धर्ना दिनुपरेको त्यतिले नभएर अदालतसम्मपनि जानु परेको ।
उता ह्रस्व र दीर्घ इकार उकार जस्तै फूल र फुल, सीता र सिताजस्ता शब्दहरू ह्रस्वमात्र बनाएर भाषाको रूप कुरूप बनाइरहेका छन् । यसो गर्नाले भाषाको बाटो अन्योलमा परेको छ । अर्थको अनर्थ भएर भाषामा अन्योल र अराजकता भैरहेको छ । कुनै विद्वान्ले पनि भाषा अध्ययन, अनुसन्धान परीक्षण र प्रयोग गर्न सक्छ तर उसलेमात्र भाषा बदल्न सक्दैन । पाउँदैन । यसरी मनोमानी पाराले भाषाको मानकनै खलबल्याएर भाषा, भाषीलाई नै अलमल्याउनु अन्याय हो । अपराध हो ।
मानक बदल्नेको तर्क छ ‘भाषालाई प्रविधिमैत्री बनाएको’ यो तर्क सरासर गलत छ । सक्नेले त प्रविधिलाई पो भाषामैत्री बनाउनु पर्छ त ! कता भाषालाई प्रविधिमैत्री बनाएको !
आआफ्ना स्वतन्त्र अर्थ दिने मात्रालाई एउटै राखेर भाषामा भाडभैलो नै ल्याएकाले यस्ता गल्तीहरूलाई नशुध्याए नेपाली भाषाको अस्त्वित्वनै लोप हुने देखिएकोले अहिले नेपाली भाषा बचाउ आन्दोलन भैरहेको हो । बेढङ्गी वर्णविन्यासबाट छापिएका पाठ्यपुस्तकले पाठकवर्गलाई भ्रम र अन्योल पारिरहेको छ । विद्यार्थी मारमा परिरहेका छन् ।
भाषाको मानकले, व्याकरणले ठाउँ छोडेपछि अर्थमा ठूलो भ्रम पैदा गरिरहेको छ ।
जस्तै
पुरा पूरा, तिर तीर, जाति जाती, पारि पारी, दिन दीन , पट्टि पट्टी,खालि खाली, सिता सीता, चिर चीर, मिठो मीठो, फुल फूल, उन ऊन, तिन तीन, यी शब्दहरूका इकार उकार ह्रस्व हुँदा बेग्लै र दीर्घ हुँदा बेग्लै अर्थ हुन्छ । मनोमानी पाराले दीर्घमात्रालाई हटाएर ह्रस्वमात्रालाई मात्र मान्यता दिँदा भाषाको गति अवरुद्ध भइरहेको छ ।भाषा संकुचित भएको छ ।
त्यस्तै सब शव, दिशा दिसा, शोषण, जस्ता धेरै ठाउँमा अर्थलाई अनर्थ बनाउन खोजेजस्तो देखिएको छ । जनजिब्रोमा नटासिने, नपच्ने भाषा केका लागि परिवर्तन गरियो ? यसको छानवीन हुनु जरुरी छ । यसकारण मानक बदलेर भाषाको अपमान नगरौँ । यसले भाषामा भयानक भाँडभैलो ल्याउँछ । भाषामा पहुँच भएकाले, आधिकारिक पद पाएकाले नयाँनयाँ अनुसन्धान गरौँ । भाषालाई टेवा पुग्ने प्रविधिको विकास गरौँ तर यही माटोमा जरा फैलिरहेको,नेपाली जनजिब्रोले स्वाद पाइरहेको भाषारूपी कल्पवृक्षको जरा काटेर मलजल गरेँ नभनौँ । सके सपारौँ नसके नबिगारौँ ।अब त जिल्लाजिल्लाका विद्यार्थी भाइबहिनीहरूले पनि भाषा बिगारेको कुरामा सही आवाज उठाउने बेला आइसकेको छ । रत्नपार्कमा बसेर हामीले धेरैका अभिमत र हस्ताक्षर संङ्कलन गरिरहेका छौँ । सञ्चारमाध्यमबाट हामीले धेरै पटक भाषाका बारे बोलिसकेका छौँ ।
विगतदेखि आवाज उठाउँदै आएका भाषा वचाउ अभियानका अभियन्ताहरूलाई साथदिने समाज अब धेरै भैसके । अहिले भाषाको विवाद निकै तातिएको छ । यो साधारण तरिकाले साम्य हुनेस्थितिमा छैन । सरकारको तालुकी मन्त्रालयले चासो देखाई विगतमा गरेभएका त्रुटिलाई सच्याएर कसैले गरेका मनगढन्ते मानकलाई नबदले भाषा अन्योलमा पुग्छ । भाषाभाषी, भाषाप्रेमी झनै आन्दोलित हुनछन् । यसबाट एकातिर भाषिक अराजकता हुने, देशको मूल कानूनको भाषामा अर्थको अनर्थ हुनपुग्नेजस्ता धेरै कुरामा यसले असर पार्न सक्ने देखिन्छ । यसरी सीमित व्यक्तिले सीमित स्वार्थमा वर्णविन्यासलाई खलबल्याउँदा र भाषाको मानक मार्गलाई अलमल्याउँदा मुलुकभर भाषाको बहश चलिरहेको छ । यो आन्दोलन सेलाउने अवस्थामा छैन ।
पूर्व शिक्षामन्त्रीले आफूले राम्ररी नबुझेर त्यतिबेला भाषाका विषयमा गरेको हस्ताक्षरगल्ती रहेछ त्यसलाई संशोधन गर्नुपर्छ, सच्याउनु पर्छ भनिसकेपछि वर्तमान शिक्षामन्त्रीलाई पहिलेको गल्ती सुधार्न बाटो खुलेको देखिन्छ । आम जनताको चाहना पनि भाषाको मानक बदलेर अन्योलमा नपार भन्ने नै छ। विद्यार्थी अभिभावक, शिक्षक, लेखक, साहित्यकार, पत्रकार भाषाभाषीका माग पनि यही हो । खुल्लामञ्चमा सत्याग्रह बसेको, हस्ताक्षर अभियान चलाइएको, प्रज्ञाप्रतिष्ठानको ढोकामा पुगेर शङ्खको आवाजले संवन्धितलाई सचेत गराएको, सबै संचारमाध्यमले चासो लिएर प्रचार र प्रसार गरेको, लेखक, विद्वान्, भाषासेवीहरूले लेखेको बोलेको पनि भाषाको मानक नबिगारियोस् भनेरै हो ।
नबुझुञ्जेल प्रचारप्रसारमा नआउञ्जेल, पत्रपत्रिकाले प्रचार नगरुञ्जेल जेजति गल्ती भए भए, त्यो गल्तीलाई छानविनको घेरामा राखेर तत्काल यो समस्याको समाधान सरकाले कानुनसम्मत तरिकाले समाधान गर्नैपर्ने देखिन्छ । नगर्दा र ढिलो गर्दा यसमा अन्य गुनासा थपिएर परिस्थिातिले अर्कै मोड बदल्न पो पुग्छ कि भन्ने आशङ्का पनि देखिन थालेको छ । यसबाट फाइदा लिनेहरूले उल्टै भित्रभित्रै दबाबको सिर्जना गरेको पनि देखिन्छ ।एउटा रोग लागिसकेपछि त्यसको रोकथाम भएन भने त्यसबाट अन्य संक्रमण पनि नपर्ला भन्न सकिन्न । सम्बन्धित पक्षले यसमा चनाखो हुनैपर्ने हुन्छ ।
हुन त भाषा परिवर्तनशील हुन्छ तर भाषाको रूपमै परिवर्तनका नियम बनाएर मोड्ने, जोड्नेरतोड्ने अधिकार कसैलाई पनि छैन । वर्णमाला, व्याकरण कुनै व्यक्तिको इच्छाले बदल्न सक्ने कुरो होइन । यसमा धृष्टता नगरे हुन्छ । वर्णमाला भाषाको मेरुदण्ड हो । स्वर र व्यञ्जनका ५२ अक्षरमा कुनै अक्षर घटाउँदा र मानक बनेर रहेका मात्रामा परिवर्तन गर्दा मेरुदण्ड भाचिन्छ । भाषा अस्वस्थ हुन्छ । यसबाट साहित्य कला धर्म संस्कृति न्याय नैतिकता सबै रुग्ण हुन पुग्छन् ।
कसैले राज्य कोशकै ढुकुटी खर्च गरेर पाठ्यपुस्तक छपाएर त्यसको लाभांश खाएर भाषामा अतिक्रमण गर्न खोजेको हो भने यो अन्याय हो । यो दण्डनीय कार्य हो । सरकार यसमा चनाखो हुनैपर्छ । यसमा अदालतको पनि ध्यानाकर्षण हुनेनै छ ।मुलुकभरको पाठ्यपुस्तकनै भाषाको मेरुडण्ड खल्बल्याएर बनाउनु उचित देखिन्न । यो त कुन्नि कुन स्वार्थले हो देवनागरि लिपिका नेपाली भाषाका अक्षरलाई रोमनीकरण गर्न खोजेको आभाष सबैलाई परिरहेको छ । हाम्रो शान मान र स्वाभिमान हाम्रै भाषाले बँचाएको छ । बढाएको छ ।
हेर्नोस् त ?गल्तीगरेकै रहेछन् को प्रमाण !
यत्रा वर्षपछि, यत्रो आन्दोलन भैसके पछि यही २०७३ मंसिर २ गते प्रज्ञाप्रतिष्ठानले यो अभियानदेखि डराएर एउटा निर्णय यसरी ग¥यो :
१. अब संयुक्त व्यञ्जननै लेख्ने २. लक्ष्मी प्रसाद नगरेर लक्ष्मीप्रसादनै (दपयोग गरेरै)लेख्ने ३. विभक्तिचिन्ह, नामयोगी पूर्ववत् लेख्ने, ४.अन्तिम ईकार ऊकार दीर्घ नै लेख्ने ५. श,ष, स सबै राख्ने ६. मानक वर्णविन्यासका लागि विमर्श अभियान चलाउने भनेर अड्कलेर मात्र गल्ती सुधारेको र स्वीकारेको देखिन्छ । यसमा कुन मानकलाई आधार बनाएको हो प्रष्ट छैन ।
यो त करोडौँ चोरिसकेपछि लाख मात्र चोरेको हुँ भनेर इमान्दार चोरले साबित बयान दिएजस्तो भएन र ? गर्नेनै हो भने एकेडेमीले हालसम्म भएगरेका सबै गल्ती सच्याएर पूर्ववत् गर्नै पर्छ । घटाएर स्वीकारेको ?केको २०४० मा निकालेको नेपाली वृहत् शबदकोशलाई आधार मान्यौँ मात्र भनेको होला ! जगको पिलरले पो घर अड्याएको हुन्छ त बार्दलीको पिलरको मात्र महत्व किन दिनु परेको ?
भाषाविकास क्रमलाई लिनेनै हो भने हजारौवर्षदेखि चली आएको नेपाली भाषा, पन्द्रौँ शताब्दीका वीरेन्द्रकेशरी अर्यालदेखि साहित्य सिर्जना हुँदै आएको नेपाली भाषा साहित्य बीसौँ शताब्दीमा आइपुग्दा सोमनाथ सिग्देलको मध्यचन्द्रिका त्यहीक्रमको मानकको आधार मानिन्छ । त्यसैलाई पछ्याएर मानकको मामलामा जयपृथ्वीबहादुर सिंह, महानन्द सापकोटा, गोपाल पाँडेजस्ताले बनाउँदै र बढाउँदै आएको भाषाको गोरेटोलाई आधार मानेर हामीले भाषाको राजमार्ग बनाउनु पर्दछ । बाटो बदल्दा त पथभ्रष्ट भइन्छ ।
यसरी कुनै व्यक्तिविशेषका स्वार्थ र मनोमानी विचारले नेपाली वर्णविन्यासलाई भाँड्ने, भत्काउने र विच्क्याउने विचार कसैले पनि गर्नु हुन्न । हाम्रो नेपाली भाषा वचाऔँ अभियानको उद्देश्य पनि यत्तिमात्र हो । ‘म मोरे आगोले खाला, भाषा म।ेरे नेपाली कहाँ जाला’ कुनै साहित्यकारको यो भनाइको मर्म पनि यही हो ।
यसरी अनधिकार तरिकाले भाँड्न खोजिएको भाषालाई हामी सबै मिलेर उही ठेगानमा ल्याउन सकौँ । भाषा बचाऔँ अभियान २०७२ लाई सार्थक पारौँ र जिउँदो नेपालीको पहिचान दिनसकौँ ।
२०७३ माघ ५ गते प्रकाशित