२४ भदौ, काठमाडौं – मन्त्रिपरिषदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संयुक्त राष्ट्रसंघको महासभाका लागि ३ देखि १२ असोजसम्म न्युयोर्क भ्रमण तय गरेको छ ।
भारत भ्रमणबारे अर्को बैठकबाट निर्णय हुने भएको छ । भारत भ्रमणका अधिकांश कार्यक्रम भने तय भइसकेका छन । ‘प्रधानमन्त्रीज्यूको न्युयोर्क भ्रमण तय भयो,’ बिहीबार बसेको मन्त्रिपरिषद् निर्णय उल्लेख गर्दै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भने, ‘भारत भ्रमणबारे अर्को मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ । हामी आवश्यक तयारी गरिरहेका छौँ ।’
प्रधानमन्त्री प्रचण्डको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत २६ भदौमा नयाँदिल्ली जाने भएका छन् । प्रचण्ड २ असोजको बिहान भारतमा राजनीतिक भेटवार्ता सकेर दिउँसो स्वदेश फर्किने कार्यक्रम छ । फर्किएको भोलिपल्ट प्रधानमन्त्री न्युयोर्क जानेछन्न। प्रधानमन्त्री प्रचण्डले ८ असोजमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन ।
न्युयोर्क पुग्नासाथ प्रधानमन्त्रीले आप्रवासन तथा शरणार्थीसम्बन्धी कार्यक्रममा सहभागिता जनाउने तय भएको उनका परराष्ट्र मामिला सल्लाहकार डा. ऋषि अधिकारीले जानकारी दिए ।नया पत्रिका दैनिकबाट