नेपालको मौसम अनुसार हेमन्त ऋतु सुरु भइसकेको छ । सूर्य उत्तरी ध्रुवबाट टाढिँदै जाने यो समयमा उत्तरी ध्रुवमा दिनको आधा समय उज्यालो र आधा समय अँध्यारो हुने बेला भयो । यस समयमा अधिकांश समय हिमपात अनि दिन छोटा हुने भएकाले उत्तरी ध्रुवको जनजीवन निकै शान्त र चराचर शून्यप्रायः हुनेगरेको छ ।
यतिबेला उत्तरी ध्रुवमा बस्ने मानिस पनि न्यानो ठाउँ खोज्दै अन्यत्र सर्ने गर्छन् भने वन्यजन्तु, पक्षीसमेत सुरक्षित बासस्थानतर्फ लाग्ने गर्छन् । ती क्षेत्रमा पक्षी (जसलाई साइबेरियन चरा भन्ने गरिन्छ) दक्षिण एसियाली मुलुकहरूमा आउने गर्छन् । रुस, युरोप, मङ्गोलिया तथा चीनको उत्तरी क्षेत्रका पक्षी हप्तौँदिन उडेर नेपाल, भारत, श्रीलङ्का, पाकिस्तान अदि देशका वन–जङ्गल, सीमसार क्षेत्र र घाँसे मैदानमा सुरक्षित बास खोज्ने गर्छन् । यस्ता चरालाई पाहुना चरारआगन्तुक चरा पनि भन्ने गरिन्छ ।
हरेक वर्षको मनसुन सकिँदा नसकिँदै उत्तरी ध्रुवका चराले नेपाली भूमिलाई गन्तव्य बनाएर उडान गर्छन् । पक्षीविद् डा। हेमसागर बरालका अनुसार, हरेक वर्ष हिउँदमा १५० प्रजातिका पक्षी नेपाली आकाशमा विचरण गर्ने गर्छन् ।
गत वर्षसम्मको अध्ययनलाई आधार मान्ने हो भने हिउँदमा कम्तीमा ३० हजार पाहुना चराले नेपाली आकाशमा प्वाँख उमार्छन् र नेपाली धर्तीको चारा चर्ने गर्छन् । यस पटक मनसुनको समय झण्डै दुई हप्ता लम्बिएकाले साइबेरियन चराले उत्तरी ध्रुवबाट उडान भर्न सकेनन् ।
पक्षीविद्का भनाइका मौसमको खराबीले यस पटक नेपालकै भूमिमा बच्चा कोरल्न भनेर छिट्टै उडान भर्ने केही प्रजातिका चराले मङ्गोलिया र चिनिया भूमिमा ‘फोर्स ल्यान्डिङ’ गरेर केही समय त्यतैतिर बिताउनुपर्दा यस पटक नेपाली भूमिमा बच्चा कोरल्ने अवसर पाएनन् । उत्तरी ध्रुवबाट एउटै उडान गरेर सीधै नेपाली भूमिमा आउने चराको सङ्ख्या यस पटक कम भएको छ ।
लगातार तीनरचार दिन–रातको उडानको योजना बनाएका केही प्रजातिका चरा नेपाललगायतका दक्षिण एसियाली देशबाट मनसुन नहटेकाले दक्षिण–पूर्वी एसियाली भूमिमा उड्न बाध्य भएको पक्षीविद्को भनाइ छ । गोरखापत्र दैनिकबाट
२०७३ पुस ४ गते प्रकाशित