
शंकर श्रेष्ठ / १० पुस, धादिङ –
आफ्नै घरमा मिल लगेर धान कुट्न पाउँदा धादिङ सत्यदेवीका बुधराम तामाङ मख्ख छन् । उनी भन्छन्, ‘एक बोरा धान कुट्न दुई घण्टा धाएर अर्कै वडामा पुग्नु पथ्र्याे, अहिले घरमै मिल ल्याएर धान कुट्ने गरेको छु ।’
धान र मकै कुटानीपिसानी गर्न मिल्ने कम्बाइन मिल पाएपछि बुधराम मात्रै होइन सत्यदेवी गाविस वडा नं. ७ का स्थानीयहरु अहिले निकै खुसी भएका छन् । गाउँमा कम्माइन मिल चलाउन थालेपछि एक बोरा धान कुट्न दुई घण्टा धाउनु पर्ने बाध्यता त हटेको छ नै आफुले चाहेको बेला धानमकै कुटानी पिसानी गर्न पाउदा यहाँका स्थानीयहरु खुसी भएका हुन् ।
सत्यदेवीका विभिन्न बस्तीहरुलाई लक्षित गरी एक्सन नेपाल र अक्सफामका साझेदारीमा स्थानीयहरुलाई धानमकै पिस्न मिल्ने कम्माइन मिल निःशुल्क उपलब्ध गराइएको हो । वडा नं. ७ को विभिन्न गाउँमा गरी ४ वडा मिल उपलब्ध गराएको थियो ।
मिल उपलब्ध गराइएका गाउँ अहिले सत्यदेवीकै नमूना गाउँ बनेको छ । गाउँमा मिल नहुँदा एक बोरा धान कुट्न दुई घण्टा लगाएर वडा नं. ५ को सिमलगैरी भन्ने ठाउँमा पुग्नु पथ्र्याे । अहिले पालैपालो आ–आफ्नै घरमा मिल लगेर चाहेजति धान–मकै कुट्नेपिस्ने गरेको लालबहादुर तामाङले बताए । आफैले मिल चलाएर धान पिसौला भन्ने कल्पना समेत नगरेको भएपनि अहिले घरघरमै धान कुट्ने र मकै पिस्ने मिल चलाउन पाउँदा सत्यदेवीका किसान दंग छन् ।
अहिले गाउँमा छुट्टाछुट्टै चार वटा समूह बनाएर चार वटा मिल चलाइरहेका छन् । समूहका व्यक्तिहरुले पालैपालो पिस्ने मिल प्रयोग गर्ने गरेको र प्रयोग गरेबापत केही रकम उठाउएर समूहमा जम्मा गरी मिल विग्रिएको बेला खर्च गर्ने योजना बनाएको लालबहादुरले बताए ।
अक्स्फामले सत्यदेवी र त्रिपुरेश्वरका किसानहरुको स्तरउन्नतिका लागि खेतबारी जोत्न प्रयोग गरिने ट्याक्टर, मोल बोक्नका लागि ठेलागाडा र अलैची सुकाउने सोलार ड्रायर निःशुल्क उपलब्ध गराएको छ । ग्रामिण क्षेत्रका किसानहरुको जिविकोपार्जनमा सुधार गर्ने लक्ष्य अनूरुप मिल, हाते ट्याक्टर र अरु कृषि औजारहरु निशुल्क वितरण गरेपछि किसानहरु हर्षित भएका हुन ।
ट्याक्टर पाएपछि खेतीपाती गर्ने समय गोरु नपाउने समस्या हटेको त्रिपुरेश्वर–६ कि सावित्री बन्जाराले खुसी सुनाइन् । ‘अधिकाँश पुरुषहरु विदेशिने क्रम बढेपछि गाउँमा न काम गर्ने खेताला पाइन्नथ्यो, न त जोत्नकै लागि गोरु । आफ्नै गाउँमा खेत जोत्ने बीस वटा ट्याक्टर पाएपछि भने यहाँका किसानले केही राहत महशुस गरेका छन् ।
आफ्नो समुहमा प्राप्त भएका उपकरणहरु समुहका सदस्यहरुले पालैपालो प्रयोग गर्न पाउने नियम पनि बनाइएको छ । प्रत्येक समुहका २/२ जना सदस्यहरुलाइ उपकरणहरु चलाउनको लागि तालिम दिइएको एक्सन नेपालका गणेश ढुंगानाले बताए ।
परम्परागत खेती प्रणालीलाई हटाउँदै किसानहरुलाई व्यवसायिक बनाउने र कृषि क्षेत्रमा प्रविधिको प्रयोग गरि कृषि पेशालाइ सरल र सहज बनाउनको लागि कृषि उपकरणहरु वितरण गरिएको एक्सन नेपाल धादिङका कार्यक्रम संयोजक श्यामकृष्ण बजगाँइले बताए ।
गाउँमा गोरु अभावले आँफैले खानको लागि खेती गर्न समेत अप्ठारो भइरहेका बेला आफनै भौगोलिक अवस्था सुहाउदो कृषि उपकरणहरु पाएपछि किसानहरु खुसी भएका छन् ।
२०७३ पुस १० गते प्रकाशित