Tue. Mar 4th, 2025

बर्वादीको डिलमा

भूकम्पको झापड खाएको करीब एबवर्ष भयो । मानसिक पीडा कम भए पनि दैनिकी अस्तव्यस्त नै छ । अन्यथा नसोचियोस् कि हिजो भूकम्पले मार्यो अब यो वर्ष हाम्रो सरकारले मार्दैछ हामीलाई ।

दाताहरुले दालमोठ चाउचाउका पोका बाँडी रहेका बेला सस्तो लोकपृयताका लागि सरकाले राहत र घर बनाइ दिने सपना बाँड्यो । त्यही आश्वासन पर्खिदा वर्षा वित्यो, हिउँद वित्यो र अब अर्को वर्षत्को मुखमा छौं हामी । संयोगवश यस वर्ष भारी वर्षा भएन र त्रिपालले धान्यो, चर्केको गारो ढलेन । यो वर्ष वर्षात ठूलो, लामो भयो भने के होला ? ठाउँ ठाउँ फाटेर बसेको जमिन छ, कति ठाउँमा त सुख्खा पहिरो झरीरहेको छ, त्यस्कै मुन्तिर छ हाम्रो वस्ती ।

ठूलो विपदको संभावना हाम्रा सामुछ । त्यस भन्दा पनि जोखिम छ घरवासको । सरकारको आश्वासन पर्खेर बस्दा वरवाद हुनेवाला छ । नभए हामी हाम्रो टाउको घुसार्ने ठाउँ आफैं बनाउँथ्योैं । दिन्छौं भनीरहने, दिने प्रकृया शुरु नगर्ने र तिनीहरु आफैले बनायौं भने खवरदार पैसा दिन्नौं भन्छ । कि दिन्छौं नभन्नू, दिने भए समयमै दिनु, त्यत्ति नि गर्न नसके वनाउ दिन्छौं भन्नु । हग न बाटो छोडको यो चालले ठूलो जोखिम हुनेवाला छ ।

यस्को क्षतिको जिम्मा सरकारले लिनु पर्छ । उसको वहाना छ कि हामीले दिएको नमूनामा बनाउ । ए सरकार तिम्ले दिएको नमूनामा २ लाखले घर बन्छ ? त्यो बनाउन जान्ने मान्छे हामीलाई पुग्दो संख्यामा छ ? वनले काठ दिन सक्छ ? ति सबै भ्याकुताका धार्नी जुटाउन थाल्दा वर्षात पूर्व समयमै हाम्रो घर बनीसक्छ ? हामी सबैले बुझ्ने भाषामा यी सवालको जवाफ भन्दिन सक्छौं ? तिम्रो स्थानीय गृह प्रशासन यी विषयमा अझै कुहिराको काग जस्तै छ ।

ए सरकार तिम्रो कछुवा गतिको नीति निर्माण र कार्यान्वयनले हाम्रो ज्यान कर्कलाको पातको पानी जस्तै भो । वेलैमा बरु निर्लजतापूर्वक भनीदेउ कि सरकारले केही दिन सक्दैन जनताहरु आफ्नो जीउ धनको सुरक्षा आफै गर । यसले हामीलाई कुनै आश्चर्य हुने छैन । किनी आजसम्म यो देशमा हाम्रो सरकार छ भन्ने अनुभूति हामीलाई कहिल्यै भएको छैन ।

– दृष्टिविन्दु

About The Author