२३ साउन, काठमाडौं – एमालेको प्रदेश कमिटी गठन अलपत्र परेको छ । स्थायी समिति बैठकले पाँच सय नेता–कार्यकर्तालाई प्रदेशमा जिम्मेवारी दिने निर्णय गरे पनि संयोजक चयनमा विवाद देखिएपछि कमिटी गठन अलपत्र परेको हो ।
स्थायी समितिको ६ असारमा बसेको बैठकले प्रदेश कमिटी गठनको निर्णय गरेको थियो । त्यसपछिको बैठकमा संस्थापन र वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरूबीच संयोजक चयनमा विवाद भएपछि प्रदेश कमिटीले अझै पूर्णता पाएका छैनन् ।
उपाध्यक्षहरूको दाबी
प्रदेश संगठन कमिटीको संयोजक र सचिव छनोट गर्न बाँकी छ । संयोजकमा उपाध्यक्षहरू वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीमबहादुर रावलले दाबी गरेका छन् । ११ असारमा बसेको स्थायी समिति बैठकमा उनीहरूले संयोजक दाबी गरेका थिए ।
‘विकास क्षेत्र नरहेपछि उपाध्यक्षहरूले विगतमा जस्तै भूमिका पाउनुपर्छ भन्ने कुरा हामी सबै ९उपाध्यक्ष०ले बैठकमा राखेका हौँ,’ उपाध्यक्ष युवराज ज्ञवालीले भने । त्यतिवेला तीन उपाध्यक्ष मात्र नेपालनिकट रहे पनि अहिले गौतमसमेत नेपालसँग नजिकिएका छन् ।
उपाध्यक्षलाई अनुगमनकर्ता बनाउन प्रस्ताव
संस्थापननिकट नेताहरूले सातवटै प्रदेशमा पदाधिकारीमध्ये उपाध्यक्ष, महासचिव र उपमहासचिवलाई अनुगमनकर्ता बनाउन सकिने विकल्पको प्रस्ताव गरेका छन् । विकास क्षेत्र हेरिसकेका उपाध्यक्ष घटुवा भएर जानेभन्दा पदाधिकारीहरू सबैले अनुगमनको जिम्मा लिँदा उपयुक्त हुने प्रस्ताव आफूले राखेको सचिव गुरुङले जानकारी दिए ।
‘उपाध्यक्ष र स्थायी समिति सदस्य दुवैमध्ये कसलाई संयोजक बनाउने भन्ने फरक–फरक बुझाइ छ, तर मैले पदाधिकारीहरू सचिवालय छाडेर तलको जिम्मेवारीमा नजाँदा उपयुक्त हुन्छ भन्ने मेरो भनाइ हो,’ गुरुङले भने । संयोजक र अनुगमनकर्ताको व्यवस्था गर्दा सन्तुलन मिल्ने संस्थापननिकट नेताहरूको दाबी छ ।
संस्थापन पक्षका नेताहरूले प्रदेश १ मा सुवास नेम्वाङलाई संयोजक बनाएर उपाध्यक्ष अष्टलक्ष्मी शाक्य वा महासचिव ईश्वर पोखरेललाई अनुगमनकर्ता, २ मा सत्यनारायण मण्डललाई संयोजक र उपमहासचिव घनश्याम भुसाललाई अनुगमनकर्ता, ३ मा सुरेन्द्र पाण्डे संयोजक तथा अष्टलक्ष्मी शाक्य वा ईश्वर पोखरेललाई अनुगमनकर्ता बनाउने प्रस्ताव गरेका छन् ।
त्यस्तै, प्रदेश ४ मा किरण गुरुङ संयोजक र उपमहासचिव विष्णु पौडेल अनुगमनकर्ता, ५ मा शंकर पोखरेल संयोजक र उपाध्यक्ष वामदेव गौतम अनुगमनकर्ता, ६ मा मुकुन्द न्यौपाने संयोजक र उपाध्यक्ष युवराज ज्ञवालीलाई अनुगमनकर्ता तथा ७ मा छविलाल विश्वकर्मा वा अन्य कोही संयोजक र उपाध्यक्ष भीमबहादुर रावललाई अनुगमनकर्ता बनाउन सकिने प्रस्ताव पनि संस्थापन पक्षका नेताहरूको छ । नयाँ पत्रिका दैनिकबाट