१ मंसिर, धादिङ –
धादिङको नलाङ गाउँ विकास समितिमा स्थापना गरिएको हिमालयन अनटप कफि स्टेटले उत्कृष्ठ कफी स्टेटको पुरस्कार पाएको छ ।
नेपाल सरकार कृषि विकास मन्त्रालय अन्तरगतको कफि विकास बोर्डले हिमालयन अनटप कफि स्टेटलाई राष्ट्रिय स्तरमा उत्कृष्ठ कफि स्टेटको पुरस्कार प्रदान गरेको हो ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोर्डले कफि स्टेट प्रा.लि.का प्रोपाइटर दिननाथ रेग्मी भरतलाई १० हजार नगद पुरस्कार सहित सम्मान गरेको थियो । कृषि विकास मन्त्री गौरीशंकर चौधरीले प्रमाणपत्र सहित पुरस्कार प्रदान गरेका थिए ।
पुरस्कार पाएपछि खुशी व्यक्त गर्दै रेग्मीले नलाङ र आसपासका क्षेत्र कफि खेतिका लागि उपयुक्त भएकोले त्यस क्षेत्रमा कफिखेती विस्तार गर्न सहयोग गर्ने धारणा राखे । कफिखेति गरी आयआर्जनमा वृद्धि गर्न सकिने भएकोले यसतर्फ लाग्न किसानहरुसंग आग्रह पनि गरेका छन् ।
रेग्मीले ५ वर्षअघिदेखि हिमालयन अनटप कफि स्टेटको नाममा नलाङमा कफिखेती गर्दै आएका छन् । रेग्मीको कफि फार्ममा अहिले करिव ६० हजार कफिका विरुवा लगाइएका छन् भने २ वर्षदेखि कफिबाट आम्दानी समेत लिन थालेका छन् ।
२०७३ मंसिर १ गते प्रकाशित