Fri. Mar 14th, 2025

“गर्मी र झरी, लामखुट्टेको मनपरी, हेलचक्राईं नगरौं, संभावित खतराबाट बचौं ” : सिनियर अहेब उप्रेती

अहिले गर्मी र झरीको मौसम छ । गर्मी र झरीको मौसममा अत्याधिक लामखुट्टे देखिने गर्छन् । पानी जम्ने, गर्मीले फोहोर कुहिने तथा यो मौसम लामखुट्टेका लागि उपयुक्त हुने भएकाले लामखुट्टेहरू बढी लाग्न सक्छन् । घर वरिपरि फोहरमैला भएमा तथा पानी जमेमा लामखुट्टेहरू बढी देखा पर्छन् । सरसफाइको कमी, फोहोरको डंगुर, ढल र नालामा पानी जम्मा हुनाले दिनप्रतिदिन लामखुट्टेको आतंक बढ्दै गएको हो । गर्मी मौसममा रोगका किटाणुहरू अन्य मौसममा भन्दा बढी सक्रिय हुन्छन् । दुषित खाना, पानी, सरसफाइको अभाव, फोहर हात, भाँडाकुँडा, झिँगा, लामखुट्टे, साङ्ला, किराफट्याङ्ग्रा तथा बासी, सडेगलेका फोहोर खानेकुरा, फोहोर बानीबेहोरा र फोहोर पानीको प्रयोग नै यस समयको रोग लाग्ने मुख्य कारण हो । लामखुट्टेको आतंकका कारण सम्साँझै बालक देखि वृद्धा सबै घरभित्र पस्न बाध्य छन् किनभने बाहिर, चोक गल्लीमा बसी भलाकुसारी गर्दा मुख खोल्दा पनि मुखभरि नै लामखुट्टे पस्छन् यीनले निकाल्ने आवाज तथा टोकाइको त कुरै नगरौँ । लामखुट्टेको टोकाइले के कस्ता समस्या निम्त्याउन सक्छन् र लामखुट्टेको संक्रमणबाट कसरी बच्ने ? जिल्ला अस्पताल धादिङका सिनियर अहेव अधिकृत कृष्णलाल उप्रेतीसंग पाविलन्युज डटकमका संवाददाता अस्मिता खतिवडाले गरेको कुराकानी 

krishna

लामखुट्टेको संक्रमणबाट के कस्ता स्वास्थ्य समस्या आइपर्न सक्छन् ?
विशेषगरी लामखुट्टेको टोकाइले मलेरिया, कालाजार, हात्तिपाइले, मष्तिष्क ज्वरो जस्ता भयानक रोगहरू निम्त्याउन सक्छन् । त्यस्तै डेङ्गु ज्वरो, पित्त ज्वरो, पहेंले ज्वरो लगायतका स्वास्थ्य समस्या पनि उत्तिकै मात्रामा हुन सक्छ ।

जोखिम युक्त मानिएका रोगहरु के के हुन् ? ती रोग लागेको छ भनेर कसरी थाहा पाउने ?
– सबै समस्या जोखिमयुक्त नै छन् । तर औलो, मलेरिया, डंगु ज्वरो लगायतका रोगलाई बढि खतरनाक मानिन्छ । लक्षणका आधारमा रोगको पहिचान गर्न सकिन्छ  ।

औलो
औलो एक प्रकारको ज्वरो हो । यो रोग पोथी एनोफिलिस जातको लामखुट्टेको टोकाइका कारण हुने गर्दछ । औलोको जीवनचक्रमा दुईवटा प्रवाह हुन्छन् । त्यही जीवनचक्र पूरा गर्ने क्रममा नै यो रोग तीव्र गतिले फैलन्छ । पहिलो चक्रमा यो रोग संक्रमित लामखुट्टेले स्वस्थ व्यक्तिमा सार्ने गरेको छ । जब संक्रमित पोथी एनोफिलिस जातको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्छ, आफ्नो ¥यालमार्फत व्यक्तिको रगतमा औलोको परजीवीलाई पु¥याइदिन्छ । टोकेको १० देखि १२ दिनपछि उक्त व्यक्तिमा औलो रोगको लक्षण देखा पर्दछ । दोस्रो चक्र भनेको औलो रोगीबाट असंक्रमित पोथी एनोफिलिस लामखुट्टेमार्फत स्वस्थ व्यक्तिमा सर्नु हो । रोगीलाई टोकेपछि असंक्रमित पोथी एनोफिलिस लामखुट्टेले बिरामीको रगतसँगै औलोको परजीवीलाई समेत चुस्ने गर्छ । जसको १२ देखि १४ दिनपछि यो लामखुट्टे संक्रमित भएर औलो फैलाउन सक्षम हुन्छ र त्यसले जति पनि स्वस्थ व्यक्तिलाई टोक्छ औलोरोग सार्दै जान्छ । औलो रोगीलाई दिनहुं वा एक दिन छाडेर ज्वरो आउने गरेको छ ।
औलोका लक्षणहरु
औलो लागेपछि मानिसहरूलाई एक्कासि कामज्वरो आउने, टाउको, हातखुट्टा तथा जोर्नी दुख्ने, अल्छी लाग्ने, मांसपेशी दुख्ने, ओठमा फोका देखिने, भोक नलाग्ने, जाडो भएर कम्पन हुने र नरम वा मन्द ज्वरो आउने गर्दछ । वाकवाकी लाग्ने, बान्ता हुने, खानामा अरुचि हुने, पसिना आएर ज्वरो कम हुंदा शरीर हिउँजस्तै चिसो हुने, रक्तअल्पताका कारण अनुहार फुस्रो देखिने, कब्जियत हुने, फियो र कलेजो सुन्निने, ठूलो हुने र थिच्दा दुख्नेसमेत गर्दछ ।

 मलेरिया
मलेरिया रगतमा हुने एउटा संक्रमण हो, जसले गर्दा विरामीलाई एकदमै बढी ज्वरो र जाडो हुन्छ । यो एउटा प्लाज्मोडियम नाम परजीवी, जुन मानिसमा खासगरी रातीको समयमा मात्र टोक्ने एक किसिमको लामखुट्टेको टोकाइबाट सर्दछ । मलेरियाको कारण लाखौं मानिसहरू वर्षमा मर्ने गरेको पाइन्छ र अन्य लाखौं मानिसहरू यसको टोकाईबाट विरामी भएर बाँच्ने गर्दछ । मलेरिया खासगरी ५ वर्ष मुनिका बालबालिकाहरूको लागि, गर्भवति महिला र एच.आइ.भि. तथा एड्सबाट संक्रमित मानिसहरूको लागि अति खतरनाक हुन्छ ।
 मलेरियाका लक्षणहरू
पहिलो लक्षणहरूमा निकै जाडो हुने र अक्सर टाउको दुख्ने गर्दछ । मानिस करिब १५ मिनेटदेखि लिएर १ घण्टासम्म थरथर काम्ने गर्दछ ।. निकै जाडोपछि एकदमै बढी ज्वरो आउँदछ । मानिस निकै कमजोरी महसुस गर्दछ र अचेत अवस्थामा रहन्छ । यस्तो ज्वरो केही घण्टादेखि दिनभरी नै लाग्ने गर्दछ । अन्तमा अत्यधिक पसिना आउँदछ र ज्वरो घटेर जान्छ । ज्वरो घटेपछि मानिसले कमजोरीको महसुस गर्दछ ।

 डेङ्गु ज्वरो
डेङ्गु ज्वरो एक किसिमको भाइरस बाट सर्ने गर्दछ जुन एउटा जिउमा सेतो टाटो भएको कालो, टाढाबाट हेर्दा झ्वाट्ट सेतो धर्को जस्तो देखिने लामखुट्टेको टोकाइबाट सर्दछ । यिनीहरूको खुट्टामा पनि सेतो धर्को देखिन्छ । यो लामखुट्टेलाई “पहेँलो ज्वरो लामखुट्टे” पनि भनिन्छ । किनभने यसले पहेँलो ज्वरो पनि निम्त्याउँछ ।
 लक्षणहरू
पहिलो पटक यो ज्वरो लागेको मानिसमा एक्कासी अत्यधिक ज्वरो लाग्न सक्दछ र निकै जाडो समेत लाग्ने गर्दछ । जिउहात निकै दुख्ने, टाउको दुख्ने र घाँटी दुख्ने हुन्छ । मानिस धेरै कमजोर तथा विरामी देखिन्छ । तीन चार दिनपछि, केही घण्टादेखि २ दिनसम्म मानिस साधारणतया राम्रो अनुभव गर्दछ । त्यसपछि पुनः बिरामी १–२ दिन बढीसम्म लाग्छ । अक्सर हात र खुट्टामा घाउ हुन्छ र पछि पैतला, खुट्टा र शरीरभरी घाउ बढेर जान्छ तर अनुहारमा भने घाउ आउँदैन । बच्चा, स–साना उमेरका बालबालिका र बुढापाका वा यो रोगसँग लड्ने क्षमता नभएको व्यक्तिहरूमा पनि यो रोग धेरै हदसम्म लाग्दछ । जस्तै एचआइभी÷एड्स लागेको व्यक्तिलाई यो रोग निकै प्रभावित गर्दछ । यसलाई बेलैमा उपचार नगरेमा यसले छालामा रगत बग्न थाल्छ र पछि मान्छेको मृत्यु समेत गराउँदछ ।

krishna lal

लामखुट्टेको टोकाइबाट बच्न के गर्ने ?
– लामखुट्टेबाट लाग्ने हरेक किसिमको बिमारीलाई यसको टोकाईबाट बाँचेर रोक्न सकिन्छ । यसका लागि सबैभन्दा पहिले त आफु सजग रहनुप¥यो । त्यस्तै लामखुट्टे नै नाश गरेर र जनचेतना अभिवृद्धी गरेर लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ ।
 आफु सजग रहने
यसका लागि हात, बाहुला, खुट्टा, छाती र टाउको छोप्ने लुगा लगाऊनु उत्तम हुन्छ । जस्तै लामो बाहुला भएको सर्ट, पैन्ट, चोलो र कपाल छोप्ने कपडाहरू लगाउनु पर्दछ । लामखुट्टे धुप र अन्य धपाउने रसायन जस्तैः सिट्रोनेला, निमको तेल, तुलसीको पातको प्रयोग गर्न सकिन्छ । लामखुट्टे धपाउने किसिमको रसायनहरू खासगरी बच्चा भएको घरमा राम्रो हुन्छ किनभने अन्य रोकथामको उपाय नअपनाउने घरहरूमा यसले लामखुट्टेको टोकाइलाई कम गर्न सकिन्छ । घरको झ्याल र ढोकामा जाली लगाऊँदा पनि लामखुट्टे घर भित्र छिर्ने संभावना निकै कम हुन्छ । बच्चा सुतिरहेको बेला, रसायनद्वारा प्रशोधित लामखुट्टे झुलको प्रयोग गर्नु राम्रो हुन्छ । झुलको छेउको भाग ओछ्यानको तल राखेमा लामखुट्टे पस्ने ठाउँ हुँदैन । धेरै जस्तो ठाउँहरूमा बच्चाको हेरचाह गर्ने कार्यक्रमअन्तर्गत महिला र बच्चालाई सुरक्षित राख्न निःशुल्क वा थोरै पैसामा झुल प्रदान गरिन्छ । रसायनबाट प्रशोधित झुलको असर कायम राखिराख्न हरेक ६ देखि १२ महिनामा यसलाई पुनः प्रशोधन गरिनु पर्दछ । घरबाहिर सुतने बेलामा पनि झुलको प्रयोग गर्नुपर्छ ।
 लामखुट्टे नाश गर्ने
आ—आफ्नो घर गोठमा कीटनाशक औषधि छर्कन लगाउने, औषधि छर्केको ३—६ महिनासम्ममा लामखुट्टे मर्ने भएकाले किटनाशक छर्केको भित्तामा कम्तीमा तिन महिनासम्म लिपपोत नगर्ने, कीटनाशकयुक्त झुलको प्रयोग गर्ने, पानी सोस्ने रुखहरू जामुन, सिमल, मसला रोप्ने तथा घर वरिपरि, सडक वरीपरीका खाल्डाखुल्डी पुर्ने, पोखरी, इनार र कुलोवरिपरिको घाँसपात सफा गर्ने, मट्टितेल, डिजल, डीडीटी मालाथियन, क्लोडिन, डेल्ड्रिन छर्कने र जमेको पानी बगाइदिने गर्नुपर्दछ । लामखुट्टेले विशेष गरी जमेको पानीमा फुल पार्ने र प्रजनन गर्ने भएकाले त्यस्ता खाल्डा तुरुन्त पुरिदिएमा वा सात दिनभित्र सुकाउने, जमेको पानीलाई बगाइदिने गर्दा फुल र लार्भाहरू मर्छन् । गाऊँका पोखरी, दह, तलाउ, नाला र खाल्डामा लामखुट्टेको लार्भा खाने माछा पाल्ने गर्नुपर्छ । कुनै पनि प्राकृतिक तथा अप्राकृतिक भाडाहरूमा पानी जम्न दिनुहुँदैन ।

 जनचेतनामा अभिवृद्धि
रोगलाई प्राविधिक, आर्थिक, सामाजिक र राजनीतिक रूपमा संवोधन गरिनुपर्छ । रोगका बारेमा आमजनसमुदाय तथा सरोकारवालालाई सो रोगका विविध पक्षबारे जानकारी दिनुपर्छ । संक्रमित व्यक्तिको रगत अन्य व्यक्तिमा प्रत्यारोपण गर्नुहुँदैन । सञ्चारमाध्यम तथा स्थानीयस्तरका स्वास्थ्यकर्मीद्वारा रोगसम्बन्धी जनचेतना फैलाउन जरुरी रहन्छ । रोगको शंका लागे जतिसक्दो चाँडो चिकित्सकलाई देखाउनुपर्छ ।

लामखुट्टेको नाश गर्नका लागि प्रयोग गरिने किटनाशक विषादीको प्रयोगमा सावधानी नअपनाउने हो भने यसले अन्य स्वास्थ्य समस्या पनि निम्त्याऊन सक्छ भनिन्छ नि ?
– हो, सबै कीटनाशक विषादी विषालु हुन्छ । किटनाशक विषादीको अत्यधिक प्रयोगबाट लामखुट्टेमा यसप्रतिको प्रतिरोधात्मक क्षमताको विकास हुन्छ र त्यसपछि यसको लामखुट्टेमाथि कुनै असर गर्दैन । लामखुट्टेको संख्या नियन्त्रण गर्न कीटनाशक विषादीको उपयोग गर्नु एउटा आकस्मिक उपायमात्र हो । तर कीटनाशक विषादीले खाली लामखुट्टेजन्य रोगलाई नियन्त्रण मात्र गर्दछ । लामखुट्टेबाट हुने रोग नियन्त्रण कार्यक्रममा सबैलाई उपचार, समुदाय स्तरमा लामखुट्टे प्रजनन केन्द्रहरूको रोकथाम र सामुदायिक शिक्षाको एउटा अभिन्न अंगको रूपमा प्रयोग गरिएमा यसले लामखुट्टेको टोकाइबाट हुने समस्याको रोकथाम गर्न मद्दत पु¥याउँदछ । साथै समुदायमा यसबारे शिक्षा पनि दिनुपर्छ । विषादीको प्रयोग गर्दा निम्न कुरामा ध्यान दिनुपर्छ ।
 सधैँ सुरक्षा कवच लगाएर मात्र विषादी छर्कनु पर्दछ ।
 सकेसम्म थोरैभन्दा थोरै रसायनको प्रयोग गर्नुपर्छ । जहाँ लामखुट्टे घरभित्र बस्दछ र धेरैबेरसम्म लुकेर बसिरहन्छन् त्यहाँमात्र छर्कनुपर्छ ।
  बच्चाहरू भएको ठाउँ नजिकै वा गर्भधारण गरेको वा दूध खुवाउने गर्दै गरेको महिलाको नजिकै विषादी कहिल्यै पनि छर्कनु हुँदैन ।
–  कीटनाशक विषादीबाट संशोधित झुल बच्चाले चुस्न वा चपाउन नपाऊन् भनि सुनिश्चित गर्नुहोस् र साथै झुलको सम्पर्क वा कमभन्दा कम समयसम्म यसलाई छुन सक्ने बनाउनुपर्छ ।
  कीटनाशक विषादीबाट प्रशोधित झुललाई धुँदा बाटाको उपयोग गर्नु पर्दछ ।

अन्तमा,
– लामखुट्टेजन्य रोगहरू समुदायमा हुने रोग भएकाले पूरा समुदाय गाऊँ र सम्पूर्ण जिल्लामा नै महामारीको रूपमा फैलन सक्छ । तसर्थ, रोगको नियन्त्रणप्रति सबैको सहयोग र सहभागिताको अत्यन्त महत्व रहन्छ, जाने बुझेकाले नजानेकालाई सम्झाईबुझाई गरी दिनुपर्छ । घरवरिपरि सफा र स्वच्छ राखांै, पानी जम्ने भाँडाकँुडा र खाल्डाखुल्डी नराखौंै । लामखुट्टेजन्य रोगबाट बचौं र बचाऔं । धन्यावाद ।

About The Author

अन्य समाचारहरु: