शंकर श्रेष्ठ –
राती करिब ३ बजेको रहेछ । बाहिर गांइगुंई सुनियो । झल्याकझुलुक लाइटको ज्योती भित्र देखियो । नजिकै मरनघाट भएकोले त्यही आएका मलामी होलान् भन्ने लागेर अरु वास्ता भएन । एक्कासी रेडियोको दुबै गेटबाट ओई..ओई.. गेट खोल भन्दै च्यानल गेट बेस्सरी बज्रियो । उठेर घडि हेर्दा सवा चार बजेको रहेछ । बाहिर हेर्दा आर्मीको जस्तो ड्रेस लगाएको मान्छे देखियो ।
गेटमा लात्तीले हानेपछि को आयो, किन आयो ? भनेर सोध्यौ । बाहिर बत्ती बलेको थियो, हामीलाई थाहा थिएन, प्रहरी आएको । त्यसपछि मैले नै गेट खोलें । ‘खुरुक्क गेट खोलिहाल’ भन्दै अपशब्द प्रयोग गर्न थाले । म कपडा लगाउँछु, मोबाइल लिएर आउछु भनें । सरलाई फोन गर्छु भने । एउटा मोबाइल मेरै खल्तीमै थियो । सरलाई फोन गर्दा खोसियो । भित्र पसेर फोन गर्न खोजें, टेलिफोन तार चुडाइयो ।
इमनाथ सर (बन प्रमुख) मोटरसाइकलको हेलमेट लगाएर आएका रहेछन् । वन रक्षक र शसस्त्र प्रहरीहरुले चारैतिरबाट घेरिएको रहेछ । हामीलाई देख्ने बित्तिकै ओई खोल नत्र हान्दिन्छु भन्न थाले । गेट खोल्नेबित्तिकै इमनाथ पौडेल सहित १५/२० जना भित्र पसेर बाहिर निस्की भन्दै लछारपछार गर्न थाले । मेरो मोबाइल निकाल्छु पख्नुस् भन्दा गन्जी समेत लगाउन नदिई बाहिर घिसारे ।
सशस्त्र वन रक्षक सहितको टोलीले यति तनाव दियो कि क्रुर जंगली शासनको झल्को आइरहेको थियो । हामीलाई कुनै आतंककारी सरह यो कुनै चोर, डाँका, हतियारधारीको समूहसंग प्रस्तुत भइरहेको जस्तो व्यवहार गरियो । उनीहरुले डोजर लगाएर भत्काउन सुरु गरे । पहिलो पटक डोजरको पछाडि पट्टीको बकेटले रेडियोको भवन हिर्काउदा आफ्नै छातीमा हानेजस्तो लाग्यो ।
म संगै गरेका साथीको मोबाइलबाट मैले एउटा मात्र फोटो खिचेको थिए, उनीहरुले तँ को होस् भन्दै फोटो खिच्न पनि दिएनन् । मेरो सरस्वतीको मन्दिर मेरै अगाडी भत्काए अनि मलाइ नै भने तँ को होस् ? लोकतन्त्रमा यो भन्दा बढी स्वाभिमान र पहिचानमा प्रहार अरु के होला ? केही निकाल्न पाइन । मेरो मोबाइल, ल्यापटप पनि निकाल्न दिएन्, कन्ट्रोल रुममा थियो, रेकर्डर समातेको थिएँ, त्यो पनि खोसेर फालिदिए ।
५/६ जनाले तान्नी र धकेल्नी गर्दै रोडसम्म ल्याए । मेरो साथी यतै छ भने, प्रहरीले साथी जहासुकै होस् त निस्किहाल भन्दै फेरी घिसार्न थाले । रेडियोका साथी खेम चेपाङ, सौगात लम्साल र रोम श्रेष्ठ हामी संगै सुतेका थियौ । उनीहरुलाई अन्तै लखेटेछ । तेतिबेला दिब्य दर्शन टेलिभिजनका साथी अमृत लम्साल त्यहि पुगेका रहेछन् । अमृतलाई बोलाउन खोजे । डिएफओले झनै भित्र भएका सबै सबै सामान फुटाइदे भन्दै आदेश गरे । घर भत्काए पनि उपकरण ध्वस्त नपार भनेर आग्रह गरेको थिएँ । डिएफओले सोलारको प्यानलसमेत भत्काउन आदेश दिए ।
त्यतिबेलासम्म मलाई शसस्त्र र जनपथ प्रहरीले तान्दै रेडियो भन्दा यत्तापट्टि तारा होटलको छेउमा ल्याइपु¥याइ सकेका रहेछन् । मैले फेरी उनीहरुलाई फोटो मात्रै खिच्न दिन आग्रह गरे । हाम्रै पत्रकार छ हामीसंग तैले खिच्नु पर्दैन भने ।
आफूले पुजा गरेको र सम्मान गरेको सामानमा लौरो बजारिएको आवाज मात्रै सुनिन्थ्यो । अध्यारो भएकाले बाहिर आफुले चिनेको कोही देखिन । रेडियोकै साथी अर्जुन श्रेष्ठ र अस्मिता खतिवडा बैनीलाई पुल वारी नै रोकेका रहेछन् । केही बेरपछि नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली भेटे । मन अलि हल्का भयो । हेलमेट र बुड जुत्ता लगाएका वन रक्षक र प्रहरीहरुले झ्यालको सिसामा लौरो बजारिरहेकै थिए । रेडियो भित्रबाट ठ्याङ, ठ्याङ् आवाज आइरहेको थियो । हेरेरै बस्नुको बिकल्प भएन । केही गर्न सकिएन । यो महिनाभरिमा खाली गर्छौ भनेर समय मागेकै थियौ । तर आतंकवादी जस्तै गरी राति आएर यसरी हमला ग¥यो ।
रेडियोको भवन भत्काएर सबै फर्किसकेपछि हेर्न गए, रेडियोका उपकरणहरु सबै ध्यस्त पारेका रहेछन् । स्टुडियो सबै च्यातिएका थिए । माइक भाँचिएको थियो । मिक्स्चरको माथीतिर छरपस्तै सिसाका टुक्राहरु थिए । कम्प्युटर र कागजपत्रहरु छरपष्ट पारिएको रहेछ । सबै सोलार प्यानलमा लौराले हानेर फुटाएछन् । धारोको टुटी र ट्वाइलेटको प्यान समेत फुटाएछन् । फुट्न र बिग्रन बाँकी केही देखिन ।
हिंसा प्रभावित महिलाहरु बस्दै आएको सुरक्षित आवास गृहको पनि ताल उस्तै बनाएछन् । म आवास गृहतिर पुग्दा एकजना सानो बच्चा च्यापेकी महिला रोइरहेकी थिइन् । सुस्त मनस्थितिका जस्ती देखिने एक जना युवती र ३/४ जना झिम्रीक्क परेका महिलाहरु आवास गृहकै छेउमा कुम्लो कुरेर रोइरहेका थिए । आवास गृहमा रहेका सुत्केरी र अपाङग बालबालिका सहित ५ जनालाइ सुतेको ठाउँबाट कपडा समेत लगाउन नदिई जवरजस्ती बाहिर निकालिएको रहेछ ।
यो सब लेखिरहंदा मलाई कता कता संकटकालको याद आइरहेको छ । देशमा लोकतन्त्र आएको छ अब कसैले अन्याय सहनुपर्दैन भनेर आम नागरिकमाझ सुचना पु¥याउने म आफैंलाइ आज लोकतन्त्र आएको अनुभब मनमा थोरै पनि छैन । त्यो अनुभब आम नागरिकमा नै पाएं । पत्रकारीता भर्खर भर्खर सुरु गर्दा तत्कालीन माओबादीको यस्तै रुप देखेको मैले आज पनि कता कता तिनै आतंककारी शैली सम्झिरहेको छु । थाहा छैन म सहि छु या गलत ।
(लेखक : रेडियो धादिङ १०६ मेगाहर्जको समाचार सम्पादक हुन् । )
प्रकाशित मिति :२०७३ असोज ७ गते