१५ असार, धादिङ – १३ औँ धान दिवस धादिङमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ ।
‘व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ भन्ने नाराका साथ देशैभर दिवस मनाइँदैछ । जिल्ला कृषि विकास कार्यलय धादिङले नीलकण्ठ नगरपालिका ८ वृत्ताबेसीमा रहेको खेतमा धान दिवस मनाउन लागेको हो ।
कृषि प्रधान देशमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसै अनुसारको प्रभाव पार्ने भएकाले रोपाईंको ठूलो महत्व रहेको छ । धानको क्षेत्रफल र उत्पादनलाई केलाउँदा यो अन्य बालीको तुलनामा झन्डै दोब्बर छ ।धान नेपालको प्रमुख खाद्यान्न बाली हो ।
देशको अर्थतन्त्रमा यसले उल्लेखनीय भूमिका खेलेको छ । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पुर्याएको छ । कृषि विभागका अनुसार नेपालमा झण्डै १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।
तराईमा झण्डै ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत धानबाली लगाइन्छ । धान खेती हुने क्षेत्रफलमध्ये ९० प्रतिशतमा रोपाइँ गरिन्छ भने १० प्रतिशतमा मेसिनद्वारा धान रोपिन्छ । नेपाल कृषि अनुसन्धान परिषद नार्कले अहिले तराई क्षेत्रका लागि ‘राधा १३’, ‘राधा १४’ र ‘सुगन्धित धान १’ जातका धानका बीउ सिफारिस गरेको छ ।