०८ साऊन, धादिङ (लापा) – उत्तरी धादिङको लापा ३ नेवेरका स्थानीयहरुले सुरु गरेको अलैंची खेतीमा बाँदरले दुःख दिन थालेको छ ।
अनुदान तथा संस्थाको सहयोगमा नेवेर गाऊँको २ हेक्टर क्षेत्रफल जमिनमा लगाएको अलैंचीमा बाँदर लाग्न थालेपछि स्थानिय कृषकहरु चिन्तित बनेका छन् । बाँदर लखट्नका लागि मासिक १० हजार दिएर कुरुवा राख्नुपर्ने बाध्यता रहेको पारामेन्दो कृषक समूहका अध्यक्ष टिसमान तामाङले जानकारी दिए । कुरुवा राखेपनि बाँदर नियन्त्रण गर्न भने नसकिएको तामाङले बताए ।
अलैंचीले उत्पादन दिन नथाल्दा नै बाँदरले दुःख दिन थालेपछि बाँदर नियन्त्रणमा सहयोग गर्न उनिहरुले जिल्ला कृषि विकास कार्यलय धादिङलाई अनुरोध गरेका छन् । “ऋण खाजेरै सुरु गरिएको अलैंची खेतीले उत्पादन नै दिन थालेको छैन, कुरुवालाई कसरी मासिक १० हजार दिनु ?” कृषक समूहका सचिव रेशेप तामाङले दुखेसो पोखे ।
अलैंची खेतिको लागि जिल्ला कृषि विकास कार्यालय धादिङले १ हजार, नमस्ते ग्रामीण विकास समाजले ३ हजार विरुवा अनुदानमा उपलब्ध गराएको थियो भने पारामेन्दो कृषक समुहका सदस्यहरुबाट रकम संकलन गरि ७ हजार विरुवा किनेर गाउको २ हेक्टर क्षेत्रफल जमिनमा अलैंचीको विरुवा रोपिएको थियो ।
अन्य खाद्यान्न बालीबाट भन्दा अलैंची खेतिबाट राम्रो आम्दानी हुनेदेखेपछि व्यवसायिक रुपमै अलैंची खेति सुरु गरेका किसानहरुले आगामी दिनमा हिलोखर्कको १० हेक्टर क्षेत्रफलमा अलैंची खेति विस्तार गर्नुका साथै गाउमै अलैंची नर्सरी विस्तार गर्ने लक्ष्य राखेपनि बाँदरले दुःख दिन थालेपछि उनिहरु चिन्तित बनेका हुन् ।