Tue. Apr 22nd, 2025

नारायणगढ–मुग्लिन सडकखण्ड २१ प्रतिशत सम्पन्न

narayanghat-jam१० जेठ,  चितवन – भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुप काम हुन नसकेको नारायणगढ–मुग्लिन सडकखण्ड विस्तार कार्य पछिल्लो समय तीव्र गतिमा अगाडि बढाइएको छ ।

ठेक्का दिँदा २०७४ को वैशाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि चार महिना १५ दिन थप गरी २०७४ को भदौमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता बढाइएको छ ।

पछिल्लो सम्झौताको लक्ष्यअनुरुप काम भइरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले बताए। उनका अनुसार हालसम्म २१ प्रतिशत काम सम्पन्न भइसकेको छ । यही गतिमा काम भइरहे समयमै काम सम्पन्न हुने उनको भनाइ छ ।

विसं २०७२ को वैशाखबाट निर्माण कार्य थालिएको हो । काम थालेको आठ महिनामा १५ प्रतिशत काम सम्पन्न गर्नुपर्नेमा आठ प्रतिशत मात्र काम भएको थियो ।

गत माघ २८ गतेबाट दिउँसो ११ बजेदेखि ३ बजेसम्म सडकको आवागमन रोकेर काम भइरहेको छ । सडक फराकिलो बनाउन पहाड काटिएकाले हल्का पानी पर्ना साथै पहिरो खस्दा समस्या उत्पन्न भएको छ भने बढी सुक्खा हुँदा सुक्खा पहिरो खस्ने समस्या समेत उत्पन्न भएको खनालले बताए।

भरतपुरको आँपटारीदेखि मुग्लिनसम्म सडक फराकिलो बनाउने काम भइरहेको छ । मुख्य जटिल क्षेत्र भनिएको भरतपुरबाट २७ किलोमिटर दूरीको जलविरेदेखि ३२ किलोमिटर दूरीको कालीखोलासम्मको पाँच किलोमिटर भागमा पहाड फोरेर सडक चौडा गरिँदै छ भने सडकका अन्य भागमा पनि काम तीव्र गतिमा भएको उनले बताए। पहाड काटिएको स्थानमा फेदमा तारेपर्खाल लगाइएको छ भने माथिल्लो भागमा बायो इन्जिनियरिङ भइरहेको छ । पानीले समस्या नपारे जेठ महिनाभर सडक रोकेर काम गर्ने लक्ष्य राखिएको छ ।

सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र मुग्लिनदेखि आँपटारसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदै छ ।

विश्व बैंकको रु दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एसियन हाइबेअन्तर्गतको ए एच ४ टु खण्डअन्तर्गत नारायणगढ मुग्लिन सडकखण्ड पर्दछ । इञ्जिनियर खनालका अनुसार चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मोजफ्रपुर हुँदै जाने यो सडक एसियन हाइबेको एक खण्ड हो ।

सडक निर्माण कार्यका लागि दिउँसो चार घन्टा आवागमन रोकिएसँगै ठाउँठाउँमा पहिरो खस्दा यात्रुले भने सास्ती व्यहोर्दै आएका छन् । यो सडकखण्डको ३६ किलोमिटर दूरी पार गर्न १० घन्टासम्म लाग्ने गरेको छ । पहिरो नखस्दा सहज हुने भए पनि कतिबेला पहिरो खस्छ यकिन हुन नसक्दा यात्रुले हैरानी व्यहोर्नुपरेको हो । रासस

About The Author

अन्य समाचारहरु: