Wed. Mar 12th, 2025

धादिङमा २५ प्रतिशत गर्भवती २० वर्ष मुनिका

aama
शंकर श्रेष्ठ / ११ मंसिर, धादिङ – 
धादिङमा उमेर नपुग्दै बच्चा जन्माउने आमाहरुको संख्या वर्सेनी बढ्दै गएको तथ्याङ्कले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/ ७३ मा २० वर्ष भन्दा कम उमेरका १५ सय ४३ जना महिलाले विभिन्न स्वास्थ्यचौकीहरुमा गर्भ जाँच गराइरहेका छन् ।

जिल्लाभर ६ हजार ३९ जनाले हाल गर्भ जाँच गराइरहेका छन् । त्यस मध्य ४४ सय ९६ जना भने २० वर्ष भन्दा बढि उमेरका रहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य निरिक्षक विष्णु रिजालले जानकारी दिए । उनले भने, ‘गर्भवती जाँच गराइरहेका कुल गर्भवती मध्ये २५ प्रतिशत २० वर्ष उमेर नपुगेका महिला छन् ।’

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पूर्व सन्ध्यामा शुक्रबार सहयात्री समाज नेपाल र महिला मानवअधिकार रक्षकको जिल्ला सञ्जालले ३३ गाविसबाट उपलब्ध तथ्याङ बिहीबार सार्वजनिक गरेको छ । ३३ गाविसको स्वास्थ्य चौकीमा परीक्षणका लागि आएका २० वर्षमुनिका गर्भवतीको संख्या ६ सय ६० र भरखरै सुत्केरी भएकाको संख्या ४ सय २८ रहेको छ ।

जिल्लामा बाल विवाहको समस्या नरहेको सरकारी निकायले दाबी गरे पनि यो तथ्याङ्क अनुसार उमेर नपुगी विवाह गर्नेको संख्या धेरै रहेको देखाएको छ । उमेर नपुगी विवाह गर्ने र बच्चा जन्माउनेको संख्या दक्षिणी धादिङको धुषा, जोगिमारा, बेनिघाट, महादेवस्थान, पीडा र थाक्रे गाविसमा बढि छ । यी गाविसहरुमा धेरैजसो जनजाती र चेपाङ र दलित समुदायको बसोबास छ ।

गत एक वर्षमा धुषा गाविसमा मात्रै १ सय ६० जना किशोरी २० वर्ष नपुग्दै आमा बन्नेका छन् भने २५ जनाले गर्भवती रहेको तथ्याङ्कमा छ ।

 सरकार र संरसरकारी संघसस्थाहरुले बाल विवाह रोक्न र सानै उमेरमा बच्चा जन्माउन नहुने चेतनामुलक कार्यक्रमहरु गरिरहँदा अधिकांश चेपाङ र दलित समुदायमा कार्यक्रमहरुको असर नदेखिएको सरोकारवालाहरुले बताएका छन् ।

२०७३ मंसिर ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: