११ जेठ, धादिङ – उत्तरी धादिङको मूलपानी गाविसका दुई विद्यालयमा विपद पूर्व तयारी कोष स्थापना गरिएको छ ।
मूलपानी गाविस स्थित महेन्द्रोदय मावि र सरस्वती प्राविले भूकम्प गएको एक वर्षपछि पूर्व तयारीका लागि कोष स्थापना गरेको हो ।
भूकम्पले विद्यालय भत्किएपछि पुनः निर्माणसँगै विद्यालयहरुले विपद जोखिम व्यवस्थापन योजना बनाएका हुन् । विपद जोखिम योजना अन्तरगत विद्यालयहरुले कोष निर्माण गरि विपदको समयमा बढी समस्या पर्नेलाई वितरण गर्ने सरस्वती प्राविका प्रधानाध्यापक शान्ति थापाले बताइन् ।
विपद पूर्वको तयारी, विपदको समयमा गरिने योजना र विपद पछिको अवस्थाहरुको विश्लेषण गरि यसबाट बच्ने उपायहरुबारे मूलपानी गाविसका पाँच विद्यालयले विपद जोखिम व्यवस्थापन योजना निर्माण गरिएको हो ।
केएर नेपालको सहयोगमा संचालित हरियोबन कार्यक्रम अन्तरगत सहयात्री समाज नामक गैरसरकारी संस्थाले यसको सहजीकरण गर्दै हरेक विद्यालयलाई सुरक्षित गर्नका लागि यस किसिमको योजना बनाउन सहयोग गरिएको सहयात्री समाजका सुजनराज भण्डारीले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, विद्यार्थीहरु सहभागि यस्तो योजना निर्माण गरिएको थियो । विपद जोखिम व्यवस्थापन योजना तत्कालै लागु गर्ने र यसवर्ष बन्ने भवनहरुलाई विपद प्ररिोधी बनाइने योजना रहेको विद्यालयले जनाएको छ ।