४ पुस, काठमाडौँ -आजबाट सुरु हुने प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगितामा नेपाल उपाधि जित्ने दाउमा रहेको छ ।
आठ वर्र्षपछि अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन लागेको नेपालले मालदिभ्ससँग सहज जितको लक्ष्य राखेको छ । मालदिभ्ससँग चार महिनाअघि मात्र खेलेको तीनवटा मैत्री खेल जितेको हिसाबले पनि राम्रो सुरुआत हुने अनुमान छ ।
नेपालले सन् २००६ मा श्रीलंकामा सम्पन्न १० औं सागमा महिला भलिबलमा प्रतिस्पर्धा गरेको थियो । त्यसपछि नेपाली महिला टोलीले मालदिभ्ससँग मैत्री खेलमात्र खेलेको छ । नेपाली टोलीका प्रशिक्षक सुदेशकुमार रिमालले मालदिभ्ससँग सहज जितको अपेक्षा गरेको बताए ।
गत सेप्टेम्बरमा काठमाडौंमै सम्पन्न मैत्री खेलमा नेपालले तीनवटै खेलमा मालदिभ्सलाई हराएको थियो । नेपालले बलियो प्रतिद्धन्दिका रुपमा भारत र श्रीलंकालाई लिएको पनि रिमालले बताए । प्रतियोगिताका लागि दुई महिनादेखि अभ्यास थालेको नेपाली टोलीलाई एक महिना बन्द प्रशिक्षणमा राखिएको थियो ।
यसैगरी शुक्रबार नै अर्को खेलमा बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । श्रीलंका बलियो टोली हो । दक्षिण एसियाली महिला भलिबलमा शक्तिशाली मानिने श्रीलंका र भारत एसियाली राष्ट्रमा समेत उत्कृष्ट १० भित्र पर्छन् ।
राउन्ड रोविन लिगका आधारमा खेलाइने प्रतियोगितामा नेपालसहित मालदिभ्स, भारत, श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा नेपालले पुस ५ गते बंगलादेश, तेस्रोे खेलमा पुस ६ गते बलियो प्रतिद्धन्दि भारत र अन्तिम खेलमा पुस ८ गते श्रीलंकाको सामना गर्नेछ ।
कुल ३७ लाख ६२ हजार रुपैयाँ लगानीमा सञ्चालन हुन लागेको प्रतियोगिताको विजेता टोलीले दुई हजार अमेरिकी डलर, दोस्रँे हुनेले एक हजार डलर र तस्रो हुनेले पाँच सय डलर पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ र उत्कृष्ट विधाका खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।