अस्मिता खतिवडा – “समय तू धीरे–धीरे चल, सारी दुनियाँ छोड के पीछे आगे जाउँ निकल” भन्ने हिन्दी गीतमा समयलाई विस्तारै हिंड्न अनुरोध गरिएको छ तर यसलाई चरितार्थ गर्ने कला हाम्रो हातमा छ । अर्थात् समयलाई व्यवस्थित गर्न सकियो भने यसलाई मुठीमा कैद गर्न सकिन्छ अन्यथा यो सदैव बालुवाझैं हाम्रो मुठीबाट चिप्लिरहन्छ । त्यसैले समयको व्यवश्थापन हामी सबैका लागि अति आवश्यक छ । अहिले धादिङका अधिकांश साुमदायिक विद्यालयहरु बन्द छन् । ठुला कक्षा अर्थात कक्षा ८, ९, १० मा पढ्ने बालबालिकाहरुका लागि अतिरिक्त कक्षाको व्यवश्था गरिए पनि स–साना कक्षामा अध्ययनरत विद्यार्थीहरु यतिबेला फुर्सदको समयमा छन् । मतलब विद्यालयमा हुने पढाईको समयबाट फुर्सदिलो छन् ।
मैले रेडियो धादिङमा बालबालिकाको क्षेत्रमा सम्बन्धीत रहेर कार्यक्रम चलाउँदै आऊँदा पनि बालबालिकाको बारेमा धेरै कुरा बुझ्ने मौका पाएकी छु । मैले बुझे अनुसार बालबालिका र मनोरञ्जन एकापसका परिपूरक शब्द नै हुन् । भनिन्छ, एक बालक हरेक ७ मिनेटमा चल्न र चटपटाउन चाहन्छ, खेल्न र रम्न चाहन्छ । हुन त खेल्न खोज्नु, रमाउन खोज्नु तथा चकचक गर्नुलाई एउटा स्वस्थ बच्चाको गुण नै मानिन्छ । तसर्थ, बालबालिकालाई मानवको अति मनोरम काल पनि भनिन्छ । बालबालिकाहरुका लागि बिदाको समय नयाँ कुरा सिक्ने, नयाँ ठाउँ घुम्ने अनि थुप्रै अतिरिक्त कामहरू गर्ने अवसर हो । स्कूलको समय कोर्सको पुस्तक पढ्न र गृहकार्यमै बित्छ । आफूलाई मन पर्ने अतिरिक्त काम, घुमफिर वा मनोरञ्जनका लागि समय नै मिल्दैन । त्यसैले, धेरैजसोले बिदाको समयमा अबेरसम्म सुत्ने, मज्जाले घुम्ने, फिल्म हेर्ने, अनलाइन गेम खेल्ने जस्ता विभिन्न योजना बनाउने गरेको पाइन्छ । तर, बिदाको समय साँच्चै मनोरञ्जनपूर्ण, फलदायी र सम्झनयोग्य बनाउने हो भने केही कुरामा ध्यान दिनैपर्ने हुन्छ । जस्तैः
चाँडै उठ्ने
सामान्यतया हामी बिदाको दिनमा अबेरसम्म सुत्छौं । तर, धेरै बेर सुत्दा शारीरिक आलस्य झन् बढ्छ र पूरै दिन नै बेकार भइदिन्छ । त्यसैले, मनोरञ्जनपूर्ण दिनको शुरुआत गर्न सबेरै उठ्नु आवश्यक हुन्छ । बिदाको दिनमा छिट्टै उठेर आफूलाई मन लागेको काममा लाग्नु राम्रो हुन्छ ।
स्वास्थ्यको हेरचाह
बिदामा हामी अलि धेरै खञ्चुवा भइदिन्छौं । साथै, खानेकुरा कत्तिको स्वस्थकर छ भन्ने कुरामा पनि खासै ध्यान दिँदैनौं । तर, बिदामा शारीरिक सफाइदेखि स्वस्थकर खानाको विषयमा थप सजग हुने अवसर मिल्छ । आफूमा कुनै रोग छ कि भनेर त्यसको जाँच गर्न, स्वस्थकर खानाको खोजीमा र व्यायाममा समेत समय सदुपयोग गर्दा त्यो समय तपाईंका लागि सम्झनयोग्य र महत्वपुर्ण हुन्छ ।
अध्ययन
लामो बिदामा धेरैजसोले आफ्नो पढ्ने बानी नै बिर्सन्छौं, जसले गर्दा कलेज वा स्कूल खुलेको केही दिनसम्म पढाइमा खासै मन जाँदैन । त्यसैले, आफ्नो कोर्सबाहेकका अन्य बिभिन्न मनपर्ने पुस्तकहरू पढेर बिदाको समय अधिकतम फलदायी बनाउन सकिन्छ । यसो गर्नाले पढ्ने बानी नबिग्रनुका साथै नयाँ कुराको जानकारीसमेत प्राप्त हुन्छ । त्यसैगरी, आफूले इच्छाएको कुनै प्रविधिक शीप सिक्ने काममा बिदाको समय सदुपयोग गरियो भने त्यसले जीवनमै परिवर्तन ल्याउन पनि सक्छ ।
सिर्जनशिल
बिदाको समयलाई चित्रकला, सङ्गीत वा खेल सिक्नमा प्रयोग गर्नु अझ राम्रो हुन्छ । यसबाट नयाँ अनुभव प्राप्त हुनुका साथै जीवनपयोगी नयाँ शीप र ज्ञानसमेत हासिल हुन्छ । त्यसैगरि बिदाको सदुपयोग गर्ने अर्को एक राम्रो तरीका समाजसेवा पनि हो । कुनै स्वयम्सेवी समूहसँग आबद्ध भई वा कुनै समाजिक संस्थामा स्वयम्सेवकको रूपमा काम गर्दा त्यसबाट मनोरञ्जनका साथै आनन्दसमेत बटुल्न सकिन्छ । त्यसका साथमा घरपरिवारको काममा सामेल हुँदा पनि बिदाको मज्जा झन बढ्छ ।
बिदाको समय मनोरञ्जनपूर्ण, फलदायी र सम्झनयोग्य बनाउने भन्दैमा पाठ्यक्रमका विषयवस्तुहरु चटक्कै भुल्नु भने हुंदैन । शिक्षामा बाल–बालिकालाई तिख्खर बनाउन नियमितताको महत्वपूर्ण स्थान रहेको हुन्छ । कतिपय विद्यार्थीहरु परीक्षाको समयमा रातैभरि पढ्ने तर परीक्षाअगाडि पठनपाठनलाई महत्व नदिने गरेको पाइन्छ । त्यस्ता विद्यार्थीहरुले शिक्षामा खासै फड्को मार्न सग्दैनन् । कतिपय विद्यार्थी तथा बालबालिकाहरुले बिदाको दिनलाई मात्र मनोरञ्जन गर्ने दिनका रुपमा लिने गर्दछन् । बिदा भन्नेबित्तिकै किताब पल्टाउन नपर्ने, कलम छुनै नहुने र कापीमा लेख्नै नहुने जस्तो गर्दछन् । धेरैजसो विद्यार्थीहरु बिदा हुनेबित्तिकै मामाघर जाने, फुटबल खेल्ने, क्रिकेट खेल्ने, कम्प्युटर खेल्ने, टिभी हेर्नेजस्ता गतिविधिको समय तालिका अर्थात् रूटिन नै बनाउने गर्दछन् । तर, उनीहरुको त्यस तालिकामा पढ्ने–लेख्ने जस्ता बौद्धिक गतिविधिका लागि कुनै समय नै हुँदैन । त्यस्ता विद्यार्थीहरुले विद्यालय ब्याग जसरी विद्यालयको दिनमा राख्छन्, उसैगरी विद्यालय खुल्ने दिन धूलो टकटक्याउँदै माकुराको जालो फाल्दै बोक्ने गर्दछन् । यसरी लामो समयसम्म पठनपाठन बन्द हुँदा एउटा विद्यार्थीको क्षमतामा खिया लाग्न पुग्दछ र अन्तमा ऊ पछि पर्न थाल्छ ।
हुन त, केही सीमित विद्यार्थीहरु जो अब्बल दर्जाका हुन्छन्, उनीहरुले बिदालाई अति राम्ररी सदुपयोग गरेको पनि पाइन्छ । त्यस्ता विद्यार्थीहरुले होमवर्क राम्रोसँग गर्ने, अधुरा नोट कापीहरु पूरा गर्ने अनि अतिरिक्त पुस्तकहरु अध्ययन गर्ने गर्दछन् । यस्ता विद्यार्थीहरुले बिदाको दिनलाई आफ्नो अध्ययनमा कसी लगाउने, निखार ल्याउने समयका रुपमा लिने गर्दछन् ।
वास्तवमा विद्यार्थीहरु दुई किसिमका हुने गर्दछन्, एक ‘स्वचालित’ र अर्को ‘परिचालित’ । स्वचालित विद्यार्थीले आफ्नो कर्तव्य आफैँ बुझेर अध्ययन कार्यमा नियमित रुपमा लीन भैरहन्छन् । यस्ता स्वचालित विद्यार्थीहरु अनुशासित, तीक्ष्ण तथा अब्बल हुन्छन् । उनीहरुलाई न त अभिभावक, न त शिक्षकले नै बढी निगरानी गर्नुपर्ने हुन्छ । तर, परिचालित विद्यार्थीहरुलाई दोस्रो तहका विद्यार्थीहरुका रुपमा लिन सकिन्छ । यस्ता परिचालित विद्यार्थीहरुलाई विद्यालय तथा अभिभावकले सधैँ निगरानी गरिरहनु पर्दछ । यिनीहरुलाई पढ–पढ भनेपछि मात्र किताबहरु पल्ट्याउने गर्दछन् । यदि शिक्षक वा अभिभावक नदेखेमा यिनीहरुले पठनपाठन बन्द गरी अन्य गतिविधिमा सरिक भैहाल्दछन् । अझै, लामो बिदाको समयमा यस्ता बालबालिकाहरु पढाइलेखाइमा धेरै पछि पर्दछन् । किनभने, उनीहरुलाई निगरानी गर्ने शिक्षकहरु हुँदैनन् र अभिभावकहरुले सबै बेला उनीहरुलाई हेर्ने फुर्सद पनि हुँदैन । तसर्थ, लामो बिदाको समयमा पनि अध्ययन कार्यलाई जीवन्त राख्न विद्यालय, विद्यार्थी तथा अभिभावकको भुमिका महत्वपुर्ण रहन्छ ।
विद्यालय
वास्तवमा विद्यालय भनेको विद्यार्थीहरुको शैक्षिक मन्दिर नै हो । उनीहरुले जीवनको महत्वपूर्ण समय तथा दिनको महत्वपुर्ण कालखण्ड बिहान १० बजेदेखि साँझ ४ बजेसम्म विद्यालयमा बिताउने गर्दछन् । उनीहरुको शैक्षिक गतिविधि विद्यालयले नै निर्देषित गरेका ेहुन्छ । तर, बिदाका दिनमा विद्यार्थीहरुले उक्त महत्वपुर्ण समय शैक्षिक गतिविधिबिना नै बिताउने गर्दछन् । कुनै पनि विद्यालयले आफ्ना विद्यार्थीको शैक्षिक गतिविधिमा निगरानी राख्नु त्यस विद्यालयको अधिकार क्षेत्रभित्र नै पर्दछ । यसको अर्थ बिदाको दिन होस् या नहास्, विद्यालयले आफ्ना विद्यार्थीहरुको समग्र निगरानी सधैँ नै राख्नुपर्ने हुन्छ । त्यसैले, लामो बिदापूर्व विद्यालयले कम से कम सम्पूर्ण बिदाको एक तिहाई दिनलाई पुग्ने गरी गृहकार्य (होमवर्क) दिने, गृहकार्य सबै विषयको समान रुपमा दिने, गृहकार्य दिएको जानकारी अभिभावकलाई समेत गराउने गर्नुपर्दछ । पठनपाठन गरे नगरेको बुझ्न बिदाको बीचतिर एकपटक प्रत्यक्ष भेट वा फोनमार्फत अभिभावकसँग जानकारी लिनुपर्दछ । त्यस्तै गृहकार्य गरे नगरेको कुरा विद्यालय सञ्चालन भएको दिन जानकारी लिनुपर्दछ र गृहकार्य गर्ने विद्यार्थीहरुलाई उचित पुरस्कारको व्यवस्था गरेमा विद्यार्थीहरुमा हौसला थपिन्छ ।
अभिभावक
घर नै मानिसको पहिलो पाठशाला हो र अभिभावक नै पहिलो शिक्षक हो । तसर्थ, बालबालिकाको पठनपाठनमा अभिभावकको महत्वपुर्ण हात रहेको हुन्छ । अझ बिदाका दिनमा विद्यालय वा शिक्षक अभिभावकको दायित्व धेरै नै बढी हुन्छ । एउटा विद्यार्थी २४ सै घन्टा घरमा रहने र शिक्षकहरु नहुने हुँदा अभिभावकले दुवै भूमिका आफैँले निर्वाह गर्नुपर्ने हुन्छ । यदि अभिभावकको सही निगरानी नभएमा बालबालिकाहरु यस्तै लामो बिदाहरुमा नराम्ररी पछि पर्नजान्छन् । यसैले, बिदाका दिनमा अभिभावकले आफ्ना बालबालिकालाई बिहान र साँझको समयलाई पठनपाठनको व्यवस्था मिलाउनुपर्दछ । बिहान तथा साँझको समयमा कम्प्युटर तथा टिभी बन्द गरी स्वयं अभिभावकसमेत लेखपढ तथा बालबालिकाका सँगै रहनुपर्दछ । बालबालिकाहरुसँग रमाइला कुराकानी, कथा, आफ्नो पारिवारिक इतिहास तथा अन्य नैतिक ज्ञानहरु सुनाउँदै रमाइलो वातावरण सृजना गर्नुपर्दछ । स्कुल डायरीअनुसारको गृहकार्य गरे नगरेको हेर्नुपर्दछ र अभिभावकले हस्ताक्षर गर्नुपर्ने स्थानमा हस्ताक्षर गरिदिनुपर्दछ । पाठ्यपुस्तकका अलावा पत्रपत्रिका, कथा, कविता तथा रमाइला पाठ्यसामग्रीहरु उपलब्ध गराई दिनुपर्दछ ।
विद्यार्थी
सफल वा असफल हुनुमा सबैभन्दा ठूलो भूमिका विद्यार्थी स्वयंको नै हुन्छ । यदि एक विद्यार्थीले आफ्नो कर्तव्य बुझेर उज्ज्वल भविष्यको सपना देख्न थालेमा उसले सफलता चुम्न धेरै समय लाग्दैन । तर, उसले आफ्नो शैक्षिक गतिविधिलाई वास्ता नगरी खाली खेलबाड तथा मनोरञ्जनमा बिताउन थालेमा उसको भविष्य अन्धकारपूर्ण बन्न जान्छ । शैक्षिक सफलता कुनै एक दिनको मेहनतले हुने हुँदैन । यसका लागि विद्यार्थीले नियमित रुपमा आफ्नो पठनपाठनलाई अगाडि बढाई रहनुपर्छ । आज बिदा छ, आज बर्थ डे छ, आज फुटबल छ भन्दै समय खेर फाल्ने हो भने सफल व्यक्तित्व बन्न सकिँदैन । तसर्थ, विद्यार्थीले बिहान तथा साँझको समयलाई समय तालिका बनाई सबै विषय पढ्नुपर्दछ । विद्यालयले दिएको गृहकार्य सफासँग लेख्नुपर्दछ । दिउँसोको समयलाई मनोरञ्जनका लागि प्रयोग गर्नुपर्दछ । अधुरा नोटकपी पूर्ण गर्नुपर्दछ र कण्ठ गर्नुपर्ने विषयवस्तुहरु समय दिएर पूर्ण गर्नुपर्दछ । पाठ्यवस्तुबाहेक अन्य ज्ञानगुनका सामग्रीहरु पुस्तक, पत्रपत्रिका, कथाहरु पढ्नुपर्दछ ।
यसरी लामो बिदाका दिनहरुलाई तीनै पक्षहरु विद्यालय, अभिभावक तथा विद्यार्थीहरु मिलेर सदुपयोग गर्ने हो भने बालबालिकाहरुको शैक्षिक उचाइ बढाउन कत्ति पनि कठिन पर्दैन । यसको विपरीत विद्यालय तथा अभिभावकले आफ्नो निगरानी नबढाउने र विद्यार्थी परिचालित विचारका हुने हो भने उनीहरुको भविष्य अन्धकारमय हुन पुग्छ ।
२०७३ साउन ११ गते