रबिना पौडेल / २६ साउन, धादिङ – छोराहरु काम नगर भन्छन्, यसै चुप लागेर बस्नै मन लाग्दैन, बलको काम त गर्न सक्दिन, सुतेर बस्नुभन्दा अलिअलि काम त गर्नै प¥यो, उमेरले ७९ लागेकी कोइली कुमारी खान ठकुरीलाई के गर्दै हुनुहुन्छ भनेर सोध्ने सबैलाई यहि जबाफ दिन्छन् ।
धादिङको नीलकण्ठ नगरपालिका – ४ अल्छिडाँडाकी कोइली कुमारी थोत्रो प्लाष्टिक, चाउचाउ बिस्कुटको खोल, मकैको खोस्टा, बाबियो लगायत बोराको धागोबाट बिभिन्न सामाग्री निर्माण गरिरहेकी हुन्छिन् । ढक्की, चकटी, झोला जस्ता सामाग्री तयार पारेर उनले उपहार स्बरुप आफन्त तथा साथीभाईलाई दिने गरेकी छन् ।
उनी भन्छिन्, ‘ सक्ने भए त खेतबारीमा नै काम गर्न जान्थे, बाहिर काम गर्न सक्दिन त्यै भएर तुनतुन गरिरहन्छु, चुप लागेर बस्नु भनेको ज्यानमा रोग पाल्नु हो, यो बनाएर बेच्यो भने अलिअलि पैसा समेत आउछ ।’ आफुले तयार पारेको सामानहरु आफन्तलाई कोसेली पठाउने, पुरोहितलाई दान दिने र बाँकी भएको बिक्रि समेत गर्ने गरेको कोइली कुमारी बताउछिन् ।
खेर जाने सिमेन्टिका बोरा र वातावरण प्रदुषण गर्ने चाउचाउ बिस्कुटका प्लास्टीकहरुको सदुपयोग पनि हुन्छ, धेरै दुःख गर्नु पनि पर्दैन, थोरै लगानी र मेहनतमा ज्यादै राम्रा राम्रा चकटि ढक्की तयार हुने उनी सुनाउछिन् । कोइली कुमारी भन्छिन्–‘ बुनेका ढकीहरु बेच्नु भन्दा पनि धेरै उपहार दिने गरेको छु ।
कर्ममा नै दुःख गरेर खान लेखेको भएर पनि होला छोराछोरीले नगर्नु भने पनि काम गर्नु मन लाग्छ ।’ प्रयोग गरेर फ्यालेको चाउचाउ, बिस्कुट, तेल आदिका प्लास्टिकले बाबियोलाई बेरेर सिमेटिको बोराको धागोले बुट्टा समेत बनाउने गरेकी छिन् । ऊनको धागो र कहिल्यकाही बाबियो किन्नु पर्ने बाहेक केही अरु लगानी नहुने ठकुरीको भनाई छ ।
उनीले बुनेको झोला ३५० देखि ४०० सम्ममा, चकटि, किस्ति, ढकिया आदिलाई १५० देखि ३०० सम्ममा बेच्ने गरेकी छिन् । उनी ३ छोरा र ४ छोरीका आमा हुन् । उनी कान्छो छोरासँग बस्छिन् । उनको पनातिपनातिनी पनि छन् । ७९ वर्षको उमेरमा पनि उक्तिकै फुतिलो र जाँगरिलो दखिन्छिन् । उनी बाट धेरै प्रेरणा लिन सकिन्छ ।