सरिता श्रेष्ठ / ४ मंसिर, धादिङ –
हाम्रो स्कुलमा नाम मात्रको शौचालय छ, शौचालय न त सफा नै छ न पानी नै छ, त्यहाँ रहेको ढोकामा न त चुकुल छ त न त ढोका समेत छैन । सदरमुकाम धादिङबेसीमा रहेको निलकण्ठ उच्च माध्यमिक विद्यालयका एक विद्यार्थीको गुनासो हो यो । यस विद्यायलमा छात्र र छात्राका लागि भनेर छुट्टा छुट्टै शौचालय छ तर त्यो नाम मात्रको छ । शौचालयका ढोकाहरु प्वालैप्वाल परेको छ भने भित्र फोहोरैफोहोर ।
यस्तो पीडा सदरमुकाम धादिङबेसीको त उदारहण मात्र हो । ग्रामीण क्षेत्रमा रहेका विद्यालयको अवस्था अझै नाजुक छ । ग्रामीण क्षेत्रका कतिपय विद्यलयहरुमा त शौचालय नै छैन भने कतिपयमा छात्र, छात्रासबैले प्रयाृग गर्ने एउटै छ ।
शिक्षा विभागले जिल्ला शिक्षा कार्यालय मार्फत हरेक विद्यालयमा छात्रामैत्री शौचालय निर्माणको सुरुवात गरेको पनि ७ वर्ष भइसक्यो तर सदरमुकामकै विद्यालयमा यस्तो दुर्गती छ भने ग्रामीण क्षेत्रमा अधययन गर्ने विद्यालयको हालत के होला । २०६७ सालदेखि विभागले छात्रामैत्री शौचालयको अभियान ७५ वटै जिल्लामा चलाएको थियो । विद्यार्थीको शिक्षा मात्र नभई स्वास्थ्यका क्षेत्रमा जोडिएका कुनै पनि विषयबस्तुको सहि व्यवस्थापनमा जोड दिनु आवश्यक छ ।
रजस्वलाको समयमा स्कुल जाऊँ भने स्कुलको शौचालयमा पानी हुन्न। प्याड फाल्ने डस्टबिन छैन। यस्तो अवस्थामा स्कुल जाँदा छात्राहरुको बेइज्जत हुन्छ, विद्यार्थीहरुको गुनासो यस्तै आउने गर्दछ ।
छात्राको पढाइमा नियमितता होस् भन्ने उद्देश्यले शिक्षा विभागले हरेक विद्यालयमा छात्रामैत्री शौचालय बनाउन बर्षेनि करोडौं खर्चिरहेको छ । उक्त रकम तलब लगायत विभिन्न क्षेत्रमा खर्च गरिने परिपाटीले गर्दा धादिङमा अझै शत्प्रतिशत विद्यालयमा छात्रामैत्री शौचालय निर्माण हुन नसकेको हो । यसले गर्दा अधिकांश विद्यालयका छात्रा महिनाबारी हुँदा विद्यालय जानबाट वञ्चित हुने समस्या कायमै रहेको छ ।
पछिल्लो समय छात्राहरुका समस्यालाई केही समाधानका लागि विद्यालयमै सेनेटरी प्याडको व्यवस्था गर्ने विभिन्न खालका कार्यक्रम लागु भएपनि शौचालयको अभावले उक्त प्याड नै बदल्ने अवस्था नहुने छात्राहरु बताउँछन् ।
धादिङमा हाल ५ सय ७७ सामुदायिक विद्यालय छन् । यी विद्यालय मध्ये अहिले ५० देखि १०० वटा विद्यालयमा मात्र छात्र, छात्रा, अपांगमैत्री शौचालयको निर्माण कार्य सुरु गरिएको छ ।
२०७३ मंसिर ४ गते प्रकाशित