मनिष दुवाडी / २६ भदौ, धादिङ – धादिङवेशीमा संचालित स्रोत परिचालन बचत तथा ऋण सहकारी सस्थाले गत आर्थिक वर्षमा मात्रै १९ लाख रुपैया खुद नाफा निकाल्न सफल भएको छ । २०५४ सालमा स्थापित श्रोत परिचालन बचत तथा ऋण सहकारी सस्थाको १९ औं बार्षिक साधारण सभामा जानकारी दिए अनुसार आर्थिक वर्ष २०७२÷०७३ को कुल कारोवारवाट १९ लाख २९ हजार ३ सय ८५ रुपैया खुद नाफा गर्न सफल भएको हो ।
२०७२ सालमा मद्यमाञ्चल क्षेत्रकै उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भएको सहकारीले हालसम्म १ करोड ६० लाख रुपैया शेयर पुँजी जम्मा गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ करोड रहेको शेयर पुँजी शेयर सदस्यहरुको सङख्या बढे सङगै १ करोड ६० लाख पुगेको हो । सहकारीमा हाल २२ सय ५१ जना शेयर सदस्य रहेका छन् जसमध्ये ६ सय ५९ जना बाल बचतकर्ता रहेका छन् ।
सहकारीले आर्थिक वर्ष २०७२÷०७३ मा १२ करोड २० लाख ८४ हजार ९ सय ४६ रुपैया बचत संकलन गर्न सफल भएको थियो भने १३ करोड ४७ लाख १० हजार ७ सय २४ रुपैया ऋण लगानी गरेको छ । लगानी गरिएको ऋणबाट १ करोड ३९ लाख ६७ हजार २ सय ७० रुपैया ब्याज असुलेको सहकारीले बचतकर्ताहरुलाई भने ७८ लाख ६७ हजार १९ रुपैया ब्याज प्रदान गरेको छ । साधारण सभाको अवसर पारि २५ जना असल ऋणीहरुलाई सहकारीले सम्मान पनि गरेको छ ।
नेफ्स्कुनको प्रोवेशन कार्यक्रममा सहभागी भइ सहकारीको क्षेत्रमा उत्कृष्ट काम गरि सहकारी विभागबाटै ‘सफल सहकारी’ ब्राण्ड पाउन सफल स्रोत परिचालन सहकारी संस्थाले अहिले जिल्लामा आइएमइ र प्रभु मनि ट्रान्सफरको सहकार्यमा रेमिट्यान्स सेवा संचालन गरिरहेको छ ।
सहकारी सस्थाले प्रदान गर्ने सेवा सुविधा, सामाजिक क्रियाकलाप, आर्थिक सुशासन, पारदर्शिता, दिगोपना लगायका सहकारीका ८६ वटा सुचाङ्कहरु मध्ये ५५ वटा सुचकाङकहरु पुरा गरेर मध्येमाञ्चलकै उत्कृष्ट सहकारीको रुपमा दर्ज भएको श्रोत परिचालन बचत तथा ऋण सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत रगतको अभाव भएका बेला रक्तदान कार्यक्रम, सहकारी शिक्षा कार्यक्रम, एसएलसी उत्कृष्ट विद्यार्थी सम्मान लगायतका कार्यक्रमहरु गरिरहेको छ भने प्रकोप तथा महामारीहरुमा पनि सहयोग पुर्याउदै आइरहेको छ ।