१६ साउन, बनेपा – नेकपा(एमाले) का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले नयाँ सरकारमा जाने सम्भावना कम रहेको बताएका छन् ।
काभ्रेपलाञ्चोकको दोलालघाटमा दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै नेता नेपालले एमाले तुरुन्तै सरकारमा जाने सम्भावना नै नदेखेको बताए ।
उनले काँग्रेस, एमाले र माओवादी केन्द्र मिलेर मात्रै अप्ठेरो बेलामा संविधान कार्यान्वयन गर्न, विभिन्न तीन तहको चुनाव गराउन र आवश्यक परे संविधान संशोधन गर्नसमेत दुई तिहाई पुग्ने भएकाले आपसी विश्वास र सहकार्य आवश्यक भएकामा जोड दिए ।
उनले २०७४ माघ ७ गतेसम्म स्थानीय, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन नभए मुुलुकमा संवैधानिक सङ्कट आउने उल्लेख गरे । गाउँपालिकाको स्वरुप गलत भएको टिप्पणी गर्दै नेता नेपालले भने – “एउटा गाउँ सानो हुन्छ, नगरको कुनै पूर्वाधार छैन यस्तो अवस्थामा कसरी गाउँपालिका हुन्छ ?’
अब बन्ने नयाँ सरकारले विगतको सरकारले गरेको सन्धि सम्झौता लागू गर्न आग्रह गर्दै उनले काठमाडौँ–निजगढ फास्ट ट्र्याकलाई नेपाल आफैंले निर्माण गर्नुपर्ने बताए ।