Tue. Mar 4th, 2025

भूकम्पको क्षति र सीमसार क्षेत्र संरक्षण

hemnath-khatiwada

हेमनाथ खतिवडा –

‘‘भविष्यका लागि सीमसार, दीगो जीविकोपार्जनको आधार’’ भन्ने मूल नाराका साथ देशभर सीमसार क्षेत्रको संरक्षण र यसको महत्वका विषयमा सचेतना फैलाउन विश्व सीमसार दिवस मनाइन्छ ।

नेपालको हिमाल, पहाड, तराईसम्म विभिन्न सीमसार क्षेत्र छन् । जल क्षेत्र दलदल सेपिलो जमिन नै सीमसार क्षेत्र हुन् । सीमसार भन्नाले भूमिगत जलस्रोत वा वर्षाका कारण पानीको परिमाण रहने वा प्राकृतिक वा मानव निर्मित, अस्थायी वा स्थायी, जमेको वा बगेको, स्वच्छ अथवा नुनिलो पानी भएको धापिलो वा दलदले जमिन, नदीबाट प्रभावित भूमि, ताल, पोखरी, जलाशय र कृषि भूमिसमेत बुझिन्छ । तराईका समथर मैदानदेखि चूरे, महाभारत पर्वतहुँदै उच्च हिमाली क्षेत्रसम्म फैलिएका र विविधतापूर्ण परिस्थिकीय प्रणालीभित्र रहेका अनगिन्ती सीमसारहरूले नेपालको कूल क्षेत्रफलको लगभग ५ प्रतिशत भाग ओगटेका छन् ।

विश्वभरका १ सय ६९ देशका करिव २ हजार २ सय ४१  सीमसार क्षेत्रहरू रामसार सूचिमा सुचिकृत गरिएकोमा नेपालका १० वटा यस्ता क्षेत्रहरू रामसार सूचिमा सुचिकृत भएका छन् । विश्व संरक्षण अनुगमन केन्द्रका अनुसार पृथ्वीका ५७ लाख वर्ग किमी क्षेत्रमा सीमसार रहेको छ । जुन पृथ्वीको कूल क्षेत्रको ६ प्रतिशत क्षेत्र छ । राष्ट्रिय सीमसार नीति, २०६९ का अनुसार नेपालको करिव ७ लाख ५० हजार हेक्टर (करिव पाँच प्रतिसत ) भू–भाग सीमसार क्षेत्रलेले ओगटेको छ ।

हिमालदेखि तराईसम्म कूल २ सय ४२ वटा सीमसार क्षेत्र नेपालमा रहेको छ । विभिन्न अध्ययनले सीमसार क्षेत्रलाई पाँच तहमा वर्गिकरण गरेको छ । उच्च हिमाली क्षेत्रका रारा, तिलिचो, र से फोक्सोण्डो, मध्य पहाडी क्षेत्रमा रहेका फेवा, बेगनास, माइपोखरी, तराई क्षेत्रमा रहेको कोशी टप्पु मानव निर्मित पोखरी, पानी भएका सीम खेत क्षेत्र त्यस्तै कृतिम ढङ्गले निर्मित जल भण्डार सबै सीमसारका विविध क्षेत्र हुन् । सन् १९७१ फेबु्रअरी २ मा ईरानमा भएको रामसार सन्धी भएको छलफलपछिको निर्णयले सीमसारको संरक्षण प्रचार–प्रसार र आवश्य नयाँ नियमहरू पारित गरेको थियो । त्यसपछि समूदायको आम चासो र उत्तरदायित्व बढेको छ ।

सीमसार क्षेत्रमा वन्य जन्तु, चराचुरुङ्गी कीरा फट्याङ्ग्रा तथा जलप्राणीहरूको बासस्थान रहेको जलक्षेत्र, दलदल र सेपिलो जमिन नै सीमसार क्षेत्र हो । रामसार सन्धीको मापदण्ड पूरा गर्ने सीमसार क्षेत्र मात्र रामसार क्षेत्रमा पर्दछ । वातावरणीय सन्तुलन कायम राख्न र अति दुर्लभ एवम् महत्वपूर्ण जलचर तथा थलचर प्राणीहरूको बासस्थान सुरक्षाको दष्ट्रिकोणले सीमसार क्षेत्र अत्यन्तै सम्वेदनशील मानिन्छ ।

जैविक विविधता र जीवनपयोगी स्रोतको धनि मानिने यी सीमसार विभिन्न प्रजातिका वनस्पति, जीवजन्तु र फिरन्ते पंक्षीहरूका लागि उत्तम आश्रयस्थलकारूपमा रहेका छन् । पानीको सतही र भूमिगत स्रोतको संरक्षण गर्न, पहिरो रोकथाम गर्न र माटोको पोषक तत्वको चुहावट रोक्न सीमसारले निकै महत्वपूर्ण भूमिका खेल्दछ । यसले कृषि उत्पादनमा पनि सकरात्मक प्रभाव पारेको हुन्छ भने परम्परा, धर्म र वास्तवमा सबै सीमसार क्षेत्रहरू आ–आफ्नै तवरले महत्वपूर्ण हुन्छन् तर संसारका धेरै सीमसारहरू मध्ये पनि अनुपम र सबैभन्दा महत्वका सीमसारहरूलाई रामसार क्षेत्रको रूपमा घोषणा गरिन्छ ।

रामसार भनेको ईरानको एक सहरको नाम हो जहा“ सन् १९७१ मा सीमसारमा आश्रय लिने फिरन्ते प्रजातिका जलपंक्षीको बासस्थान सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धिको प्रथम बैठक सम्पन्न भएको थियो । सुरुमा यो महासन्धिले फिरन्ते जलपंक्षीहरूको चल्ला कोरल्न, विचरण गर्न र बसाईं सर्ने क्रममा बाटोमा आराम गर्न उपयोगमा ल्याउने सबै स्थानको संरक्षण गर्नुपर्ने भनेता पनि अहिले आएर यसले सबै सीमसार क्षेत्रहरूको संरक्षण र बुद्घिमत्तापूर्वक उपयोग गर्नुपर्ने र अन्तर्राष्ट्रिय महत्वका सीमसार क्षेत्रहरूको पहिचान, घोषणा र समुचित व्यवस्थापन गर्नुपर्ने कुरालाई जोड् दिएको छ । यो महासन्धि रामसार महासन्धिको नामले पनि प्रचलित छ ।

रामसार क्षेत्रको रूपमा सूचिकृत भएका सीमसार क्षेत्रहरूमा संसारकै अनुपम प्रजातिका जीव र वनस्पति हुने भएकाले यी क्षेत्रहरूलाई विशेष संरक्षण प्रदान गर्नु अपरिहार्य हुन्छ । रामसार महासन्धिमा पनि यि सीमसारहरूलाई स्थानीय बासिन्दाको जीविकोपार्जन उकास्न बुद्घिमत्तापूर्ण उपयोग गर्नुपर्ने उल्लेख गरिएको छ । वास्तवमा बुद्घिमत्तापूर्ण उपयोग भन्नु नै वर्तमान अवस्थामा सीमसार स्रोतहरूको विवेकपूर्ण र दीगोरूपमा उपभोग गर्दै भावी पुस्तालाई पनि निरन्तररूपमा यी स्रोतहरू उपलब्ध गराउनु हो ।

नेपालको राष्ट्रिय सीमसार नीतिले रामसार महासन्धिको भावना अनुरूप बुद्घिमत्तापूर्ण उपयोगको अवधारणालाई सार्थक तुल्याउन स्थानीय समुदायलाई प्रत्यक्षरूपमा सहभागी गराउनुपर्ने कुरामा जोड् दिएको छ । सीमसार क्षेत्र वरिपरि बसोबास गर्ने विभिन्न जाति जनजातिहरूको अनुभव, अभ्यास, सीप र ज्ञानको संरक्षण गर्दै सो ज्ञान र सीपको आधारमा सीमसार र यसमा आश्रित सङ्कटापन्न जीवजन्तु, जलचर तथा अन्य जल आश्रित आनुवंशिक स्रोतको संरक्षण गर्नुपर्ने तथ्यलाई राष्ट्रिय सीमसार नीतिले आत्मसात गरेको छ । यस अर्थमा रामसार क्षेत्रको रूपमा घोषणा भएका यी सीमसारहरूको दीगो व्यवस्थापन र स्थानीय बासिन्दाहरूको जीविकोपार्जनका लागि सम्बन्धित सरोकारवालाहरूको भूमिका अहंम् रहेको हुन्छ । अझ् विनाशकारी भूकम्पपछि यसको महत्व बढेको छ । पानीका स्रोतहरू सुक्दै जानुले सीमसार क्षेत्रहरू गुम्ने खतरा बढेको छ । मानव जीवनसँग यसको सम्बन्ध निकै प्रगाढ रहेको छ ।

भू–गर्भमा परेको धक्काले तथा मानिसको उपयोगमुखी सोचले पनि वातावरण प्रतिकुल भएको छ । भूकम्पपछि बढेको प्रदुषणले अझै हाम्रो वातावरण प्रदुषित भइरहेको छ । पहाडी तथा हिमाली हिमपात नहुने हिमपहिरो आउने यस क्षेत्रका ताल, कुण्ड र सीमसार क्षेत्रमा पानीको मात्रा घट्ने क्रम छ । रसुवाको गाउँ गाउँमा पिउने पानीका मुहान सुक्नु हिमाली क्षेत्रमा रहेको दुधकुण्ड र जोगेश्वरकुण्ड रिभरकुण्डमा पानीको सतह घट्नुले मानव जीवनमा मात्र नभई वन्य जन्तु वनस्पत्ती र सिङ्गो वातावरणमा नकरात्मक असर परिरहेको छ ।

नेपालको सन्दर्भमा रामसार क्षेत्रहरूमा राष्ट्रिय, अन्तरर्राष्ट्रिय, सरकारी र गैरसरकारी संस्था र दातृ सङ्गठनहरूबाट विशेष कार्यक्रमहरू पहल भएको छ । तसर्थ रामसार घोषणा भएका सीमसार क्षेत्रहरूमा यस्ता कार्ययोजनाहरूले स्थानीय बासिन्दा र जनजातिहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ । सीमसार क्षेत्रमा पाइने स्रोतहरू जस्तै माछालगायतल जलचर, जडीबुटी, सागपात इत्यादि स्थानीय आदिबासी जनजातीहरूको निम्ति परम्परागतरूपले जीवन निर्वाहको आधार रही आएका छन् ।

यसबाहेक विभिन्न धार्मिक–सांस्कृतिक चाडपर्वहरू पनि सीमसारमा मनाइने गरिन्छ । सीमसार वरिपरि बसोबास गर्ने समूदाय बाहेक पूरै जलाधार वरिपरिका वासिन्दा सीमसारका स्रोतहरूमा निर्भर हुन्छन् । तसर्थ स्थानीय जनसमुदाय र सरकारी निकायहरूले साझेदारी कायम गरी सीमसार संरक्षण र व्यवस्थापनमा अघि बढ्नु नितान्त आवश्यक छ । सरकारी र गैरसरकारी संस्थाहरूको संरक्षण योजना सरोकारवालाहरूको चाहना र समन्वय नभई पूर्ति हुन सक्दैन, त्यसकारण सीमसारको दीगो व्यवस्थापनको निम्ति सरोकारवालाहरू आफंै अग्रसर हुनुपर्दछ । विक्रम् सम्वत् २०२९ सालमा नेपालले राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐनको निर्माण गरेर वन्यजन्तु संरक्षणको आधुनिक युगमा प्रवेश गरेको थियो ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागको ९ वटा राट्रिय निकुन्ज, ३ वटा वन्यजन्तु आरक्ष, ३ वटा संरक्षण क्षेत्र र १ वटा सिकार आरक्षलगायत ९ वटा मध्यवर्ती क्षेत्रको सञ्जाल रहेको छ । यी सबै गरेर नेपालको कूल भू—भागको १९.१४ प्रतिशत क्षेत्रफल ओगटेको छ । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागको प्रमुख उद्देश्यहरूमा नेपालका बहुमुल्य तथा विभिन्न वन्यजन्तु तथा वनस्पती तथा भू–दृश्यको संरक्षण, सुरक्षा एवम् पुर्नउत्थान गर्नु रहेको छ । सन् १९८७ मा नेपाल रामसार महासन्धीको सदस्य राष्ट्र भएको थियो । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग यस महासन्धीको नेपाल कार्यान्वयन गर्ने प्रमुख निकायको रूपमा रहेको छ ।

जैविक विविधताको संरक्षणका निम्ति सन् १९६१ मा स्थापना गरिएको डब्लुडब्लुएफ एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । स्वीट्जरल्याण्डको ग्लामा केन्द्रीय कार्यालयमा रहेको यो सङ्स्था ९० बढी राष्ट्रहरूमा क्रियाशील छ । डब्लुडब्लुएफ एक स्वतन्त्र, गैरसरकारी, गैरराजनीतिक, गैरधार्मिक र नाफारहित सङ्स्था हो । यसले रसुवामा पनि लाङटाङ निकुञ्जसँगको समन्वयमा प्रकृति संरक्षणमा टेवा पु¥याएको छ । यहाँको गोसाँइकुण्ड जस्ता सीमसारहरूसँग सँस्कृतिका उद्गम थलो यी मानव जातिको अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ छ ।

विनाशकारी भूकम्पले सीमसार क्षेत्रमा नकरात्मक असर पारेको छ । सीमसारको दीगो संरक्षण अपरिहार्य छ । नेपाल विश्वमै जल स्रोतको दोस्रो धनी देश हो तर पनि यही देशमा १६ घण्टा बढी लोडसेडिङ हुन्छ । सीमसार क्षेत्रको उचित स्याहार, संरक्षण गर्न सके मात्र यी प्राकृतिक उपज भावी पुस्तालाई सुरक्षितरूपमा सुम्पिन सकिन्छ । सीमसारको संरक्षणले जलासय, पर्यापर्यटन, कृषि उत्पादन तथा जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ ।

नेपालमा ६ हजारभन्दा बढी नदिनाला, कुण्ड, पोखरी तालतलैया तथा सीमसार क्षेत्र छन् । प्रकृतिको विनास तथा विभिन्न कारणले सीमसारमा ह्रासहुँदै गएको छ । सन् १९९० यतमात्र सीमसार क्षेत्रमध्ये ६ सय ४५ वटाहरू लोप भइसकेको तथ्यांक छन् ।

नेपाल सामसार सन्धिको पक्ष राष्ट्र भएदेखि विविध कार्यक्रम गरी सचेतना मूलक कार्यक्रम सीमसार संरक्षण, व्यवस्थापन र उपयोग गर्दै आएको छ । सीमसार क्षेत्र संरक्षण्का लागि हचुवामा अप्राविधिक वातावरणीय प्रभाव मुल्याङ्कन नगरी गरिने विकास निर्माण कार्य र पछिल्लो समय दश महिना अघि भूकम्पको असरले पनि नेपालका कतिपय सीमसार क्षेत्र खण्किृत भई पानीको स्रोतमा ह्रास आएको छ । यसले कृषि उत्पादन, मानव जीवन, वन्यजन्तु, वनस्पत्ती नकरात्मक प्रभाव पार्न सक्दछ । त्यसैले सिमसार क्षेत्रको संरक्षणमा सवैले चासो दिन आवश्यक छ ।

About The Author