वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । धादिमा रेमिट्यान्सको कारोबार गर्दै आएको कला इन्टरनेशनलका अनुसार विभिन्न माध्यमबाट विदेशिएकाहरुले यस आर्थिक वर्ष २०७३/०७४ को साउन महिनादेखि हालसम्म ७५ करोडको हाराहारीमा रेमिट्यान्सको कारोबार गरेको छ । खास त आन्तरिक रेमिट्यान्स भन्दा बाह्य रेमिट्यान्सको कारोबार बढी हुने गर्दछ । धादिङमा रेमिट्यान्सको अवस्था कस्तो छ त रेमिट्यान्सको कारोबार गर्दै आइरहेका कला इन्टरनेशनल प्रा.लि.का प्रबन्धक रामचन्द्र गिरीसँग पाविल न्यूज डटकमका संवाददाता अस्मिता खतिवडाले गरेको कुराकानी
धादिङमा रेमिट्यान्सको अवस्था कस्तो छ ?
– रेमिट्यान्सको अवस्थाको कुरा गर्दा सन्तोषजनक नै छ भन्नुपर्छ । आर्थिक वर्ष ०७१÷७२ मा जम्मा २ अर्व १ करोड ११ लाख ५४ हजार ७ सय ८७ रुपैंया बराबर रेमिट्यानसको कारोबार भएको थियो । जस अन्तर्गत १ अर्व ५६ करोड ५७ हजार ३ सय १६ रुपैंया र आन्तरिक तर्फ ४५ करोड १० लाख ९७ हजार ४ सय ७१ रहेको छ । त्यस्तै आर्थिक वर्ष ०७२/०७३ को कुरा गर्दा बाह्य रेमिट्यान्स तर्फ १ अर्व ५२ करोड ३४ लाख ५१ हजार ५ सय २५ रुपैंया र आन्तरिक तर्फ ४८ करोड ११ लाख ७७ हजार ४ सय ५३ रुपैंया गरि जम्मा २ अर्ब ४६ लाख २८ हजार ९ सय ७८ रुपैंया रेमिट्यान्सको कारोबार भएको देखिन्छ । यो आ.व. ०७३/०७४ को तीन महिनामा ७५ करोडको हाराहारीमा रेमिट्यान्स आएको देखिन्छ । यसलाइ सन्तोषजनक नै मान्नुपर्छ ।
कुन मौषम/समयमा बढि र कुन मौषममा कम रेमिट्यान्स भित्रन्छन् ?
– विशेषगरी चाडपर्वको समयमा अत्याधिक रेमिट्यान्स भित्रन्छन् । विशेष गरी चाडपर्वको मौसम असोज, कार्तिक र माघ महिनामा बढि मात्रामा रेमिट्यान्स भित्रिएका छन् भने असार साउन महिनामा कम छ । ग्रामिण क्षेत्रमा यातायातको असुविधा, खेतबारीमा काम अन्नबाली लगाउने समय भएका कारण पनि कम मात्रामा सेवाग्राहीहरु आउने गरेको पाइन्छ ।
चाडपर्वका बेला अत्याधिक रेमिट्यान्स भित्रने प्रसङ् जोड्नुभयो, यस वर्षको चाडपर्वमा कत्तिको सेवाहरु लिइरहेका छन् ?
– सामान्य अरु महिनामा हामीले दैनिक ५० देखि ६० लाखको हाराहारीमा रेमिट्यान्स भित्र्याउदै आएकोमा यसपालिको दशैंमा दैनिक डेढ करोड सम्म भुक्तानी दिएका छौं । दशैको केही दिन अगाडि एकै दिनमा ४ करोड सम्म रेमिट्यान्स भुक्तनाी दिएको दिन पनि हामी संग छ । तर पनि अघिल्ला आर्थिक वर्षको दशैं तिहारमा भन्दा यो वर्ष भने कम नै हो । खास त चाडपर्वको समयमा खर्च धान्नका लागि विदेशबाट आफ्ना घरपरिवार, आफन्तजनहरुलाई बढी मात्रामा पैसा पठाउने गरेको पाइन्छ ।
कम हुनुको कारण ?
– खास कारण त भुकम्पको अनुदान रकम सरकारले दशैंको मुखमा वितरण गरेर पो हो की जस्तो लाग्छ । अर्को भनेको सरकारले केहि महिना यता सरकारले फ्रि भिसा फ्रि टिकट लागु गरेको भन्दै म्यानपावर कम्पनीहरुले मान्छे नपठाउँदा पनि विदेशीनेको सङ्ख्या कम भएकाले पनि प्रभाव परेको छ ।
कुन कुन देशबाट रेमिट्यान्स भित्रिने गरेको छ ?
– खासत खाडी मुलुकहरु कतार, मलेसिया, दुवई, साउदी अरब अमेरिका, जापान, लन्डन, कुवेत, इराक, अफगानिस्तान, कोरिया लगायतका देशहरुबाट बढी भित्रिन्छन् । अन्य देशहरुबाट पनि कारोबार भइरहेको हुन्छ । श्रमसन्झौता भएर काम गर्न गएका मुलुकमा काम गर्नेहरुको पैसा पठाउने मुख्य माध्यम नै रेमिट्यान्स भएको छ ।
महिला पुरुष कसको नाम रेमिट्यान्स बढि आएको देखिन्छ ?
– सुरुवात देखि नै पुरुष भन्दा महिलाकै नाममा रेमिट्यान्स बढि आउँछ । लगभग ८५ प्रतिशत रेमिट्यान्स महिलाका नाममा आउँछ । श्रीमान वैदेशिक रोजगारमा जाने र स्वेदशमा रहेका श्रीमतीलाई पैसा हालिदिने भएका कारण पनि महिलाको नाममा बढी मात्रामा रेमिट्यान्स आउने गरेको पाइएको छ । यसरी पाएको रकमले कोहीले घरपरिवारमा खर्च, विदेश जाँदा लागेको ऋण तिर्ने पनि गरेको छ भने कसैले उपभोग्य सामानहरु खरिद, मनोरञ्जनका साधनहरु (टेलिभिजन, मोबाइल, ल्यापटप, कम्प्यूटर), गरगहनामा खर्च गर्ने गर्दछ । कसैले उत्पादनमूलक कार्यमा पनि खर्च गरेको पाइन्छ ।
कला ईन्टरनेशनल प्रा. लि. धादिङमा दैनिक नियमित ग्राहक संख्या कति छन् ?
– ठ्याक्कै यति भन्न सकिने अवस्था त छैन । कहिले अत्याधिक हुन्छन् भने कहिले कमै हुन्छन् । दैनिक सरदरमा भन्दा ३ सय देखि ४ सयको हाराहारीमा हुन्छ । चाडपर्वको समयमा भने बढी नै हुन्छन् । अहिले खासगरी वित्तिय संस्था, सहकारी संस्थाहरुले पनि रेमिट्यान्सको कारोबा सुरु गरेका छन् । यसले पनि ग्रामीण क्षेत्रका मानिसहरुलाई सेवा पुगेको छ ।