Thu. Feb 27th, 2025

तरकारीले परिचय बदल्दै धादिङको बाँसखर्क र सुन्दरनाङ्गी

tarkari-2
शंकर श्रेष्ठ / १३ कात्तिक, सुन्दरनाङ्गी (धादिङ)  –

बाहैमास गाँजा फुल्ने दक्षिणी धादिङको बाँसखर्क र सुन्दरनाङ्गीका पाखा पखेराहरु हिजोआज तरकारीले ढकमक्कै ढाकिएको छ । पहिले गाँजा व्यापारी भनेर चिनिएकाहरु अहिले तरकारी व्यापारीका रुपमा परिचित हुन थालेका छन् ।

‘बारीका पाटा होस् वा पाखो पखेरो जताततै गाँजा फुल्थ्यो । जो कोहीले पनि गाँजा फुल्ने गाउँ भनेर चिन्थे । तर अहिले यहाँको परिचय फेरिएको छ ।’ सुन्दरनाङ्गीका डिलबहादुर तामाङले यसरी परिवर्तनको कुरा सुनाए ।

tarkari-1

दक्षिणी धादिङको बाँसखर्क र सुन्दरनाङ्गी महाभारत लेक क्षेत्रमा पर्छ । यहाँका स्थानीयले गाँजा खेती छोडेर अहिले तरकारी खेतीलाई व्यवसायिक बनाएका छन् । ‘पहिले त गाँजाले नै फइदा हुन्छ जस्तो लाग्थ्यो तर होइन रहेछ, गाँजा बेचेर वर्षमा ५० हजार जति आउँथ्यो, यस वर्ष मैले तरकारी बेचेर २ लाख लिए’ महादेवस्थान –६ सुन्दरनाङ्गीका गोपाल तामाङले भने ‘गाँजा भन्दा तरकारी फाइदा हो ।’ उनले ३ वर्षयता करिब १५ रोपनी पाखो बारीमा तरकारी खेती गरिरहेका छन् ।

बिउ नै नरोपेपनि बारीमा आफै उम्रिएको गाँजा गोडमेल गरेर स्थानीयहरुले त्यहि गाँजाबाट आम्दानी लिन बाध्य थिए । तर अहिले गाउँका सबैले गाँजा फाडेर आलु, काउली, बन्दा, मुला लगायतका नगदे बालीतर्फ आकर्षित भएका हुन् । किसानहरुले वर्षमा चारबाली तरकारी निकाल्ने गरेका छन् ।

बाँसखर्कका लालबहादुर तामाङले २ हलको मेलोमा तरकारी लगाएका छन् । यसवर्ष मात्रै उनले ३० क्वीटल बन्दा विक्रि गरेको उनले सुनाए । गाँजाले भन्दा काउली, मुला र बन्दाबाट राम्रो कमाई भएपछि उनले यस पटक खुर्सानी पनि लगाएका छन् । अहिले लालबहादुर भन्छन् ‘पहिलेदेखि नै तरकारी खेती गर्न पाएको भए त यतिखेर धनी भइसकिन्थ्यो ।’ लालबहादुरले तरकारीमा न विषादी प्रयोग गर्छन् न रासायनिक मल, पाँच ओटा भैसी पालेर त्यहि भैसीको भकारोबाट बनेको मल तरकारीमा प्रयोग गर्ने गरेका छन् ।

gaja

सुन्दरनाङ्गीमा ७९ परिवारको बसोबास छ । अधिकांश तामाङ जातीका छन् । पहिले मकै लगाउने र मकैबारीमा नै गाँजा लगाउने उनीहरुले अहिले अन्न खेतीलाई विस्तापित जस्तै गराएका छन् ।

सुन्दरनाङ्गीकी विमला तामाङ भन्छिन्, ‘पहिले चामलको भात कहाँ पाउँ हुन्थ्यो अहिले ढिँढो खाने रहर हुन्छ ।’ बारैमास तरकारी खेती गरिने भएकोले मकै समेत लगाउन छोडेका छन् । वर्षको सुरुमा आलु लगाइन्छ, आलु खनेपछि काउली र काउली सकिएपछि बन्दा लगाइन्छ त्यसपछि मुला लगाइन्छ । ‘तरकारी लगाउदैमा ठिक छ मकै लगाउने समय नै हुँदैन’ विमलाले सुनाइन् ।

प्रमिला लामाले पनि यस वर्ष झण्डै २ लाखको मुला बचिसकेकी छन् । पहिले मकै लगाएर संगै गाँजा खेती गर्दै आएकी प्रमिलाले २ वर्षदेखि मकै समेत नलगाई भएजति सबै बारीमा तरकारी मात्रै लगाउने गरेकी छन् । सबैभन्दा पहिले मुला लगाए, राम्रो भयो, पछि अरु तरकारी लगाउन थालेँ ।’ गाउँमा बाटो पुगेपछि तरकारी बिक्रि गर्न पनि समस्या नभएको प्रमिलाले बताइन् ।

tarkari-3

सुन्दरनाङ्गी र बाँसखर्कका स्थानीयहरुले अहिले कच्ची सडक गाउँम्म पु¥याएका छन् । स्थानीयले फलाएको तरकारी लिन व्यपारीहरु गाडी लिएर गाउँमै पुग्ने गरेका छन् । चेतनाको अभावमा गाँजा खेती गरिरहेको भएपनि अहिले गाउँमै सडक पुगेपछि स्थानीयहरुले तरकारी खेतीलाई प्राथमिकतामा राखेको स्थानीय शिक्षक मणिकुमार तामाङले बताए ।

हिजोआज गाउँमा पुग्दा कोही मुला उखेली रहेका हुन्छन् । कोही मुला रोपेको बारीमा झार पन्छाइरहेका हुन्छन् । बन्दा र मुलाले सुर्कासुर्की बारी समेत ढपक्कै ढाकेको देख्न पाइन्छ । यस वर्ष हरेक परिवारले कम्तीमा २ लाखदेखि ५ लाख सम्मको तरकारी विक्रि गरेको वडा नागरिक मञ्चका संयोजक जीवन तामाङले बताए । उनले भने, ‘अहिले गाउँमा बाटो पनि आयो, तरकारी खेती पनि निकै फस्टाएको छ ।

tarkari-4

तरकारीले गाउँको नामै यसरी फेरिन्छ भन्ने कसैले सोचेका थिएनौ ।’ गाँजा खेतीलाई नै वर्षाैदेखि आफ्नो मुख्य पेशा बनाउँदै आएका सुन्दरनाङ्गी र बाँसखर्कका स्थानीयहरुलाई तरकारी खेतीका लागि सरकारी र गैर सरकारी संघसस्थाहरुले पनि विभिन्न चेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

About The Author

अन्य समाचारहरु: