२४ साउन, धादिङ – रियो ओलम्पिक २०१६ की सबै भन्दा कान्छी खेलाडी नेपालकी गौरिका सिंह ओलम्पिक पौडी अन्तर्गत एक एस मिटर ब्याकस्ट्रोकको प्रारम्भीक चरणबाटै बाहिरिएकी छन् ।
आइतबार राति भएको प्रारम्भीक चरण ‘हिट’ मा उनी ३४ जना प्रतिस्पर्धीमा ३१ औं स्थानमा रहिन् । उनले एक सय मिटरको दूरी एक मिनेट ८ दशमलव ४५ सेकेण्डमा पूरा गरिन् । ३४ खेलाडी रहेको स्पर्धामा गौरिका सामोआकी एभेलेनी अफोआ र कोशोभोकी रिटा जेकिरीसँगै ‘हिट १’ मा प्रतिस्पर्धा गर्ने थिइन् ।
आफू रहेको समूह ‘हिट १’ मा भने गौरिक पहिलो भइन् । सामोआकी अफोआले एक मिनेट ८ दशमलव ७४ तथा कोशोभोकी जेकिरीले एक मिनेट १२ दशमलव ३१ सेकेण्डमा दूरी पूरा गरिन् ।
शीर्ष १६ मा रहने खेलाडी अर्को चरणका लागि छनौट भएका छन् । एक मिनेट शुन्य दशमलव ८९ सेकेण्डसम्ममा दूरी पूरा गर्ने खेलाडी अघिल्लो चरण प्रवेश गरेका छन् ।
गौरिकाले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्ने लक्ष्य राखेकी थिइन् । गौरिकाले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद सागमा राष्ट्रिय कीर्तिमान बनाउँदै एक रजत र तीन कास्य पदक जितेकी थिइन् ।
त्यसअघि दक्षिण एसियाली खेलकुदको व्यक्तिगत स्पर्धामा नेपाली खेलाडीले पदक जित्न सकेका थिएनन् । उनले यो स्पर्धामा एक मिनेट ७ दशमलव ३१ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएर कास्य जितेकी हुन् ।