Tue. Mar 4th, 2025

सार्वजनिक शौचालय : महिलालाई सास्ती

लक्ष्मी दर्नाल – धरान उपमहानगरपालिकामा कार्यरत हेमा थुलुङ कार्यालय समयमा दिसा–पिसाब लाग्दा तनावमा पर्छिन् । महिला र पुरुषको शौचालय एउटै भएकाले समस्या पर्ने उनको भनाइ छ । हेमा भन्छिन्, ‘शौचालय जाँदा जहिले पनि लाइनमा बस्नुपर्छ । अगाडिपछाडि पुरुष हुन्छन् । खाली भएमा गइन्छ नत्र घर फर्केर पिसाब गरिन्छ ।’

९१ करोड रुपैयाँको वार्षिक बजेट रहेको धरान उपमहानगरपालिकामा एक दर्जन कर्मचारी महिला छन् । तर, समुदायमा लैङ्गिक समस्या र तिनको समाधानका क्षेत्रमा काम गर्ने उपमहानगरपालिका आफैँसँग भने महिलामैत्री शौचालय छैन । यसले दैनिक तीनदेखि पाँच सय मानिस आइरहने उपमहानगरपालिका कार्यालयमा कर्मचारीसँगै सेवाग्राही महिलाले समेत सास्ती भोग्नु परिरहेको छ ।

यसले आफ्ना सेवाग्राहीलाई समान हैसियतमा सेवा–सुविधा पु¥याउन उपमहानगरपालिका चुकेको मात्रै छैन कि लैङ्गिक दृष्टिले ऊ न्याय गर्न अक्षम भइरहेको छ भन्ने देखाइरहेको छ ।  संवेदनशील मामिलामा बेवास्ता भएको कर्मचारी फुलमाया लिम्बूको भनाइ छ । उनलाई पनि पुरुष र महिलासँगै शौचालय जानुपर्दा अप्ठ्यारो लाग्छ । अझ महिनावारी भएको बेलामा त झनै समस्या हुने उनको गुनासो छ । फुलमाया भन्छिन्, ‘दिनमा पटकपटक शौचालय जानुपर्ने भए पनि शौचालयमा प्याड राख्ने व्यवस्था नभएका कारण महिनावारी हुँदा साह्रै समस्या पर्छ । दिनभरि चिन्ता लाग्छ । शौचालय जानुपर्ला भनेर पानीसमेत नखाई बसिन्छ ।’

उपमहानगरपालिकामै भेटिएकी सेवाग्राही विश्वकला राई यसलाई सामान्य रूपमा लिन नहुने बताउँछिन् । उनी भन्छिन्, ‘यो छुट्टै समस्या हो, यसको समाधान पनि फरक किसिमले खोजिनुपर्छ ।’ उनले महिला र पुरुषको छुट्टाछुट्टै शौचालय हुनु अनिवार्य रहेको बताइन् ।

महिला कर्मचारीको संरक्षण तथा सहजताका लागि प्रत्येक कार्यालयमा महिलामैत्री शौचालय हुनुपर्ने राष्ट्रिय नीति नै छ । महिलाको सहजताका लागि महिलामैत्री शौचालयको व्यवस्था गर्नुपर्ने भन्दै धेरै कार्यक्रमसमेत भइरहेका छन् । तर, महिला कर्मचारी कार्यरत सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्थामा अहिले पनि महिलामैत्री शौचालय छैनन् ।

धरान– १० मा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा कार्यरत र अध्ययनरत महिलाको समस्या पनि उस्तै छ । महिला र पुरुषको शौचालय बेग्लाबेग्लै भए पनि शौचालय व्यवस्थित नभएको क्याम्पसमा अध्ययनरत छात्रा सुष्मा श्रेष्ठ बताउँछिन् । उनी भन्छिन्, ‘फोहोर उस्तै हुन्छ, त्यसमाथि पानी पनि हुन्न । अनि कसरी प्रयोग गर्नु त्यो शौचालय ?’ शौचालय फोहोर हुँदा महिनावारीको समयमा बढी समस्या भोग्नुपरेको अर्की छात्रा आइस्था राईको भनाइ छ ।

भानुचोकमा रहेको सार्वजनिक शौचालयलाई आधुनिक र सुविधायुक्त बनाउन भनेर व्यवस्थापन समिति नै गठन भएको छ । तर, दैनिक हजारौँ यात्रुको ओहोरदोहोर हुने भानुचोकको यो शौचालयसमेत महिलामैत्री छैन ।

समितिले हाल आधुनिक सार्वजनिक शौचालय भनेर महिला र पुरुषको छुट्टाछुट्टै शौचालय बनाएको छ । तर, त्यहाँको महिला शौचालयमा न राम्रोसँग ढोका लाग्छ, न त पानीको व्यवस्था नै छ । त्यसैले पनि यात्रा गर्ने महिला हतपत त्यो शौचालय पस्दैनन् । शौचालयछेउमै दैनिक ठेला व्यापार गर्ने धरान– ९ की फुलमाया श्रेष्ठ भन्छिन्, ‘शौचालय एकदमै फोहोर छ, ढोका पनि बिग्रिएको छ, चुकुल पनि लाग्दैन । दिसापिसाबले धेरै च्यापे पनि म त्यहाँ जान्नँ ।’

स्वास्थ्यसम्बन्धी अध्ययन, अध्यापन र उपचारसमेत हुने पूर्वकै ठूलो स्वास्थ्य संस्था बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अधिकांश शौचालय महिलामैत्री छैनन् । त्यहाँ कार्यरत महिला कर्मचारी देशको ठूलो र प्रतिष्ठित प्रतिष्ठानमै महिलामैत्री शौचालय नभएको गुनासो गर्छन् । ड्युटीको समयमा शौचालय जाँदा बाहिर एकजना साथी राख्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ । धरानका प्रतिष्ठित संस्थाका शौचालय यति अव्यवस्थित छन् कि तिनलाई शौचालय भन्न पनि मिल्दैन । हालत यस्तोसम्म छ कि कतिपय सार्वजनिक शौचालयको ढोका लक गर्न धेरै कठिन हुने तथा लकै नहुने भएकाले समस्या छ ।

दिसापिसाब नगरी लामो समय बस्दा कतिपयको मिर्गौलासमेत खराब हुन्छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ प्रा.डा. सञ्जीव शर्मा भन्छन्, ‘लामो समयसम्म दिसापिसाब नगरी बस्दा मिर्गौला खराब हुने सम्भावना हुन्छ । त्यसैले धेरैबेर पिसाब रोकेर राख्नुहुँदैन ।’

महिला कार्यरत, अध्ययनरत शैक्षिक संस्थाहरू, सामाजिक तथा व्यावसायिक सङ्घसंस्था, सरकारी तथा गैरसरकारी कार्यालयमा महिलालाई ध्यानमा राखेर महिलामैत्री शौचालय निर्माण नगर्दा उनीहरूले धेरै समस्या भोग्नु परिरहेको छ । व्यवस्थित र महिलामैत्री शौचालय नहँुदा महिलाले दिनहुँजसो तनावपूर्ण जीवन बिताइरहनुपरेको छ ।
(सञ्चारिका फिचर सेवाबाट)

About The Author