शंकर श्रेष्ठ /५ कात्तिक, धादिङ- भुकम्पले क्षतिग्रस्त बनेको धादिङको ८ ओटा विद्यालय नर्वेजियन राजदुतावासले पुननिर्माण गर्ने भएको छ ।
२०७२ साल बैशाख १२ गतेको भुकम्पले क्षति पुगेको सेमजोङको ६ ओटै विद्यालय र जीवनपुरको २ ओटा विद्यालय नर्वेजियन राजदुतावासको आर्थिक सहयोगमा जीआईजेडले पुननिर्माण गर्न लागेको हो ।
सेमजोङको शान्ति प्रा.वि., थला प्रा.वि., बुद्ध प्रा.वि., गैरा निमावि, चौतारा प्रावि र इन्द्रिया प्राविमा नयाँ भवन निर्माण गर्न लागेको जीआईजेडका जिल्ला संयोजक लेखामणि ढकालले बताए । त्यस्तै जिवनपुरको कुलचन्द्र निमावि र त्रिकुटेश्वरी निमाविको भवन रेट्रोफिट गरिने उनले जानकार दिए ।
सेमजोङ गाविस वडा नम्बर ८ मा रहेको शान्ति प्राविमा बन्न लागेको ४ कोठे २ ओटा विद्यालय भवनको विहिबार नेपालका लागि नर्वेजियन राजदुत श्येल टोर्माेड पेटर्सनले शिलान्यास गरेका छन् । उत्तरी क्षेत्रको विकटमा पर्ने सेमजोङको विद्यालय भवन भुकम्पले भत्किएर बालबालिकाको पढाई प्रभावित भएपछि जीआईजेडले भवन निर्माण गर्न लागेको जीआईजेडका पुष्पा सिलवालले जानकारी दिइन् ।
शान्ति प्राविको भवन शिलान्यासको लागि गाउँ सेमजोङ पुगेका नवैजियन राजदुत पेटर्सनल र सेमजोङ स्वास्थ्य चौकीको नननिर्मित भवन उद्घाटन गर्न पुगेका नेपालका लागि जर्मनी राजदुत माथियास मेयरले सेमजोङका अन्य विद्यालयहरुको पनि अवलोकन गरेका छन् ।
नर्वेजियन राजदुतावासको आर्थिक सहयोगमा नेपाल–जर्मन रिकभरी प्रोग्राम अन्तर्गत विद्यालय पूननिर्माण कार्यबाट ८ वटा विद्यालयहरुमा अध्ययनरत करीब १ हजार बिद्यार्थीहरु लाभान्वित हुनेछन् । सेमजोङको चौतारामा विमामा भने इपिएफ नामक गैर सरकारी संस्थाले ८ कोठाको बनाउने भएको छ । चौतारा मावि सहित इपिएफले जिल्लाको ३ ओटा विद्यालयमा भवन निर्माण सुरु गरेको जिल्ला शिक्षा अधिकारी गणेश ढकालले जानकारी दिए ।
भुकम्पले क्षतिग्रस्त जिल्लाका ५० प्रतिशत विद्यालय भवन पुननिर्माणको लागि गैरसरकारी निकायसंग समन्वय भएको जिल्ला ढकालले बताए । ‘सेमजोङको विद्यालय अन्य गाविसको भन्दा बढि नै क्षति भएको छ, पुननिर्माणको लागि पनि मैले धेरै कोअर्डिनेशन गरे, ढकालले भने, ‘सेमजोङमा अब विद्यालयको भौतिक निर्माणको लागि भनेर तत्काल सरकारले हात हाल्नु पर्दैन ।’
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने पीडा, महादेवस्थान र उत्तरी क्षेत्रको पनि विकटमा पर्ने रि, लापा र झार्लाङ गाविसको सबै विद्यालय यूएमएनले पुननिर्माण गर्ने जिम्मा लिएको छ । त्यस्तै कटुञ्जेको जिएनएफएले, मार्पाकको राइट फर चिल्ड्रेनले, सल्यानटारको जिल्ला शिक्षा कार्यालय र जाइकाले पुननिर्माणको जिम्मा लिएको ढकालले जानकारी दिए । आस्मान नेपालले बसेरी र सल्यानटारमा गरी ४ ओटा विद्यालय भवन निर्माण गर्ने अनुमति लिएको छ ।
जिल्लाभरमा जाइकाले १८ वटा बनाउने सम्झौता भइसकेको छ । जिल्ला शिक्षा अधिकारी ढकालले भने, ‘अझ विद्यालय छान्ने त्रपममा छौ । ५५ ओटा विद्यालय मर्मत भइसकेको छ, अहिलेसम्म करिब ५० प्रतिशत विद्यालय कभर भइसकेको छ ।’