शंकर श्रेष्ठ
२१ पुष, धादिङ
नेपालको राष्ट्रिय गौरबको योजनाको रुपमा चर्चा गरिएको बुढी गण्डकी जलविद्युत परियोजना इच्छा शक्ति भएमा नेपाल सरकारले नै लगानी गरेर निर्माण गर्न सक्ने सरोकारवालाहरुले बताएका छन् ।
आफ्नो आठौ वर्ष प्रवेशको अवसरमा रेडियो धादिङले धादिङबेसीमा आयोजना गरेको बुढिगण्डकी जलविद्युत आयोजना किन, कसरी र कहिले विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । नेपालको आर्थिक विकासको लागि बुढिगण्डकी जलविद्युत आयोजनाले महत्वपूर्ण योगदान रहने नेपाली काग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले बताउनुभएको छ । आयोजना निर्माणको क्रममा जस्तोसुकै चुनौती आइपरेपनि त्यसको समाधान गरेर आयोजना सम्पन्न गर्नुपर्ने श्रेष्ठले बताउनुभयो ।
रेडियो धादिङको वार्षिक उत्सबको अबसरमा आयोजित कार्यक्रममा पूर्व अर्थसचिब कृष्णहरी बास्कोटाले बुढिगण्डकी आयोजना निर्माणको लागि पैसाको कुनै अभाव नरहेको स्पष्ट पार्नुभयो । नेपालमा हरेक वर्ष ५० अरबको हाराहारीमा बजेटको वृद्धि भइरहेको सम्झाउनुहुँदै बास्कोटाले यस्तो बजेटको बृद्धि नियमित हुने र राजनीतिक इच्छा शक्ति भए नेपालकै लगानीमा आयोजना नेपालकै लगानीमा सम्पन्न गर्न सकिने स्पष्ट पार्नुभयो ।
त्यस्तै सभाषद एवं पूर्व स्थानीय विकास मन्त्री राजेन्द्रप्रसाद पाण्डेले बुढिगण्डकी जलविद्युत आयोजना सम्पन्न गर्नका लागि मैले के पाउने होइन हामीले के पाउने भन्ने प्रवित्तिलाई पछ्याउनुपर्ने बताउनुभयो ।
एमाले नेता एवं पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधरले कोही कसैले आयोजना आवश्यक हुँदैन भन्ने कुरा गर्न सक्ने भन्दै त्यस्ता कुराको खबरदारी गर्नुपर्ने जिकिर गर्नुभयो ।
अन्तरक्रियामा सभाषदहरु गुरुप्रसाद बुर्लाकोटी, धनबहादुर घले, परशुराम तामाङ, पूर्व जलश्रोत राज्य मन्त्री ठाकुरप्रसाद शर्मा लगायत राजनीतिक दलका नेताहरुले आयोजना सम्पन्न गराउन आफुहरु सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
परियोजनाबाट धादिङ र गोरखाका २७ गाविसका २५ हजार घर पुनरबास गर्नु पर्ने र ६५ हजार रोपनी जग्गा डुबानमा पर्ने बुढी गण्डकी जलविद्युत परियोजना विकास समितिका अध्यक्ष डा. लक्ष्मीप्रसाद देबकोटाले जानकारी दिनुभयो ।
उत्पादन र लागतलाई हेर्दा सात वर्षमा लगानी उठ्ने र बाँकी समय जति उत्पादन भएपनि सबै नाफा हुने जानकारहरुले बताएका छन् । आयोजना निर्माण स्थलमा फेवाताल भन्दा १५ गुणा ठूलो ताल बन्ने भएकाले नेपाललाई पर्यटन क्षेत्रबाट विद्युत उत्पादन भन्दा बढी नाफा हुने सरोकारवालाले देखेको औल्याएका छन् ।
आयोजनाले धादिङ र गोरखाको विकास र सम्भावनाको ढोका खोल्ने भएपनि अहिलेको समस्या बुझिदिन प्रभावित क्षेत्रका बासिन्दाहरुले सरकारसंग आग्रह गरेका छन् । डुवान क्षेत्रका स्थानीयहरुले उचित क्षतिपूर्ति माग गरेका छन् । आयोजनाबाट वार्षिक रुपमा ३ सय ३८ करोड युनिट विद्युत उत्पादन हुनेछ ।
कार्यक्रममा रेडियो धादिङ संचालक समितिका अध्यक्ष गोपाल तिवारी, सामुदायिक रेडियो प्रशारक संघका बरिष्ठ उपाध्यक्ष किशोरजंग थापा, महासचिव गोविन्द देवकोटा, कोषाध्यक्ष सुवास खतिवडा लगायतले बुढि गण्डकी जलविद्याुत आयोजनाको बारेमा आ आफ्नो धारणा राख्नुभएको थियो ।