२१ साउन, धादिङ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नवगठित सरकारले राजदूतको सिफारिस सम्बन्धी अघिल्लो सरकारले गरेको निर्णय फिर्ता लिएको छ ।
मन्त्रिपरिषद्को शुक्रबार अपरान्ह सिंहदरबारमा बसेको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राजदूत सिफारिस सम्बन्धी निर्णय फिर्ता लिएको हो ।
ओली नेतृत्वको सरकारले वैशाखको पहिलो साता विभिन्न मुलुकमा २२ जना राजदूतको नाम सिफारिस गरेको थियो । पराराष्ट्र सेवाबाट आएका आठ राजदूतको भने कारबाही प्रक्रिया अगाडि बढ्नेछ । केपी शर्मा ओली नेतृत्वको सरकारले परराष्ट्र सेवाका ८ सहित २२ देशका लागि राजदूत सिफारिस गरेको थियो ।
परराष्ट्र सेवाबाट प्रस्तावित राजदूत सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी, ऋषिराम घिमिरे, रमेश खनाल, झबिन्द्रप्रसाद अर्याल, डा दुर्गाबहादुर सुवेदी र लोकबहादुर थापाको सुनुवाइ भइ सकेको छ । उनीहरू राजदूत हुने पक्का भएको छ ।
सिफारिसमा १४ जना राजनीतिक व्यक्ति तथा ८ जना परराष्ट्र मन्त्रालयका कर्मचारी परेका थिए। सिफारिसमा परेका परराष्ट्र मन्त्रालयका कर्मचारीको संसदीय सुनुवाई भइसकेको छ। तर राजनीतिक व्यक्तिको भने सुनुवाई हुन बाँकि थियो। मन्त्रिपरिषद्ले सुनुवाई हुन बाँकि प्रस्तावित राजदूतहरुको नाम फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।