Tue. Nov 26th, 2024

जिल्ला अस्पताल धादिङमा प्रसुति गराउनेको संख्या बढ्यो

district hospital dhading
अस्मिता खतिवडा / १३ साउन, धादिङ – जिल्ला अस्पताल धादिङमा प्रसुति गराउनेहरुको संख्यामा वृद्धि भएको छ ।
सुरक्षित रुपमा बच्चा जन्माउने उद्देश्यले आमा सुरक्षा कार्यक्रम लागु भएपछि अस्पतालमा बच्चा जन्माउने आमाहरु बढेका हुन् । आर्थिक वर्ष ०७२/०७३ मा ८ सय ३९ जना गर्भवतीले अस्पतालमा आएर सुरक्षित रुपमा बच्चा जन्माएका छन् । यो संख्या आर्थिक वर्ष ०७०/०७१ को तुलनामा ८९ जनाले बढि हो ।

जिल्ला अस्पताल धादिङका मेडिकल रेकर्डर सुपरभाइजर विनोद दाहालका अनुसार आर्थिक वर्ष २०६७/०६८ मा ४ सय ८५ जना, ०६८/६९ मा ४ सय ७३ जना, ०६९/७० मा ५ सय २९ जना, ०७१/७२ मा ६ सय १८ जना र ०७२/०७३ मा ८ सय ३९ जनाले सुरक्षित प्रसुति सेवा लिएका छन् ।

यसरी हेर्दा अस्पतालमा आइ सुत्केरी हुने आमाहरुको संख्या क्रमश बढ्दो छ । निशुल्क सुरक्षित प्रसुति सेवा, न्यानो कपडाहरु र यातयात खर्च समेत पाइने भएपछि महिलाहरु सुत्केरी हुन अस्पतालमा आउन उत्साहित हुन थालेका छन् । स्वास्थ्य संस्थामा आएर प्रसूति गराउने महिलालाई प्रोत्साहन स्वरुप १ हजार रुपैयाँ बाटो खर्च, निशुल्क प्रस्तुतीको सेवा नियमित गर्भजाँच, आईरन चक्की खाने र टिटी सुई लगाउने सुत्केरी सेवा उत्प्ररेणा भत्ता थप ४ सय दिने व्यवस्था रहेको जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन रसिला अमात्यले जानकारी दिइन् ।

अमात्यका अनुसार मातृ मृत्युदर र नवजात शिशु मृत्युदरमा कमी ल्याउन प्रोत्साहन कार्यक्रम सञ्चालन भएको र सर्वसाधारणमा चेतनाको विकास हुँदै गएपछि स्वास्थ्य संस्थामा गएर गर्भवती जाँच गराउने र सुत्केरी गराउने आमाहरुकोे सङ्ख्या बढ्न पुगेको हो । आर्थिक वर्ष ०७२/०७३ मा अस्पतालमा सुत्केरी हुन आएका ८ सय ८६ जना मध्ये ४८ जनालाई भने अन्यन्त्र रिफर रिफर गरिएको छ भने अन्यन्त्रबाट रिफर भएर ७ जना जिल्ला अस्पताल धादिङमा आएका छन् ।

स्वास्थ्यकर्मीको निगरानीमा सुत्केरी गराउने क्रम बढेपछि बाल मृत्युदरमा पनि कमी आएको जिल्ला अस्पताल धादिङले जनाएको छ । आर्थिक वर्ष ०७२/०७३ लाई हेर्दा जिल्ला अस्पताल धादिङमा सुत्केरी गराउन आउने मध्ये मातृ मृत्युदर शुन्य देखिएको छ भने बालमृत्युदर ० दशमलब २४ प्रतिशत रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यलय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक जिवन कुमार मल्लले भने– “आमा र शिशुको स्वास्थ्यका विषयमा सचेत बनेपछि अस्पताल तथा स्वास्थ्य संस्थामा प्रसुती गराउनेको संख्या बढेको हो । सरकारी सूचीकृत स्वास्थ्य संस्थामा प्रसूति हुन आउनेलाई आमा र नवजात शिशुको स्याहार सुसारमा सहयोग पु¥याउने उद्देश्यले सरकारले नै न्यानो झोला उपहार दिने कार्यक्रम समेत ल्याएको छ । जसले स्वास्थ्य संस्थामा सुरक्षित प्रसुती गराउनेको संख्यामा वृद्धि भएको छ ।” उपहारस्वरुप दिइने न्यानो झोलामा आमालाई एक जोर लुगा, बच्चालाई टोपी, मोजा, ¥यापर र नेम्फिन दुई/दुई जोरको व्यवस्था गरिएको छ । यो कार्यक्रमले एकातिर स्वास्थ्य सुरक्षा प्रदान गर्ने र अर्कातिर जनचेतना अभिवृद्धि गर्न पनि सघाउ पु¥याएको स्वास्थ्य कार्यालयको विश्वास छ ।

मल्ल भन्छन्– “कार्यक्रमको प्रभावकारिता राम्रो देखिएको छ, प्रसूति केन्द्रमा आएर सुत्केरी हुने आमालाई थप प्रोत्साहन मिलेको छ ।” जिल्लामा अहिले जिल्ला अस्पताल धादिङ संगै ६७ वटा वर्थिङ सेन्टर, ४९ वटा स्वास्थ्य चौकी र २ वटा प्राथमिक स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसूति सेवा सञ्चालनमा रहेका छन् । सबै केन्द्रमा दक्ष र तालिमप्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति सेवा प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: