Tue. Mar 4th, 2025

यो छोरो बढ्ला कमाइ गर्ला दुध भात खान देला……

keshav
केशव दुवाडी  – “यो छोरो बढला कमाइ गरला दुध भात खान देला”… , सार्दूल विक्रीडित लय पछ्याएको यो सिलोक मेरो कानमा बेला बेलामा झंकृत भैरहन्छ । मैले मेरो जीवनमा सुनेको पहिलो श्लोक यही हो ।  सायद म ४ बर्षको हुँदा मेरी आमाले मलाई काखमा राखेर भनेको कुरा थियो त्यो । हुन पनि त यौटी आमाको लागि आफ्नो काखे बालकसँगको आसा उ हुर्के पछि आफूलाई बुढेसकालमा सुख देला धन कमाउला बुहारी ल्याउला भन्ने नै होनि । तर मेरो सानो विचार र सोचाइमा म ठूलो के गरेर हुने होला ? कमाई र दुध भात भनेको केहोला ?आदि कुरा खेलि रहन्थ्यो ।

“यो केहो कान्छा !” मारौ, हाम्राी ठूली दिदीले मलाई आगनमा चरिरहेको सारौ लाई देखाएर मलाई सोध्दा खेरी मलाई सारौ भन्न नआएर हो या अरुले भनेको सही नसुनेर हो सारौ चरीलाई मारौ भनेको तर दिदी म १४ १५ बर्ष भैसक्दा पनि  यही कुरा सम्झाउँदै तेरौ पहिलो उत्तर नै मारौ हो भन्दै मलाई जिस्क्याउथी । म चाहि अक्क न बक्क हुन्थे ।

मारौ र मर्नु मा सायद तादम्यता छ होला मानिसहरु मरिरहेका छन् । मेरी दिदी पनि बाँचिन । सुत्केरी हुने व्यथाले च्याप्यो अरे, अस्पताल टाढा थियो या लगेनन् दैव नै जानुन् । फेरि महिलाको सुत्केरी व्यथा लाई समाजले सामान्य मान्ने चलन रहेछ क्यारे त्यो बेलामा । (अहिले पनि त्यस्तै भएको देख्दा दिक्क लाग्छ)दिदीदले छोरी जन्माइन काँडा ३ दिन सम्म झरेन र मरिन् । सुत्केरी स्याहर्न घिऊ र चामल बोकेर गएकी मेरी आमा सन्तानशोकको पीडाले बेहोस भएर ढल्नु भो म अल्लारे केटोले के जानेको थिएँ र सम्झाउनु ? अलि अलि कुरा गरेर सम्झाएँ बल्ल बल्ल घर ल्याई पुर्याएँ ।

मलाई अझै याद छ “ए नानी !” ( दिदीलाई नानी भन्थे, आमा र अरुले पनि नानी भन्थे) ऊ होइ भन्थी अनि म उसालाई भन्थे “सानो तपेसमा चामल भात पका, ताइमा फर्सीकोमुन्टा ओल्स्या ।” उसले पकाएर दिइ दिइन मलाई हेक्का छैन ३, ४ बर्षको उमेरको कुरा सबै सम्झेर के साध्ये ?

अर्को कुरा हाम्रोघरमा चामलको भात पाक्न कित दशै तिहार जस्ता चाहड आउनु पर्ने कित तिथि सरात कुर्नु पर्ने । नत्र च्याख्ला र ढीडो खाँदा खाँदा सास्ती !

अर्को एकदिन आमाको काखमै छँदा आमाले “कान्छो छोरो मायाको डोरो पुर्याइदेउ काशीमा, ए हरि ! पुर्याइदेउ काशीमा…… हो हो पुर्याइदेउ काशीमा ।” भनेको कुरा पनि अझै मेरो कानमा ठोकिइरहेको छ । सायद बाबुआमाको तीर्थका लागि शन्तानको महत्व मैले श्रवण कुमारको कथा सुनेर थाहा पाएको थिएँ । तर काशी धेरै टाढा छ त्यहाँ जान पैसा पनि धेरै लाग्छ तर हामीसँग छैन भनेर वल्लो पल्लो घरकाले भन्दा मलाई लाग्थ्यो हाम्री आमालाई काशी किन जान परेको होला ? बरु पैसा छ भने मलाई नया लुगा किनिदिनुनि ? त्यत्रो धेरै खर्च गरेर काशी किन जाने ?

एक चोटी आमाले नया अन्दरप्यान ल्याइदिनु भएको थियो त्यैपनि एक जना दाइले े खोसर मैलो बनाए पछि बल्ल बल्ल फिर्ता गर्यो । अर्का एक जना काका पर्नेले मेरो लुगाको विजोक देखेर यौटा बाँकाटे सट सिलाई दिएका थिए । हाम्रो दमाइदाई च्याउँसुरे थियो तर उनले उनकै भाइ जुरेलो दमैकोमा लगेर लुगा सिलाईदिए मैले किनहोला त्यसो गरेको भनेको थिएँ तर पछि थाहा भो उनको बाली खाने दमै जुरेलो नै रहेछ । मलाई उनीहरुको नाम च्याउँसुरे, जुरेलो उनीहरुको बाउको नाम चखते भन्ने सुन्दा सानो मा हाँसो र रमाइलै लाग्थ्यो तर अलि बुझ्ने भए पछि थाहा भो उनीहरु त तथाकथित दलित रहेछन् । हामी बराजु भनाउँदाले जे नाम दियो उनीहरुको त्यही हुने । सामन्ती सँस्कारको पराकाष्टा !

त्यो भन्दा बाहेक  मलाई आजसम्म कसैले नया लुगा किनिदिएको याद छैन । च्याउँसुरे दमाई दाइ र उनकी श्रीमती मलाई माया गर्थे उनीहरु भन्थे “आँखेटारीठूले (मेरा बालाई ठूले भन्थे तिनीहरु)ले छोइदिनासाथ हाम्रा बच्चाहरुको रोग चट्ट हुन्थ्यो । विचरा यस्ता कलिला लालाबालालाई अनाथ पारेर गए । भगवान पनि कति नजाति !”विचारा च्याउँसुरे दाइ पनि त मानिस नै हुन्, यो डेरा रुपी दुनियाको ।  उनले पनि बाटो तताए । एकदिन दमिनी भाउजु उनलाई सम्झेर तुरुक्क आसुँ झार्दै थिन म गएको बेलामा । “बाबु ! बुढा मरिहाले अब मलाई कसले हेर्छर यसो बाटो हिड्दा बोलाउनु है ?” भनेर सुक्क सुक्क गर्दै थिइन् ।

दमाइदाई मलाई कहिले काही डराउन सुगुर लाइदिउँ भन्थे । सूर्ति पिच्च थुकेर हाइड्रेसिल भएको अण्डकोषलाई लगौटीले कस्तै “ए बाउन सुगुर छाडिदिउँ” ? भनेर अत्याउँथे मलाई । उता कर्सानिर बारेर बनाइएको चर्पीमा ढलीमली गरिरहेको सुगुर घुर घुर गरेको आबाजले सातो जाँदै म तलतिर कुलेलम ठोक्थे । यता आमा दमैकोघर गएर आएको होइन ल छिटो हाल भनेर पानीको छिटा मलाई पार्दिनु हुन्थ्यो  र भन्नु हुन्थ्यो “सुँगुर छुन हुन्ननि छोइस भने त जिब्रो काट्नु पर्छ चोखिनलाई ।” मछक्क पर्दै सोच्थेँ कसैले सुगुर काटेर मासु खान हुने कसैले छोयो भने जिब्रो काट्नु पर्ने यो के भनेको होला ?

मेरी आमाको भनाइ अनुसार म २०२८ साल असौज २५ गते सोमबार बेलुका घाम डाडामा पुग्नै लागेको बेलामा जन्मेको हुँ । आमालाई सुत्केरी व्यथाले अचेत बनाए पछि भूईमा झरेर नीलो भएको मलाई काइलीआमाले पोल्टोमा थापेर दुध खुवाउनु भएको रे । त्यसैले त कहिले काही काइली आमा मलाई “तँलाई घैँटे ! मेरो दुध खाएर यत्रो भयो अझै ठूला कुरा गर्छस् ।” भन्नु हुन्थ्यो सानो छँदा । साच्चै मलाई मेरी आमा र काइलीआमा उस्तै लाग्छ ।मलाई बिरामी भएको बेलामा स्याहार सुसार गर्ने काम दुबै आमाहरुले गर्नु भएको हो । अहिले न आमा छिन न काइली आमा ।दुवै गए देउताको घरमा मलाई छाडेर ।

मेरा बा ज्योतिषी पनि रहेछन् भन्ने कुरा मैले पछि उनले जम्मापारेका तर उनी मरेपछि कान्छोबाले लगेका आमाले डराई डराई मलाई भने पछि सुटुक्क उनको तलामा गएर हेरे पछि देखेको ज्योतिष रत्नसागर र अन्य अरु पुस्तक देखे पछि थाहा भो । आमाको भनाई अनुसार बाले मेरो जन्माको तिथि मिति, घडि पला सबै टिपोट गरेर नक्षत्र, ग्रह र राषी पत्ता लगाए पछि यो कैले कित जोगी हुन्छ कित भोगी हुन्छ भनेर अडकल काटेका थिएरे ।

आमालाई यसलाई जसरी भए पनि पढाउनु भनेका थिए रे । सायद जेठो छोरो घर छाडेर भागि रहने र अलि अधबेश्रो टाइपको भएकोले उ भन्दा १९ बर्ष पछि ५३ बर्षको उमेरमा  जन्मेको छोरो भएर होला बाले म हुर्कुन्जेल सम्म रहन सक्दिन कि भन्ने पिरले आमालाई अथ्र्याएका होलान् । हुन पनि त म जन्मेको ३ बर्ष पछि उनले ३६ बर्षको मेरीआमालाई विधवा पारेर परलोक सुधारे । मलाई त बाबाको बारेमा केही पनि याद छैन आमा भन्नु हुन्थ्यो बाबा बिरामी भएर मोठमा सार्दा म भने मकै चपाइ रहेको थिएँ । ३ बर्षको म अवोधलाई के थाहा ?मलाई अलि अलि झझल्को बाबा बाँकाटे भोटो लगाएको, हातपछाडि राखेर घरबाट मास्तिर गएको मात्र घुरमैलो याद छ । नत्र मलाई बाबाको कुनै कुराको हेक्का छैन ।

बाबा बितेकोबेला दाइ घरमा थिएनन् रे दाइके घरबाट भागिरहने बानीले सबै आजित भैसकेका थिएरे । त्यसकारण बाबाको अन्तिम सँस्कार कान्छोबाले गर्नु भएको थियो रे । पछि कान्छोबा कुन्नी कहाँ हो गएर दाइलाई खोजेर ल्याएको रे । बाबा बितेको ३,४ बर्ष सम्म पनि म अरुले बा भनेर बोलाएको सुन्दा म पनि बा, भन्थे आमा भक्कानिदै देउताको घरमा गएको मानिसलाई बोलाउन हुन्न कान्छा चुप लाग भन्नु हुन्थ्यो म चुप लाग्थे तर देउताको घरमा गएको बाबा नफर्किँदा भने दिक्क लाग्थ्यो । साच्चै बाबा फर्किनु भएन अहँ कहिले पनि फर्किनु भएन ।

मलाई मेरो घरमा कान्छी दिदी आमा र म भएको मात्र याद छ । बाबा बितेको खबर थाहा पाएर घरआएको दाइको बाबाको बराखी सकिएपछि बिहे गरिदिने भन्ने कुरा काकाहरुले राख्नु भयो । गाउँघरमा त्योबेला साटो गरेर बिहेगर्ने चलन रहेकोले ठूलीदिदी साटोहालेर दाइको बिहे गर्ने निधो माइलोबा र कान्छोबाले गरेछन् । तर यता मेरो दिदीको विहे आमाको दिदीको चाँजो पाँजोमा आफ्नी छोरीको देवरसँग गराइदिएछन् ।

जेठोको भर छैन कान्छो सानै छ ठूलीको बिहे सट्याक सुटुक गरे खर्च लाग्दैन भनेर आमालार्य फस्ल्याँग फुस्लुँग पारिएछ । रातारात १३ बर्षकी मेरी दिदीलाई २४ बर्षका लकाजबानसँग बिहे गरिदिएछन् । यता बहिनी साटोगरेर बिहे गरिदिने भनेर काकाहरुले फकाएकोले बाको बर्षदिनको काम नसकिन्जेल घरमा बस्न राजी भएको दाई दिदीको बिहे उसलाई पनि थाहा नदिई गरेपछि उ पनि घर छाडेर भाग्यो । काकाहरु पनि आमासँग बोल्न छाडे । अब हाम्रोघरमा आमा म र कान्छी दिदी भन्दा अरुको को नै पो बाँकी रह्यो र ? क्रमशः

About The Author