Fri. Mar 14th, 2025

‘चेतनाको अभावमा आगोले वन मासियो’

suddepगर्मी सुरु भएसँगै सामुदायिक वनहरुमा डढेलो लाग्न थालेको छ । गर्मी मौसममा वनमा रहेका बोट विरुवाहरुको पात सुक्ने भएका कारण पनि बढी मात्रामा आगलागी हुने गर्दछ । धादिङमा पनि यस वर्ष वनमा आगलागी लाग्ने क्रम बढेको छ । सबैभन्दा बढी सामुदायिक वन रहेको जिल्ला भनेर चिनिएको धादिङका वनहरुमा गत वर्षहरुको तुलनामा यस वर्ष धेरै ठाउँमा डढेलो लागेको छ । यसै विषयमा जिल्ला वन कार्यलय धादिङका सहायक वन अधिकृत सुदिप छत्कुलीसँग पाविलन्युज डटकमका कार्यकारी सम्पादक सरिता श्रेष्ठले गरेको कुराकानीको सारसंक्षेप

गर्मी मौसम सुरु भएसँगै वन जंगलमा डढेलो लाग्ने क्रम बढेको छ नी के भन्नुहुन्छ ?
– यसै सन्दर्भमा, एउटा सानो कथा जोड्न चाँहे; यस्तै गर्मी अनि हावाहुरीको मौसम, जंगलमा भिषण डढेलो लाग्यो । सोही सम्बन्धमा छलफल गर्न जंगलीजन्तुहरुको सभा बसेछ । हुटीट्याऊँले आकाश थामेजस्तै एउटा भगेंरा असिनपसिन गर्दै नजिकैको कुवाबाट चुच्चाले पानी चेप्दै उडदै आगोमा खनाउंदै गर्दै थियो । उसको सानो चुच्चाले चेपेको दिनभरको मेहनतको पानी त हात्तीले एकै सँुडमा उठाउन सकथ्यो, यो देखेर सभाका सबैजना गल्लल हाँस्दै के गरेको भनेर सोधेछन ? ऊ चुपचाप आफ्नो काम गरिरहयो । केहि समयपछि आगो आफै निभ्यो । त्यसपछि उ पनि त्यहि सभामा सामेल भयो । सवैले उसलाई ऊ पटमुर्ख भएझैं , अघि ब्यर्थमा त्यो आपत किन गरेको ? भनेर सोधेछन । उसले विस्तारै भनेछ ः “ एकदिन ईतिहासमै सहि त्यो मूल्यांकनको दिन आउनेछ, यो जंगलमा आगो लाग्दै गर्दा आगो निभाउन कसकसले के के योगदान गरे भनेर । बस ! त्यो दिन, जंगल जल्दै गर्दा, निभाउने कुराको चर्चा हुँदै गर्दा, मेरो नाम तमासा हेरेर बस्नेमा नपरोस । मात्र त्येत्ति भए पुग्छ ।”

गर्मी मौसमसँगै देशभर विभिन्न स्थानहरुमा आगलागी र यसले निम्त्याएका दुर्घटनाका खबरहरु आईरहेका छन । वन जंगलमा ढडेलोका घटना अन्य जिल्लाहरुमा जस्तै यस जिल्लामा पनि घटेका तथ्यांकहरु प्राप्त भएका छन र देखिरहेका छौं । सतहीरुपमा लागेको डढेलोले प्रत्यक्षरुपमा वन क्षेत्र, विरुवा र स्यापलिङमा तथा दिर्घकालिन रुपमा पारिस्थितिकय प्रणाली मा असर पर्नेसक्ने देखिएपनि मानवीय क्षति भने भएका छैनन । सिमित श्रोत र साधनका बाबजुद चुनौतिलाई अवसरमा बदल्दै तपाईहामी जहाँ छौं त्यही रहेर आ आफनो क्षेत्रबाट वन डढेलो नियन्त्रण कार्यमा सहभागि बनौं तपाईमार्फत सम्पूर्णमा अनुरोध गर्दछु ।

धादिङमा कतिवटा सामुदायिक वनहरु छन् ?
– प्राप्त तथ्यांक अनुसार समग्रमा धादिङ जिल्लामा कुल क्षेत्रफलको ४८.२३ प्रतिशत वन क्षेत्रले ओगटेको छ । मौजुदा वन क्षेत्रमध्ये हालसम्म ६९१ वटा सामुदायिक वन उपभोक्ता समूहहरुका ७०६६० घरधुरीहरुलाई २९०५०.७४ हे. (जो धादिङ जिल्ला भर रहेका वन क्षेत्रको ३१ प्रतिशत हुन आउँछ ) क्षेत्र सामुदायिक वनको रुपमा हस्तान्तरण गरिसकिएको छ । यस हिसावले धादिङ जिल्लालाई हस्तान्तरण गरिएका सामुदायिक वन संख्याको हिसावले धैरे सामुदायिक वन भएको जिल्लाको हिसावले समेत चिनिन्छ ।

 यसवर्ष कति वनहरुमा आगालागी भएको छ ? कुन कुन वनमा ?
– तथ्यांक अद्यावधिक कार्य अझै जारी नै रहेको छ । हालसम्म प्राप्त तथ्यांक अनुसार यस जिल्लाको कुल वन क्षेत्रको मोटामोटी रुपमा एक चौथाई क्षेत्रफल यानेकी २३९२५.०० हे. क्षेत्रफलमा पुर्ण र आंशिक रुपमा सतही आगलागि ( surface fire ) भएको छ । अहिले तपाई हामी छलफल गर्दैगर्दा पनि आगलागिका घटनाका जानकारीहरु आईरहेछन् । यो चाँही वनमा आगालागि भएको भन्नु भन्दा पनि प्राय आगलागिको फैलावट जिल्लाको उत्तरी भुगोलदेखि राजमार्ग हुँदै दक्षिणी भेगसम्म नै देखिएको छ ।

 के कारणले आगलागी हुन्छ ?
– आगालागीका लागि अनुकुल सुख्खा तथा गर्मी मौसम, जंगलमा रहेका सुकेका पातपतिङगर र हावाहुरी आगालागिका लागि आधारभुमी हुनभने केहि विछृङखल मानविय प्रवृति, नयाँ घाँस पलाउने आशामा गोठालाहरुले जंगलमा आगो लगाई दिनु, जंगलीजन्तुहरुसंग डर तथा प्रतिशोध र शिकारसमेतको लागि वनमा आगो लगाउनु , सामुदायिक वन उपभोक्ताहरु विचको खिचातानी तथा वन अतिक्रमण र खोरिया फँडानी गर्न चाहनेहरुले लगाउने आगोहरु प्राय जानीजानीकनै लगाएको पाईन्छ भने घर तथा बारी वरपर फुकिएका आगोहरु विस्तार भई जंगलसम्म पुग्नु चुरोट विंढीका ठुटाहरु सल्किएर तथा केटाकेटीहरुको रमाईलोका लागि समेत आगो लागाइने र आगालागि हुने गरेको छ ।

asssss
यस्ता कार्यलाई नियनत्रण गर्न कस्तो कदमि चालिरहनु भएको छ ?
– वन डढेलो लाग्नै नदिनेमा नै हाम्रो विशेष ध्यान केन्द्रित हुनुपर्छ, जस्लाई हामी निरोधात्मक उपायहरु (preventive measures) भन्छौं भने आगलागि भईहालेमा सो को उपचारात्मक उपायहरु अवलम्वन गर्दै आएका छौं जसमा डढेलो नियन्त्रण लगायतका उपायहरु अवलम्वन गरिन्छ । यदि आगलागि गर्नेहरुको संलग्नताको पहिचान भएमा निजहरुलाई वन ऐन अनुसार कारवाही लगायतका कानुनी उपचारसमेतका उपायहरु अवलम्वन गरिनेछ ।

 जिल्ला वन कार्यलयले डढेलो नियन्त्रणका लागि कस्ता कस्ता कार्यक्रमहरु गरिरहेको छ ?
– जिल्ला वन कार्यालय, धादिङले निरोधात्मक उपायहरुको रुपमा मानविय श्रोत साधन, आर्थिक तथा प्राविधिक हिसावले गर्न सकिने यस कार्यालयका लागि सम्भाव्य उपायहरु मध्ये जनचेतना मुलक कार्यक्रमहरु , भित्ते लेखन , संचार माध्यमबाट चेतनामुलक सन्देश प्रवाह, सामुदयिक वनहरुलाई शसक्तिकरण, सामुदयिक वन उपभोक्ता समूहहरुलाई अग्नी नियन्त्रण सामाग्री वितरण जस्ता कार्यक्रमहरु गर्दै आएका छौं ।

यसै सिलसिलामा यसै आर्थिक वर्षको २०७२ फागुन १६ दखि २२ सम्म समुदायको सहभागितामा विभिन्न सामुदायिक वनहरुमा अग्नि रेखा निर्माण, जिल्लास्तरिय माध्यमिक विद्यालयहरुबिच निवन्ध प्रतियोगिता समेतका कार्यक्रमहरु गरी हामीले वन डढेलो ब्यावस्थापन जनचेतना सप्ताह समेत मनायौं ।

माथि उल्लेखित कार्यक्रमहरुका बावजुद पनि आगलागिका घटनाहरु भने नघटेका होईन । यसको अर्थ चालिएका कदमहरु पर्याप्त छैनन । तथापि यस्ता कार्यक्रमहरुको दिर्घकालिन सकारात्मक असर रहिरहने कुरामा भने विमत्ती नहोला । उपचारात्मक उपायहरुमा भने जिल्लाका विभिन्न स्थानमा भएका आगलागिहरुमा सुचना प्राप्त हुनासाथ स्थानिय समुदायको सहभागितामा जिल्ला वन कार्यालय र मातहतको कार्यालय र जिल्ला प्रहरी कार्यालय र सामुदायिक वन महासंघ समेतका अग्रसरतामा आगो निभाउने कार्यहरुसमेत भईरहेका छन ।

यद्यपी केहि काबु बाहिरका परिस्थितीसमेत नदेखिएका भने होईनन । कतिपय आगलागिका घटनाहरुमा स्थानिय र सामुदयिक वन उपभोक्ताहरुले स्वतःस्फुर्तरुपमा आगलागि नियन्त्रणकोलागि चाल्नु भएका कदमहरु सह्रानियसमेत रहेका छन ।

यस्ता कार्यलाई नियन्त्रण गर्न कस्तो चुनौति देखिएको छ ?
– विच्छृङखल मानविय प्रवृति, पर्याप्त जनचेतनाको अभाव, पुरातन सोचाई, जंगलप्रतिको अपनत्व भावको कमी, हेलचक्राँई, प्रतिकुल मौसम, दुर्गम तथा विकट भौगोलिक परिस्थिति , सिमित आर्थिक, मानविय श्रोत साधन, आगलागि नियन्त्रणकालागि तालिम प्राप्त दक्ष जनशक्तिको अभाव, आगलागि नियन्त्रणकालागि जिल्ला वन कार्यालयसंग पर्याप्त अग्नि नियन्त्रणका उपकरणहरु नहुनु, एक अर्को सामुदायिक वन उपभोक्ताहरुको खिचातानी, आगो लगाउने तथा मतियारहरुको पहिचान गर्न कठिन, वन सम्वर्धन प्रणालीमा आधारित वन ब्यवस्थापन पद्धतीको विकास गर्न नसक्नु जस्ता चुनौतिहरु यस कार्यमा रहि आएका छन । यद्यपी चुनौतिभित्रै सम्भावना पनि अन्तर्निहित रहेको हुन्छ र सोको खोजी र समाधान वर्तमानको आवश्यकता हो ।

 धादिङ जिल्लालाई डढेलो मुक्त जिल्ला बनाउने भनेर विभिन्न संघसंस्थाहरुले कदमि चालिरहेको छ नि कत्तिको सफल होला ?
नेपाल सरकारको जिल्लास्तरमा विषयगत कार्यालयको रुपमा प्रतिनिधित्व गर्ने जिल्ला वन कार्यालय यस क्षेत्रको prinicapal actor मध्ये एक हो तथापि sole actor सम्पुर्ण र एकल भने होईन । यहाँको वन क्षेत्र तपाई हाम्रो हो, जिल्ला वन कार्यालय त सार्वजनिक सेवा प्रवाहको निकायमात्र न हो । यस क्षेत्रमा स्थानिय, नागरिक समाज, सामुदायिक वन उपभोक्ता समूह र महासंघ, संचारजगत, सुरक्षा निकायहरु , राजनैतिक नेतृत्व,जिल्ला प्रशासन लगायत सरकारी तथा राष्ट्रिय/अन्तराष्ट्रिय निकायहरु गैह्रसरकारी निकायहरु ,विद्यार्थी भाई बहिनीहरु सबैको आ- आफ्नो क्षेत्र, कर्तब्य, गच्छ्य, सिमा अनुसारको संलग्नता आजको आवश्यकता हो । हरियो वन नेपालको धन, हामी सार्वभौम नेपाली जनता । अतः तपाई हामी सबै मिलेर लाग्ने हो भने गर्न नसकिने नै के छ र ? तथापी पहलकदमीमा एकरुपता र समन्वय भने हुनुपर्दछ । समय लाग्ला, हामी आशाबादी बन्नुपर्छ ।

 जिल्ला वन कार्यालय धादिङको भावी कार्यक्रम तथा रणनीतिहरु के के छन् ?
– वन क्षेत्रको सुशासन र सार्वजनिक सेवा प्रवाह यस कार्यालयको मुख्य कार्यक्षेत्र हो । सरकारी कार्यालय जनताको लागि हो , जनता सार्वभौम छन । सोही अनुरुप, भुकम्पले भत्काएका घर तथा संरचनाहरुको पुनःर्निमाणका लागि आवश्यक काठहरुको सहज र सुलभ उपलब्धता गराउनु जिल्ला वन कार्यालयको अहिलेको चुनौति र कार्यक्रम हो । कर्तब्य पनि हो ।यस सँगै बढन सक्ने अनियमित र अवैध कटान रोक्नुपनि कार्यालयको मुख्य चासोको विषय हो ।

वन डढेलो नियन्त्रण, अवैध चोरीनिकासी नियन्त्रण, वन्यजन्तु र पारिस्थितिकिय पद्धतिको संरक्षण र सम्वर्धन जस्ता नियमित सहजकर्ता, समन्वकर्ता र आवश्यकताहेरी नियन्त्रणकर्ताको भुमिकामा जिल्ला वन कार्यालयले आफूलाई खरो रुपमा उभ्याउनु पर्ने त छँदै छ यसका अतिरिक्त जिल्लाको उत्तरी क्षेत्रका केहि गा.वि.सहरुलाई समेटेर जनसहभागितामा आधारित र जनआकांक्षा बमोजिम पूर्वमा लाङटाङ राष्ट्रिय निकुञ्ज र पश्चिम मनास्लु संरक्षण क्षेत्रलाई जोडने अविछिन्न जैविकमार्ग र सुन्दर र सुरम्य पयापर्यटनको प्रशस्त सम्भावना बोकेको संरक्षण क्षेत्रको रुपमा सो क्षेत्रलाई घोषणा र विकास गर्ने जिल्ला परिषदसमेतमा निर्णय भईसकेकोमा सो कार्यलाई तत्काल अगाडि बढाउने र मध्य पहाडी राजमार्गले सडक पहुँचसम्मको दुरी घटाईदिएकोमा उक्त क्षेत्रलाई जडीबुटी पकेट क्षेत्रको रुपमा समेत ब्यवस्थापन गरी लैजाने कार्यक्रम रहेको छ,सोही अनुरुप जडीबुटी ब्यवस्थापनसँग सम्वन्धित कार्यक्रमहरु समेत संचालन भईरहेका छन ।

यसैगरी राजमार्ग छेउका सामुदायिक वनहरुमा सम्भाव्यताहेरी जुन ठाँउ राजधानी नजिक भएको र राजमार्ग भएर आवतजावत गर्नेहरुलाई मनोरञ्जन , पिकनिक र पर्यापर्यटकिय स्थलको रुपमा विकास गरिने लगायतका भावी कार्यक्रमहरु रहेका छन । यसमा सबैको सहयोग र जिल्ला वनलाई निरन्तर आफ्नो कर्तब्यपथमा हिंडनको लागि झकझकाई रहन तपाई लगायत सम्पूर्ण संचारजगत र नागरिक समाजलाई अनुरोध समेत गर्दछु ताकी वन र यस सँग सम्वन्धित क्षेत्रको संरक्षण,सम्वद्र्धनमा हाम्रो पाईला तिब्र र उम्दा गतिमा चल्न प्रेरित र लालयित भईरहोस ।

 अन्त्यमा,
यस जिल्लामा रहेका प्राकृतिक श्रोत सम्पदा तपाई हाम्रो हो । पुर्खाले छाडेका नासो दिर्घकालसम्म रहने गरी उच्चतम प्रयोग गर्दे वर्तमानमा लाभ उठाउनुमा नै बुद्धिमता झल्कन्छ । पहिले आफू जोगिऔं अनि जंगलको डढेलो निभाउन तर्फ लागौं । जिल्ला वन कार्यालय यस कार्यमा तपाईहरुको साथ, रचनात्मक भुमिका र खबरदारीको निरन्तर अपेक्षा समेत गर्दछ ।

About The Author

अन्य समाचारहरु: