अपरिस्कृत तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक र नेपाल बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा १ अर्बभन्दा बढी नाफा कमाउन सफल भएका छन् ।
भूकम्प तथा नाकाबन्दीको असरले बैंकहरुको नाफामा असर पार्ने अनुमान गरिए पनि सबैजसो बैंकहरुको नाफा गत वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
संख्यात्मक रुपमा हेर्दा गत आर्थिक वर्षको ९ महिनामा १ अर्बभन्दा बढी कमाउने बैंकहरुको संख्या ५ वटा मात्रै थियो। तर यस आर्थिक वर्षको ९ महिनामा नेपाल बैंक, हिमालयन बैंक र ग्लोबल आईएमई बैंक १ अर्ब बढी कमाउनेमा थपिएका हुन ्।
नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेल बैंकहरुको मुनाफा बढ्नुले सही रुपमा ग्राहक छनौट गरी लगानी परिचालन गर्न बैंकहरु सफल भएको देखाएको उल्लेख गर्छन्। बैंकहरुले प्रदान गरेको कर्जाको व्याज तथा किस्ता रकम आइरहेको उनले बताए। बैंकहरुलाई दिगो बनाउन लगानीको प्रतिफल बलियो हुनुपर्ने र त्यहीअनुरुप अभ्यास भएको उनले बताए ।
त्यस्तै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कुनै एक क्षेत्रमा मात्रै बैंकहरुको लगानी केन्द्रित नरहेको र एउटा क्षेत्र प्रभावित भए पनि अर्को क्षेत्रबाट नोक्सान रिकभर हुँदा बैंकको वित्तीय अवस्थामा अहिलेसम्म नाकाबन्दीको असर नदेखिएको बताए ।
सेतोपाटीसितको कुराकानीमा उनले भने ‘राष्ट्र बैंकले चैतसम्म व्यवसायीहरुलाई ऋण तथा व्याज तिर्नका लागि सहुलियत दिँदा पनि त्यसले सहयोग पुर्याएको हो ।’ १२ महिनाकै वित्तीय अवस्था आएपछि मात्रै नाकाबन्दी प्रभावबारे स्पष्ट हुने श्रेष्ठको भनाई छ ।
बैंकहरुको ९ महिनासम्मको अपरिस्कृत वित्तीय विवरण हेर्दा आर्थिक वर्ष पुरा हुँदासम्म १ अर्ब बढी कमाउने बैैंकहरुको संख्यामा अझै केही थपिने छन्। स्टाण्डर्ड चार्टर्ड र नेपाल एसबीआई बैंकले चालु आवको ९ महिनामा ९० करोडभन्दा बढी कमाएका छन् ।
नेपाल बैंक
वाणिज्य बैंकहरुमा सबैभन्दा प्रगतिशिल वित्तीय विवरण नेपाल बैंकले सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको ९ महिनामा ३६ करोड रुपैयाँ मात्रै खुद नाफा कमाएको यो बैंकले यस आर्थिक वर्षको ९ महिनामा १ अर्ब ६४ करोड खुद नाफा कमाएको छ ।
विभिन्न कम्पनीहरुको सेयर विक्री गरी बैंकले तेस्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेखनीय नाफा देखाउन सफल भएको छ। यस अवधिसम्म कम्पनीको चुक्ता पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ। बैंकको जगेडा कोष भने ९४ करोड रुपैयाँ ऋणात्मक छ ।
यद्यपी गत वर्षको तुलनात्मक अवधिमा ऋणात्मक जगेडा कोषमा १ अर्ब ४१ अर्बको सुधार आएको हा । वास्तविक ब्याज आम्दानी भने बैंकको ७० करोडले मात्रै बृद्धि भएको छ ।
नविल बैंक
वाणिज्य बैंकहरुको नाफामा अग्रस्थान लिँदै आएको नविल बैंकले ९ महिनामा २ अर्ब ५ करोड खुद नाफा कमाएको छ । गत वर्षको यस अवधिमा उसको नाफा १ अर्ब ६१ करोड रुपैयाँ थियो ।
यस अवधिसम्म बैंकको खुद व्याजवापतको आम्दानी ३ अर्ब ३ करोड रुपैयाँ छ ।
४ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष ६ अर्ब १ करोड रुपैयाँको छ । गत वर्षको तुलनामा चुक्ता पुँजी १ अर्ब ९ करोडले बढी हो भने जगेडा कोषमा १ अर्ब १८ करोड रुपैयाँ थप भएको छ। ९ महिनामा २ अर्बभन्दा बढी कमाउने बैंकको सूचीमा भने नविल बैंक मात्रै हा ।
नेपाल इन्भेष्टमेन्ट बैंक
खुद नाफाका आधारमा हेर्दा नविल बैंकको पछि पछि इन्भेष्टमेन्ट बैंक दौडिरहेको छ। यो बैंकले ९ महिनाको अवधिमा खुद १ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको छ। गत वर्षको ९ महिनाको अवधिमा बैंकले १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको चुक्ता पुँजी र जगेडा कोषको आकार भने नविल बैंकको भन्दा ठूलो छ । ७ अर्ब २५ करोड रुपैयाँ यसको चुक्ता पुँजी छ । गत वर्षको सोही अवधिमा बैंकको चुक्ता पुँजी ४ अर्ब ७७ करोड रुपैयाँ थियो ।
बैंकको जगेडा कोषमा पर्याप्त रकम छ। ९ अर्ब ८८ करोड रुपैयाँ जगेडा कोषमा रहेको छ । एफपीओ जारी भएपछि बैंकको जगेडा कोष सबैभन्दा मजबुत बनेको हो । गत वर्षको यस अवधिमा यो रकम ४ अर्ब ६८ करोड मात्रै थियो । बैंकले यस अवधिमा २ अर्ब ७० करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्यो ।
कृषि विकास बैंक
यो बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब १ करोड रुपैयाँ थियो । बैंकको खुद व्याज आम्दानी भने गत वर्षको सोही अवधिको तुलनामा ११ करोडले मात्रै बृद्धि भई ३ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।
सरकारी स्वामित्वको यो बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रहेको छ। गत वर्षको यसै अवधिको तुलनामा सो रकम ७८ करोडले बढी हो । जसमा ३ अर्ब ९३ करोड मात्रै साधारण सेयर छ। बैंकको जगेडा कोषमा ७ अर्ब रुपैयाँ छ ।
हिमालयन बैंक
अपरिस्कृत तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकले १ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यस अवधिमा बैंकले ९० करोड १५ लाख मात्रै खुद नाफा कमाएको थियो ।
बैंकको चुक्ता पुँजी ४ अर्ब ४९ करोड रुपैयाँ रहेको छ। गत वर्षको यस अवधिमा यो रकम ३ अर्ब ३३ करोड थियो । बैंकको जगेडा कोष ३ अर्ब ७७ करोड रुपैयाँको छ। बैंकले खुद ब्याजवापत २ अर्ब ४४ करोड आम्दानी गरेको छ। गत वर्ष यो रकम १ अर्ब ९३ करोड थियो ।
एभरेष्ट बैंक
यो बैंकले चालु आवको चैतसम्म १ अर्ब २० करोड नाफा कमाउन सफल भएको छ। गत वर्ष सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब १९ करोड रुपैयाँ थियो । व्याजवापतको खुद आम्दानी २ अर्ब १६ करोड रुपैयाँ रहेको छ। व्याज आम्दानी भने गत वर्ष सोही अवधिको तुलनामा ८ करोड रुपैयाँ बढी हो ।
बैंकको चुक्ता पुँजी २ अर्ब ७४ करोड रुपैयाँ मात्रै रहेको छ। यद्यपी ५ अर्ब ३५ करोडको जगेडा कोष रहेको छ। गत वर्ष यो रकम ४ अर्ब ५१ करोड थियो ।
ग्लोबल आईएमई बैंक
यो बैंकले चालु आर्थिक वर्षको ९ महिनासम्ममा १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिमा बैंकको खुद नाफा ८० करोड ९६ लाख रुपैयाँ थियो । यस अवधिसम्म व्याजवापतको खुद आम्दानी २ अर्ब ७ करोड रुपैयाँ छ। जवकि गत वर्षको यसै अवधिमा यो रकम १ अर्ब ७३ करोड थियो ।
बैंकको चुक्ता पुँजी ६ अर्ब १६ करोड रुपैयाँ रहेको छ । बैंकसँग बोनस सेयरबाटै सहजै राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुँजी पुर्याउने क्षमता देखिन्छ। २ अर्ब १९ करोड रुपैयाँको जगेडा कोष छ । गत वर्षको तुलनामा ३ करोड रुपैयाँ कोषमा थपिएको छ ।
राष्ट्रिय वाणिज्य बैंक
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले ९ महिनाको अवधिमा १ अर्ब ६२ करोड खुद नाफा कमाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठका अनुसार १ अर्ब ६२ करोड रुपैयाँ बैंकले नाफा कमाएको छ ।
बैंकले चालु आवको ६ महिनामा १ अर्ब ७ करोड रुपैयाँ कमाएको थियो।
बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड ८९ लाख रुपैयाँ पुगेको छ । ९ महिनाको अवधिसम्म निक्षेप संकलन १ खर्ब ३० करोड र कर्जा तथा सापटी प्रवाह ७९ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।