Thu. Mar 6th, 2025

कांग्रेस र माओवादीबीचको गठबन्धन ‘रिमोट कन्ट्रोल’बाट चलेको छ :ओली

kp-oli4

२६ साउन धादिङ –  नेकपा (एमाले) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र माओवादीबीचको गठबन्धन ‘रिमोट कन्ट्रोल’बाट चलेको भन्दै उनीहरुको हप्की–दप्कीबाट एमाले नहच्किने नदच्किने दाबी गरेका छन् ।

प्रेस चैतारी नेपालले एमाले मुख्यालय धुम्वाराहीमा बुधबार आयोजना गरेको विशेष अन्तरसम्बाद कार्यक्रममा बोल्दै यस्तो दाबी गरेका हुन् । ‘कांग्रेस–माओवादी क–कसको रिमोटबाट चल्छन् भन्ने एमालेलाई थाहा छ,’ उनले भने, ‘त्यसैले अलिअलि च्यानल चेन्ज गर्दा एमालेलाई केही फरक पर्दैन ।’

पूर्व प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले विभिन्न देशमा सिफारिस गरेका राजदूत नियुक्तिको निर्णयलाई उल्ट्याउने काम गरेर माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले संवैधानिक कानुन विपरित काम गरेको आरोप लगाए । ‘राजदूतले बेठिक काम गरे भने फिर्ता बोलाउन सकिन्छ । मन परेन भने बेठिक काम गरे भन्ने आरोप पनि लगाउन सकिन्छ,’ उनले भने, ‘तर, सुनुवाईकै क्रममा रहेका राजदूतलाई मन्त्रीपरिषद्ले जुन ढंगको निर्णय गरेको छ । यो अराजनीतिक, प्रतिशोधपूर्ण र बेठिक छ ।’ उनले राजदूतका सन्दर्भमा माओवादी नेतृत्वको सरकारले गरेको निर्णयलाई च्यानल चेन्ज गरेको संज्ञा दिए ।

प्रचण्डले निवेदन दिए सुझाव दिन्छु
अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले मुलुकलाई कसरी संवृद्ध बनाउन सकिन्छ भनेर आफूलाई लिखित निवेदन दिए वा सुझाव मागे आफू दिन तयार रहेको दाबी गरे । ‘देश संवृद्ध बनाउने योजना एमालेसँग छ,’ उनले भने, ‘ प्रचण्डले मुलुकलाई कसरी संवृद्ध बनाउन सकिन्छ भनेर आफूलाई लिखित निवेदन दिए वा सुझाव मागे म दिन तयार छु ।’

संवैधानिक र राजनीतिक रिक्तताको स्थिति सिर्जना गर्ने षडयन्त्र
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र माओवादीले संवैधानिक र राजनीतिक रिक्तताको स्थिति सिर्जना गर्न खोजेको अरोप लगाए । ‘माओवादी मेरो नेतृत्वकै सरकारमा रहेका विभिन्न तहका निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो,’ ओलीले भने, ‘मंसिरमा स्थानीय, वैशाखमा प्रदेशिक र अर्को मंसिरमा संसदीय निर्वाचन गर्ने कार्यतालिका बनाइएको थियो ।

अहिले ती सबै निर्वाचन समयमा नगरेर संवैधानानिक र राजनीतिक रिक्तताको अवस्था सिर्जन गर्ने षडयन्त्र भैरहेको छ । तर, एमाले ती षडयन्त्रलाई असफल बनाउँछ ।’उनले संवैधानिक र र राजनीतिक रिक्तता देशको भविष्यसँग पनि जोडिएको भन्दै त्यसता षडयन्त्रलाई असफल बनाउँन सबै नेपाली लाग्नु पर्नेमा जोड दिए ।

देशलाई द्वन्द्वमा लैजाने षडयन्त्र
केपी ओलीले देशलाई द्वन्द्वमा लैजाने षडयन्त्र भैरहेको पनि आरोप लगाए । ‘देशलाई उचित दिशातिर लैजाने काम एमाले नेतृत्वको सरकारले गर्दै थियो,’ उनले भने, ‘तर, अहिले देशलाई उचित दिशतिर भन्दा पनि द्वन्द्वमा लैजान खोजिएको छ । देशलाई असफलतारित लैजान खोजिएको छ । यो देशका लागि पनि दूर्भाग्यपूर्ण कुरा हो । ’

सरकार बनेपछि छक्क लाग्यो
पूर्वप्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले गेरका निर्णयलाई प्रचण्ड नेतृत्वको सरकारले आफ्नो निर्णय भन्दै गरेका निर्णयको पनि आलोचना गरे । ‘मधेस आन्दोलनमा मृत्यु भएकाहरुलाई १० लाख क्षतिपूर्ति दिने निर्णय म प्रधानमन्त्री भएको बेला गरिएको हो,’ उनले भने, ‘अहिले प्रचण्डजीले फेरि १० लाख दिने निर्णय गरेछन् । मलाई अचम्म लाग्यो । ओलीले आन्दोलनका क्रममा घाइत भएकाहरुको उपचार खर्च र मृतकका परिवारलाई दिने खर्च केही दलले उनीहरुलाई होइन पार्टीलाई दिनुपर्छ भनेको र आफूले व्यक्तिलाई दिएको पनि खुलासा गरे । ‘उहाँहरुले आन्दोलनका क्रममा मृत्यु भएका र घाइतेलाई राज्यले दिने रकम पार्टीलाई दिनुपर्छ भन्नुभएको थियो । सरकारले व्यक्ति र परिवारलाई दिएपछि उहाँहरु रिसाउनु भएको थियो ।’ ओलीले पार्टी मरेको वा पार्टीको हातखुट्टा नभाँचिएकाले जसको मृत्यु भयो जो घाइते भए उनीहरुको परिवार र उनीहरुलाई दिएको दाबी गरे ।

केपी ओलीले कुचो र नाङ्लो लगेन
ओलीले प्रधानमन्त्री निवास छाड्दा केपी ओलीले नाङ्लो लग्यो, कुचो लग्यो भनेर समाचार छापेको भन्दै आक्रोस व्यक्त गरे । ‘ओली समय भन्दा अघि नै छाड्ने व्यक्ति हो,’ उनले भने, ‘बालुवाटार छाड्दा ओलीले कुचो र नाङ्लो लग्यो भन्दै अर्कै कुनै ठाउँको दृष्यलाई बालुवाटारको भान्छाघर भनेर छापे । कठैवरा उनीहरुलाई देख्दा दया लाग्छ । ’

नेपालविरुद्धको षडयन्त्र
ओलीले अहिले कांग्रेस–माओवादी नेपालविरुद्धको षडयन्त्रमा लागेको आरोप लगाए । ‘अहिले केपी ओलीलाई कमजोर बनायो भने नेकपा एमाले कमजोर हुन्छ । नेकपा एमाले कमजोर भने मुलुक कमजोर हुन्छ भन्ने ध्याउन्नमा केही साथीहरु लागेका छन्,’ उनले भने, ‘एमाले कसैले लगाएको लिस्नो चढेर आएको पार्टी होइन । सबैलाई हेक्का होस् । देशलाई दूरगामी असर पर्ने काम गर्न एमालेले कुनै हालतमा दिने छैन ।

About The Author

अन्य समाचारहरु: