भूकम्पपछिको कष्टकर बसोबास र अनेक किसिमका समस्याले जिल्लामा कुपोषणको समस्या झनै विकराल देखिएको छ । दक्षिणी धादिङको धुषा, महादेवस्थान लगायतका गाविसका चेपाङ बस्तीका अधिकांश बालबालिकामा कुपोषणको समस्या रहेको छ । खानपान, सरसफाइ र स्याहारसुसार तथा हेरचाहको कमीले गर्दा बालबालिकामा कुपोषण बढेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । जिल्लामा कुपोषणको अवस्था र न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा पाविलन्युज डटकम अनलाइनका संवाददाता अस्मिता खतिवडाले जिल्ला जनस्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत तथा पोषणका सहजकर्ता व्यक्ति मोहन सुवेदीसंग गरेको कुराकानी
कुपोषण कस्तो समस्या हो ?
शरीरलाई आवश्यक सन्तुलित आहार लामो समय सम्म नपाउनाले हुने विकृत अवस्थालाई नै कुपोषण भनिन्छ । चिकित्सकहरूका अनुसार नेपालमा बालबालिकाहरूलाई हुने रोगको प्रमुख कारण कुपोषण नै हो । जसका कारण नेपाली बालबालिकाहरूको शारीरिक तथा मानसिक विकास प्रभावित भएको छ । यसरी कुपोषणको सिकार हुनेमा दुई वर्षमुनिका बालबालिकाहरूको संख्या सर्वाधिक देखिएको छ ।
स्मरणीय छ, शारीरिक विकासका दृष्टिकोणले बालबालिकाको मस्तिष्क लगायत अन्य प्रमुख अंगहरूको ८० प्रतिशत विकास दुई वर्षको उमेरसम्ममा भैसकेको हुन्छ । मस्तिष्क लगायत अन्य प्रमुख अंगहरूको सही विकासका लागि बालबालिकाको पोषण स्थिति राम्रो हुनु आवश्यक मानिन्छ । बालबालिकाहरू कुपोषणको सिकार हुनु भनेको निकट भविष्यमा कुनै पनि मुलुकले प्राप्त गर्ने जनशक्ति शारीरिक रूपमा रोगग्रस्त हुनु हो । संसारमा जति पनि रोगहरू छन् ति मध्ये धेरैको कारक कुपोषण हो ।
रोगग्रस्त जनशक्तिले कुनै पनि मुलुकको आर्थिक विकासको गतिलाई प्रभावित गर्छ । आर्थिक विकासको गति प्रभावित हुनु भनेको समग्र मुलुकको सबै खाले विकास प्रक्रियामा बाधा पुग्नु हो । विश्वकै विकराल समस्याको कारण मानिने कुपोषणको दीर्घकालीन समाधान नेपालका ग्रामीण भेगमा पाइने रैथाने अन्नबाली र गेडागुडी भए तापनि त्यतातिर कसैको ध्यान नजाँदा विपन्न हजारौँ बालबालिकाहरू मृत्युको शिकार भएका छन् ।
जिल्लामा कुपोषणको अवस्था कस्तो छ ?
– जिल्ला जनस्वास्थ्य कार्यलय धादिङले गत फागुनमा जिल्लाका ६ महिनादेखि ५ वर्ष उमेरसमुहका २८ हजार बालबालिकामा गरेको सर्वेक्षणलाइ हेर्ने हो भने जिल्लामा ७ सय ६४ बालबालिका कुपोषणको समस्याबाट ग्रसित छन् । जसमध्ये ७ सय ३ बालबालिकामा मध्यम खालको कुपोषण र ६१ बालबालिकामा कडा कुपोषण देखिएको छ । सर्वेक्षणको नतिजा हेर्दा दक्षिणी धादिङको धुषा, महादेवस्थान लगायतका गाविसका चेपाङ बस्तीका अधिकांश बालबालिकामा कुपोषणको समस्या रहेको छ ।
सर्वेक्षण गर्दा के पाउनुभयो, कुपोषणको कारण के रहेछ ?
– चेपाङ जातीको बाहुल्य रहेको सो गाविसहरुमा कुपोषणको मुख्य कारण त असन्तुलित खाना नै हो । त्यस्तै सरसफाई, लालनपोषणमा अभिभावकले समय दिन लभ्याउनु पनि प्रमुख कारणकै रुपमा आऊँछ । बाल्यकालदेखि नै पाचनयोग्य खानेकुरा नखुवाउने र बयस्कले खाने खाना बालबालिकालाई पनि दिने गरिन्छ । गर्भवति महिलाले पौष्टिक खानेकुरामा ध्यान नदिँदा तथा नवजात शिशुको स्तनपानमा ध्यान नदिंदा पनि कुपोषणको समस्या देखिएको छ ।
विशेषत ः स्तनपान, खाद्य असुरक्षा तथा खानामा पोषकतत्वको अभावले चेपाङबस्तीका बालबालिका कुपोषणको शिकार भइरहेका छन् । राम्रो लालनपोषणले बालबच्चा स्वश्य हुन्छन् । तर, कुन उमेर समुहका बालबालिकाको स्याहार कसरी गर्ने भन्ने ज्ञान अभिभावकमा नहुँदा बालबालिका अस्वस्थ भएका धेरै उदाहरण छन् । कत्तिपयले कार्य व्यस्तताका नाममा बालबालिकालाई उचित ध्यान दिन सकेका छैनन् भने कतिपयलाई बालबालिकाको स्याहार तथा खुवाउने खानाको तरिकाबारे खासै ज्ञान छैन ।
स्थानिय स्तरमै उपलब्ध अन्नको प्रयोग बालबालिकाको खानामा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरामा समेत अनविज्ञ छन् अधिकांश अभिभावक । ठूलाले जे खान्छन् बालबच्चालाई पनि त्यही कोचाउन खोजिन्छ, जसले बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पारेको देखिन्छ ।
बालबालिकालाई कुपोषणको जोखिमबाट कसरी बचाउने त ?
– यसका लागि बच्चालाई कम्तीमा २ वर्षसम्म आमाको दुध खवाइरहनुपर्छ । किनकी आमाको दुध जुनसुकै बेला उपलब्ध हुनसक्छ । आमाको दुध किटाणु रहित हुन्छ । यसमा रोगसंग लड्ने शक्ति हुन्छ । आमाको दुध किन्नु पर्दैन र यसले आमा र बच्चाको माया ममता बढ्छ । बच्चाको दिमागको १० भाग मध्ये ८ भागको विकास जन्मेको २ वर्ष भित्रमा नै हुने भएको हुनाले यस अवधीमा उनिहरुलाई विशेष ख्याल पु¥याऊनुपर्छ ।
बच्चा ६ महिना पुग्नासाथ आमाको दुधका साथै थप पोषिलो खाना खुवाउन सुरु गर्नुपर्छ । थप पोषिलो खाना आफ्नै घरमा पाइने विभिन्न खानेकुराहरु मिलाएर बनाऊन सकिन्छ । यसका लागि बच्चाको उमेर अनुसार अन्न गेडागुडी पशुपंछीजन्य खाना तथा सागपात र फलफुल मिलाएर सरसफाई कायम गरि बच्चालाई फकौर फुलाएर, डुलाएर खुवाउने गर्नुपर्छ । कुपोषणबाट बच्नका लागि खाना पकाऊनु, खाना खानु वा खुवाउनु, बच्चाको दिसा धोइसकेपछि, चर्पी गएपछि, फोहोर कुरा चलाएपछि, साबुन पानीले मिचिमिची हात धुने गर्नुपर्छ ।
सधैं स्वच्छ, सफा र राम्ररी पोकको खानेकुरा खाने , बासी खाना नखाने, खाना सधैं उचित तापक्रममा भण्डारण गर्ने, खानालाई सिधै घाम नपर्ने गरि सफा भाडामा छोपेर मात्र राख्ने गर्नुपर्छ । पानी उमालेर वा फिल्टर गरेर वा शुद्धिकरण गरेर मात्रै पिउने गर्नुपर्छ । सधैं चर्पीमा मात्रै दिशापिसाब गर्ने र आफु बसेको घर आँगन तथा वरिपरीको वातावरण सधैं सफा राख्दा कुपोषणको जोखिमबाट बच्न र बचाउन सकिन्छ ।
गर्भवती महिलाले पनि ध्यान दिनुपर्ने कुराहरु छन् ?
– पक्कै पनि, बच्चालाई कस्तो बनाऊने भन्ने कुरा गर्भवती आमाको हातमा नै हुन्छ भन्दा पनि हुन्छ । त्यसैले गर्भवती आमाले सधैं सतर्कता अपनाउनुपर्छ । गर्भवती भएको ९१ दिनदेखी सुत्केरी भएको ४५ दिन सम्म दिनको १ चक्कीका दरले गर्भवती सुत्केरी महिलाले आइरन चक्की खानैपर्छ । महिला स्वास्थ्य स्वयंसेविका वा स्वास्थ्य संस्थामा निशुल्क पाइने आइरन चक्कीले आमा तथा बच्चामा रागतको कमी हुन दिंदैन र मृत्यु हुने जोखिमबाट बचाऊँछ । बच्चाको उमेर ५ वर्ष नपुगेसंग नियमित स्वास्थ्य जाँच र तौल लिनुपर्दछ यसो गर्दा उमेर अनुसार शरीरको बृद्धि विकास भए नभएको थाहा पाउन सकिन्छ । यो सेवा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, हेल्थपोष्ट, उपस्वास्थ्य चौकी र गाउँघर क्लिनिक खोप केन्द्रमा निशुल्क पाउन सकिन्छ ।
के कारणले बच्चाको वजन कम हुन्छ ?
– जन्मिएपछि बच्चाको वजन घट्छ तर त्यो पहिलो दुई हप्तामै परिपूर्ति हुनु पर्छ । यो सामान्य प्रक्रिया हो । तर १० दिन पछिका कुनै पनि दिनमा वजन कम भयो भने त्यो राम्रो हैन । बच्चा भनेको बृद्धि र विकासको अवस्थामा हुन्छ । त्यसमा तौल कहिल्यै घट्नु हुन्न । सुरुमा बढी वजन बढ्ने र पछि कम बढ्ने हुन्छ । यदि बच्चाको वजन बढेको छैन भने हामिले विभिन्न कुरा ध्यान दिनुपर्छ– बच्चामा पोषण पुगेको छैन । सन्तुलित आहार पाएको छैन । उसलाई दिभर जति आवश्यक्ता खानपान बाट चाहिन्छ त्यसमा कमी छ । अथवा हामीले नदेखेको बाहिरी वा भित्री कुनै रोग छ । यसलाई पहिल्याएर त्यसको निदानमा अभिभावक अग्रसर हुनुपर्छ । कतिपय अबस्थामा बच्चालाई जंङक फुड खुवाउदा पनि वजनमा थप घट हुनुका साथै अन्य स्वास्थ्य समस्या आउन सक्छ ।
बजारी खानेकुराको प्रभाव पनि कुपोषणको कारण हो ?
– केहि मात्रामा हो । त्यसैले अब सबैलाई आगोको जोहो गरेर सजिलोसँग पकाउन सकिने खिचडी, भात उसिनेको आलु र वरिपरि हुने सक्ने तरकारीको प्रयोगलाई नै जोड दिन लगाउनु पर्छ । हाम्रा वरिपरि पाइने र अहिले नेपालमा सजिलैसँग उपलब्ध हुने विभिन्न खाद्य पदार्थ प्रयोग गर्न सिकाएर, त्यस्ता वस्तुहरु लागि भूकम्पमा आहात भएको घरहरुलाई दिएर सुक्ष्म पोषण आदि तत्व बाट हुने कमीलाई न्युन गर्न सकिन्छ ।
तिल, आलस, तोरी, टुसा उमारेका विभिन्न गेडागुडी आदि यस्ता उदाहरण हुन, जसले भोजनमा स्वाद दिन्छन् र यसको सुक्ष्म पोषण तत्व भिटामीन, क्याल्सियम प्रदान गर्छ । त्यसैगरी लट्टेमा प्रोटिन, क्याल्सियम कार्बोहाइड्रेट आदि पर्याप्त पाइन्छ । त्यसैगरी बदाम मुँगफली आदिमा पनि पर्याप्त मात्रामा सुक्ष्म पोषक तत्व पाइन्छ । लट्टेको दानालाई उमार्दा यसमा भएको पौष्टिक तत्वहरुको मात्रा बढ्ने हुनाले टुसा उमारेर खाने प्रचलन पनि पाइन्छ। तर यस्तो राम्रो वस्तु नेपालमा हामीले प्रयोग गर्दैनौं । ‘नजिकको तीर्थ हेला’ भनेको यही हो ।
नेपालमा पर्याप्त मात्रामा गेडागुडी पाइने हुनाले अहिलेको कठिन परिस्थितीको साथै सामान्य जीवनभर पनि यसरी टुसाउमारेको पिठो बनाउन सकिन्छ। यस्ता सस्तो र सहज तथ्यको विचार नगरेर हामी बाहिरबाट आउने पाउरोटी र रोटीमा भर प¥यौं भने यसले दीर्घकालिन रुपमा कुपोषण नै निम्ताउँछ । त्यसैले स्थानिय स्तरमै पाइने धान, मकै, गहुँ, गेडागुडि, हरिया सागपातलाई नै खानाको रुपमा प्रयोग गर्ने बानी बसाल्नुपर्छ ।