Fri. Mar 14th, 2025

बालबालिकालाई परिवारबाट नछुटाऔँ

 hari-uprati

२०७२ साल बैसाख १२ गतेको भुकम्प र त्यस पछिका निरन्तर परकम्पले अस्तव्यसत बनाएको हाम्रो दैनिकी अझै सहज हुन सकेको छैन । हामी संग रात कटाउने सुरक्षित घर छैन, छाक टार्ने अन्न छैन । रोजगार, शिक्षा, स्वास्थ्य,  लगायतका कुरा पनि ओझेलमा परेका छन् । जसको असर बालबालिकामा परेको छ । यहि समयमा बालबालिकाहरूलाई माया, पालनपोषण र निशुल्क शिक्षाको बहानामा परिवारबाट अलग्याएर ओसारपसार गर्ने गरेको पनि पाइएको छ । घरबारविहीन बालबालिकाहरूलाई संरक्षणको बहानामा बाल गृहमा राख्ने, श्रम शोषणमा लगाउने जोखिम रहन्छ । त्यस्तै विपद्को समयमा बालबालिकाहरू यौन दुव्र्यवहार, बेचबिखन, ओसारपसार, श्रमशोषण लगायत विभिन्न  हिंसा र दुव्र्यवहारमा पर्न सक्छन्  । भुकम्प पछि जिल्लामा बालबालिकाको अवश्था र संरक्षणका लागी भइरहेका प्रयासका विषयमा जिल्ला बाल कल्याण धादिङका बाल कल्याण अधिकृत हरि उप्रती संग पाविल न्युज डट कमका अस्मिता खतिवडाले गरेको कुराकानी

भुकम्प पछि जिल्लामा बालबालिकाको अवस्था कस्तो छ ?
भुकम्प पछि बालबालिकाको कुरा गर्दा, विशेषगरी भुकम्प आउने वित्तिकै त्यसको प्रत्यक्ष प्रभाव त बालबालिकाहरुमा नै प¥यो । कसरी भने तथ्याङ्क अनुसार जिल्लामा ६ सय ८० जनाको मृत्यु भयो भन्ने जुन रिपोर्ट छ त्यसमा २ सय ४१ जना त बालबालिकाहरु नै थिए । त्यस्तै बालबालिकामा परेका अन्य समस्याहरुको कुरा गर्ने हो भने बालबालिकामा विभिन्न मनोसामाजीक समस्या पनि देखिएका छन्, कति बालबालिकाहरु ओसारपसारमा परेका उदाहरणहरु पनि छन् । त्यसैगरि मास कन्भर्सन डिसअर्डरका कुराहरु पनि आएका छन् । अर्को भन्नुपर्दा स्वास्थ्यको समस्या पनि बालबालिकामा त्यत्तिकै आएका छन् । किनभने खानेपानीको समस्या, खाद्यन्नको संकट लगायतका कुराहरुले गर्दा बालबालिकामा असर पा¥यो । अर्को कुरा चाहिं विद्यालय भवनहरु भत्किएको अवश्थामा बालबालिकाहरु विद्यालय जान सकेनन् । जस्को फलस्वरुप अन्य प्रकारका जोखिममा बालबालिकाहरु पर्न सक्ने खतरा देखा परेको थियो । उक्त समस्या चाहीं अहिले विस्तारै टर्दै गरेको अवश्था छ ।

बालबालिका ओसारपसारमा परेका उदाहरण छन् भन्ने कुरा जोड्नुभयो, ओसारपसार बढ्नुको कारण के पाउनुभयो ?
भुकम्पले अभिभावक अर्थात आमा बुबा दुवै गुमाएका बालबािलका २० जना छिन् जिल्लामा । त्यस्तै आमा वा बुबा मध्य एक जना मात्रै गुमाएका बालबालिका पनि धेरै छन्् । बालबालिकाको त्रसित मानसिकता अनि परिवारले गास, बास र कपासको न्यूनतम सुविधा समेत गुमाएको यस विषम परिस्थितिमा बालबालिकाहरूलाई सहयोग गर्ने तथा जोखिम मुक्त गराउने बहानामा विभिन्न व्यक्ति तथा निकायहरूले सहयोगको आश्वासन दिने गरिएको पाइयो । बालबालिकाहरू आफ्ना आमाबुवा तथा परिवारसँगै बस्दा जति सुरक्षित हुन्छन् त्यो भन्दा बाहिर गएपछि उनीहरू सुरक्षित रहन्छन् भन्ने कुराको अनुमान गर्न समेत गाह्रो हुने गर्दछ । अरुको लाख आमाबुवाको काख  भने जस्तै बालबालिकाहरू परिवार भन्दा बाहिर रहेर बस्दा उनीहरूले जति नै मिठो खान, राम्रो लगाउन पाए पनि आफ्ना आमा बुवाको माया तथा स्नेह पाउन सक्दैनन् जसका कारण उनीहरूमा मानसिक तनाव बढ्दै जाने सम्भावना रहन्छ ।

परिवार विहिन तथा जोखिम अवस्थामा रहेका बालबालिकाहरूलाई संरक्षण गर्न तत्काल विभिन्न संघ संस्थाहरूले इच्छा व्यक्त गर्नेे र बालबालिकाको संरक्षण गर्ने अभिव्यक्तिहरू दिएका समाचारहरू हामीले सुनेका छौं । उदाहरणका लागी भन्ने हो भने मिति २०७२ बैशाख २७ गते धादिङ जिल्लाको री र झार्लाङ गाविसबाट उचित शिक्षा दिक्षा दिने भन्दै काठमाडांै लग्दै गरेका ४५ जना बालबालिकाहरूलाई केन्द्रिय बालकल्याण समितिले नागढुंगाबाट उद्दार ग¥यो । घटनाको सूचना पश्चात जिल्ला प्रहरी कार्यालयसँगको समन्यवमा महिला तथा बालबालिका कार्यलय धादिङ, जिल्ला बालकल्याण समिती धादिङ लगायतका जिल्लामा रहेर बालबालिकाको क्षेत्रमा काम गरिरहेका विभिन्न संस्थाको पहलमा धादिङ जिल्लाको गजुरी र मलेखुमा चेकपोष्ट स्थापना ग¥यो । चेकपोष्ट स्थापना गरेको भोलिपल्ट महेन्द्र नगर लैजान लागेका २ जना बालबालिकाको उद्दार गरियो ।

बेसाहारा भनि जति पनि बालबालिकालाई तपाईंहरुको सम्पर्कमा ल्याइन्छ, उनिहरुलाइ सांच्चै बालगृहमै राख्नुपर्ने अवश्था छ भनी पहिचान कसरी गर्नुहुन्छ ?
प्रत्येक बालबालिकाको बाबुआमासँग बस्न पाउने नैसर्गिक अधिकार छ । कुनै पनि बालबालिकाहरूलाई उनीहरूको परिवार र आमाबाबुबाट अलग्याउन पाइदैन भनेर बालअधिकार महासन्धीको धारा ९ र १० ले व्याख्या गरेको छ । नेपालको बालबालिका संबन्धी नीतिले पनि बालबालिकालाई परिवारमै बस्ने, खेल्ने र हुर्कने अधिकारलाई सुनिश्चित गरेको छ । बुवाआमा तथा परिवार (हजुरबुवा, हजुरआमा, काका, काकी, मामा, माइजु) कोही पनि नभएको अवस्थामा मात्र उनीहरूलाई अन्तिम विकल्पको रूपमा मात्र राज्य वा राज्यको स्विकृतीमा संघसंस्थाहरूले सञ्चालन गरेका बालगृहहरूमा राख्न सकिन्छ । त्यसका लागी हामीले बालबालिकाको वास्तविकता खोज्छौं । परिवार, आफन्त तथा नातेदारको खाजी गर्छौ । गाऊँ विकास समितीका कार्यलय संग पनि समन्वय गछौं । अनि मात्रै बालगृहमा पठाउनका लागी सिफारिस गछौं । किनभने परिवारको कुनै एक सदस्य बाआमाको मृत्यु हुने बित्तिकै उसलाई परिवारबाट अलग गरी बालगृहमा पठाउनु हुदैन ।

बालबालिकालाई अवाञ्छित रूपमा परिवारबाट अलग्याउनु हुँदैन । जिल्ला बालकल्याण समिति, महिला तथा बालबालिका कार्यालय, नेपाल प्रहरी तथा संघसंस्थाहरूले यस्ता घटना हुन नदिन संयुक्त अनुगमन तथा आपतकालीन अवस्थामा अल्पकालीन संरक्षण गृह बनाएर आपतमा परेका बालबालिकाहरूलाई परिवारमै पुनस्र्थापना गराउने कार्य पनि सुरु गरेको छ । यसका लागि रेडियो, पत्रपत्रिका लगायतका स्थानिय मिडिया तथा संचार माध्यम मार्फत बालबालिकाको संरक्षण संबन्धी सुचना प्रवाह पनि गरिरहेका छौं । परिवारका अन्य सदस्यहरू जिवितै भएको अवस्थामा आफ्नो रीतिरिवाज, संस्कृती अनुसार परिवारमै बालबालिकालाई हुर्काउनु, बढाउनु र पढाउनु पर्छ । यसैगरि समुदायले पनि बालबालिकालाई आफ्नै समाजमा हुर्कन, पढ्न र बढ्न सहयोग गर्नु पर्छ । बालबालिकाहरु आफ्नो परिवार संगै बस्न पाउनु उनिहरुको नैसर्गिक अधिकार हो ।

बालश्रम शोषणको अवस्था चाहिं कस्तो छ ? भुकम्प पछि जिल्लामा बालश्रम शोषण बढ्यो भनिन्छ नी ?
– वास्तमा भन्नुपर्दा अहिले हामी छाक टार्न नै धौधौ परिरहेको अवश्था छौैं । त्यसैले पनि बालबालिकाका परिवारमा छोराछोरी कसरी पाल्ने र जोगाउने, हुर्काउने चिन्ता छ । तपाईले भन्नु भए जस्तो यस्तो समयमा छानो र मानोको लोभ देखाइ बालबालिकाहरूलाई श्रममा संलग्न गराउन सक्ने सम्भावना छ नभएको होइन । भुकम्प अगाडी बाल श्रम गर्नुहुंदैन भन्ने कुरामा मानिसहरु जति सचेत थिए, अहिले चाहिं सचेत भइकन पनि बाल श्रममा लगाउनुपर्ने बाध्यता अभिभावक लगायतका अन्य व्यक्तिहरुमा हुन सक्छ । यसले गर्दा बाल श्रम शोषण बढेको हुन सक्छ । तर पनि बालबालिकाको संरक्षणका लागी हामी लागिपरिरहेका छौं । जनचेतना मुलक कार्यक्रम, सडक नाटक, ¥याली, संचार माध्यमबाट सुचना तथा सन्देश प्रशारण गरिरहेका छौं । यस्तो बेला बालबालिकालाई बाआमाको संरक्षणको आवश्यकता पर्दछ । कुनै पनि बहानामा बालबालिकालाई श्रममा संलग्न गराउनु हुदैन । बालबालिकाको क्षेत्रमा काम गर्ने स्थानिय संरचना, संयन्त्र तथा संघसंस्थाहरूले पनि बालबालिकाको संरक्षणमा ध्यान दिनु पर्छ र उनीहरूलाई श्रममा जानबाट रोक्नु पर्दछ ।

 बालसंरक्षणमा बालबालिका स्वयम् पनि एक सक्रिय सरोकारवाला हुन् भन्ने कुरालाई यहाँले कसरी लिनुभएको छ ?  
– पक्कै पनि, बालसंरक्षणमा बालबालिका स्वयम् एक सक्रिय सरोकारवाला हुन् । आफ्नो संरक्षणका लागि बालबालिकाले आफूलाई कसैले गरेको व्यवहार मन नपरे तुरून्त “नाईं वा मलाई तपाईँको यो वा त्यो व्यवहार मन परेन” भन्ने गर्नुपर्छ । सुरूको अवस्थामा नै “नाईं” भन्दा कतिपय दुव्र्यवहार तथा हिंसालाई तत्कालै दुरूत्साहन गर्न सकिन्छ । साथै, बालबालिकाको पनि आफूलाई मन नपरेको कुरालाई नकार्न सक्ने गुणको विकास हुन्छ, आफूमाथि भएको दुव्र्यबहार तथा हिंसालाई साथी–सहयोग संयन्त्र वा विश्वासिलो वयस्कलाई बताउने, आफू पनि दुव्र्यवहार तथा हिंसामा नगर्ने र कुनै पनि हालतमा दुव्र्यबहार तथा हिंसा नसहने बानीको विकास गर्नुपर्छ । आफ्नो साथीहरुलाई कुनै दुव्र्यबहार तथा हिंसा भएको थाहा पाएमा तुरून्त सहयोगका लागि आफ्नो भुमिकाको पहिचान गरी साथीको सहयोगका लागि तत्पर हुनुपर्छ ।

त्यस्तै बालसंरक्षणमा बालक्लबको भूमिका पनि उत्तिकै महत्वपुर्ण हुन्छ र त्यो भूमिका बालक्लबहरुले पनि निर्वाह गरिरहेको अवश्था छ । आफ्नो समुदायमा बालबालिकामाथि हुने गरेका दुव्र्यवहार तथा हिंसाको अवस्था पहिचान गर्ने , आफू र आफ्ना साथीसंगीहरुमाथि हुन सक्ने संभाव्य दुव्र्यबहार तथा हिंसाको जोखिमहरु के कस्ता छन् भन्ने बारे विश्लेषण गर्ने लगायतका काममा बालक्लब लागि परिरहेका छन् । बालक्लबहरुले चाहिं  कुन समूह बढी जोखिममा छ ? कारणहरु के कस्ता छन् ? त्यसले के कस्तो प्रभाव पारेको छ ? लगायतका विषयमा नियमितरुपमा छलफल तथा विश्लेषण गर्ने, आफ्नो समुदाय तथा विद्यालयका बालबालिकाले आफूलाई परेको समस्या निर्धक्क भन्न सक्ने वातावरण बनाउन रणनीतिगत रुपबाट नै सबै बालबालिकासम्म सूचना तथा पहँुच निर्माण गर्ने, आवश्यकताअनुसार विश्वासिला वयस्कको सहयोग लिई रोकथाम तथा सम्बोधनका रणनीतिको पहिचान तथा निर्माण गर्ने , बालसंरक्षणबारे चेतना अभिवृद्धि गर्ने कार्यमा गर्न समुदयमा क्रियाशील संस्था एवम् निकायसँग मिलेर कार्य गर्ने, गराउने पनि गर्न सक्छन् । यसका लागी हामीले बालबालिकाको क्षमता विकास सम्बन्धी विभिन्न कार्यक्रम पनि संचालन गरिरहेका छौं ।

 अन्तमा केहि भन्नु छ ?
बाल्यकाल मानव जीवनको एकसंवेदनशिल अवस्था हो । तसर्थ बालबालिकाको संरक्षणका निमित्त सबै पक्षहरुमा विशेष ध्यान दिनुपर्दछ । घरपरिवार, विद्यालय, छर छिमेक, समाज सबै ठाँउमा बालबालिकाले संरक्षण पाउनुपर्छ । सबैबाट बालअधिकारको सम्मान हुनुपर्दछ । तर हाम्रो समाजमा धेरै बालबालिका आधारभूत अधिकारबाट बञ्चित भईरहेका छन् । जहिँकहिँ पनि बालबालिका दुव्र्यवहार, शोषणमा पर्ने गरेका घटनाहरु सञ्चारमाध्यम लगायत थुप्रै स्थानहरुमा आईरहेका छन् । यस्ता घटनाहरुबाट बच्नका लागि बालबालिका तथा किशोरकिशोरीहरु स्वयम् आफ्ना अधिकारका बारेमा सचेत हुनु जरुरी छ । बालबालिका विरुद्धमा हुने शारीरिक दुव्र्यवहार, यौन दुव्र्यवहार, भावनात्मक दुव्र्यवहार, हेपाई लगायतका कुराका बारेमा जानकार हुदै त्यसबाट आफू कसरी बच्ने र साथीसंगीलाई पनि कसरी बचाउने भन्नेबारेमा सबै सचेत हुन आवश्यक छ । यसका साथै बालबालिकालाई यस्ता दुव्र्यवहारहरुबाट बचाउनु वयस्कहरुको दायित्व हो । त्यसैले अभिभावक, घर परिवार, विद्यालय, समाज र सबै सरोकारवालाहरुले सबै ठाँउ, सबै परिस्थितिमा बालबालिकाको संरक्षणको निम्ति सजग भईरहनु पर्दछ ।

बालबालिकाको संरक्षण हाम्रो प्रमुख जिम्वेवारी हो । बालकालिकाको सम्पुर्ण अधिकारको संरक्षण तब मात्रै संभव छ जब हामी सबै एकजुट हुन्छौं । महिला तथा बालबालिका कार्यलय, जिल्ला बाल कल्याण समिती, जिल्ला प्रहरी कार्यलय, जिल्लामा क्रियाशिल संघसंस्था, विद्यालय, अभिभावक, राजनितिक दल संगै पत्रपत्रिका, रेडियो, टेलिभिजनले पनि सुचना तथा सन्देश प्रवाह गरि सहयोग गर्न सक्नुहुन्छ । अन्तमा के भन्छु भन,े भुकम्प लगायत विपदका समयमा बालबालिकाहरुलाई पढाइदिने, मिठा मिठा खोनेकुरा, राम्रा लुगा दिने जस्ता लोभ लालच देखाएर फसाउन सक्छन् । सचेत रहौं ।

About The Author

अन्य समाचारहरु: