मनिष दुवाडी / २२ भदौ, धादिङ –
२०७२ वैशाख १२ गतेको विनाशकारी भुकम्प पछि ठप्प रहेको तातोपानी नाका पुर्ण रुपमा खुल्न नसक्दा त्यसको प्रत्यक्ष असर धादिङ कारागारमा समेत परेको छ । कारागारका कैदीबन्दीले बनाएका बाँसका हस्तनिर्मित सामानर मुढाहरु प्रत्येक वर्ष तातोपानी नाका हुँदै चीनको सीमावर्ती बजार खासा गरिदै आएकोमा तातोपानी नाका ठप्प हुँदा अहिले हजारौँ मुढाहरु विक्ति नभइ कारागारमै थन्किएका छन् ।
कारागारमा कैदीवन्दीहरुले सामुहिक रुपमा मिलेर तयार गरेको मुढाहरु विक्री गर्ने ठाउँ नपाउदा अहिले भण्डार गरेर राख्न पनि समस्या भएको छ । भुकम्पपछि चीन प्रवेश गर्ने नाकाहरु ठप्प हुदाँ धादिङ कारागारका कैदीवन्दीले बुनेको ४ हजार मुढाहरु कारागारमा नै थन्किएको हुन् । हरेक तीनतीन महिनामा चीन निकासी हुने गरेको मुढा लामो समयसम्म थन्काएर राख्नुपर्दा ढुसी पर्न थालेको जिल्ला कारगार धादिङले जनाएको छ ।
‘जिल्ला कारागार धादिङमा तयार भएको मुढा चीनमा निर्यात गरिन्थ्यो तर चीन तर्फ जाने बाटो अवरुद्ध भएदेखि जिल्ला कारागार धादिङका कैदिबन्दिले बुनेका मुढाहरु कारागारमा थन्किएर ढुसी आउन थालेको छ ।’ जिल्ला कारागार धादिङका प्रमुख चिरन्जीवी गौतमले भने, ‘भुकम्पपछि सवै नाकाहरु अवरुद्ध भएकाले पछिल्लो समय मुढा निर्यात हुन सकेको छैन ।’
भुकम्प अघि सिन्धुुपाल्चोकको तातोपानी नाका हुँदै चीन पठाउने गरिएको भएपनि त्यहाँको बाटो बिग्रिएपछि रसुवा हुँदै नियार्त गर्ने गरिएको थियो तर अहिले रसुवाबाट पनि चीन जाने बाटो पहिरोको कारण बन्द भएको छ जसको कारण अहिले यहाँ कैदिबन्दिले बुनेका ४ हजार भन्दा बढी मुढाहरु यसै थन्किएका छन् । स्थानिय बजारमा खासै विक्री नहुने भएकाले कैदीवन्दीले बुनेका मुढाहरु कारागारमै थन्किएका हुन् । कारागारका कैदीवन्दीले बनेको मुढा राम्रो बलियो र गुणस्तरीय हुने भएपछि विगतका वर्षहरुमा चीनवाटै ब्यापारीहरु गाडी लिएर धादिङ कारागारसम्म आइपुग्थे ।
जेलर गौतमले भने, ‘हामीले बाहिर पठाउने बाटो खोजिरहेका छौँ, बाटो सुचारु हुने बित्तिकै मुढा चीन नै निर्यात हुन्छ ।’ जिल्ला कारागार धादिङमारहेका कैदिबन्दिहरुलाई आम्दानीको राम्रो स्रोत बनेको मुढा बनाउन ब्यवसाय निकासी ठप्प हुँदा अहिले संकट उत्पन्न भएको छ । मुढाको निर्यात हुननसके पनि मुढा बुन्ने काम भने रोकिएको छैन । कैदीवन्दीहरुले सामान्यतया मान्छे बस्ने मुढा तयार गरेपनि अर्डर अनुसार ठुलाठुला डाइनिङ टेवलको रुपमा प्रयोग गर्न मिल्ने मुढाहरु पनि बनाइने कागागारका एक कैदीले बताए । जिल्लामा कार्यलय प्रमुखहरुको रुपमा आउने सरकारी प्रशासकहरुले सरुवा भएर जाँदा कारागारका कैदीबन्दीले बाँस कै प्रयोगबाट बनाइएका डाइनिङ टेवलहरु धादिङको चिनो स्वरुप खरिद गरेरै लैजाने गरेको उनले बताए ।
मुढा बुन्नका लागि आवश्यक पर्ने बाँस, डोरी लगायतका सामाग्रीहरु भने झापाबाट आयात हुने गर्दछ । जिल्ला कारागार धादिङमा रहेका १ सय ९३ जनामध्ये करिव १ सयजना कैदिबन्दिहरु सामुहिक रुपमा मुढा बुन्ने काम गर्दछन् । उनीहरुले दिनभर मुठाबुन्ने, बासको सिन्का काट्ने, मुढा उठाउने, सिक्री हान्ने, तान बनाउने, बुट्टा भर्ने, विट बनाउने, पिध बान्ने र रंगहरु लगाउने लगाएका विभिन्न कार्यहरु गरि संयुक्त रुपमा मुठा तयार पार्ने गर्दछन् । ‘सवै मिलेर मुढा बनाउन दिनको १ सय ५० वटा सम्म मुढा बन्ने गरेको छ ।’ ज्यानमुद्धामा कैद सजाय भोगिरहेका एक कैदीले भने ।
कैदीवन्दीहरुको मुढा बुन्ने कामले जिल्ला कारागार धादिङलाई भने केदीवन्दीहरुको चाप ब्यवस्थापनमा समेत सजिलो भएको छ । जम्मा ३५ जनाक्षमताको जिल्ला कारागार धादिङमा अहिले १ सय ९५ जना कैदीवन्दीहरु छन् । त्यसमध्ये १ सयजति कैदीवन्दीहरुले मुढाबुन्ने काममा लाग्दा कारागारको चापब् यवस्थापनमा थोरै भने पनि सहज जेलर गौतमले बताए ।
दिनभर मुढा बुन्ने कार्यमा लाग्दा बन्दिजीवन विताउँदा हुने मानसिक तनाब कम हुने, र कामबाट आएको रकमले घरखर्च पनि चलाउन सहज हुने भएपछि धेरैजसो कैदीवन्दीहरु मुढा बुनेर दिनविताउछन् । मुढा बुन्दै गरेका एक बन्दिले भने, ‘मुढाबुन्ने कामगर्दा बन्दिजीवन बिताउदा हुने तनाब कम हुन्छ, जेलमा बस्नुप¥यो भनेर नकारात्मक भाव आउदैन, ध्यान काममा नै जान्छ । एकोहोरो काममा लागिरहदा बाहिर दुनियामा गएर काम गरेजस्तो महशुस हुन्छ र अर्को कुरा मुढा बुन्दा अलिकति भनेपनि पैसा कमाइ हुन्छ ।’