वि.स. २०३५ साल मंसिर १२ गते धादिङको महादेवस्थान गाउँ विकास समिति वडा नंबर ४ मा जन्मिएका दिपेन्द्र सिंह थापा साहित्य क्षेत्रमा धादिङका एउटा चम्किलो ताराको रुपमा परिचित छन् । २०५१ साल देखि साहित्य लेखनमा लागेका थापाले हालसम्म दुई वटा कृति प्रकाशित गरिसकेका छन् । २०६४ सालमा पहिलो कृति जीर्ण पर्खाल कवितासङ्ग्रह निकालेका छन् । हालै मात्र उनले सहयात्री शब्दहरू नामक कवितासङ्ग्रह प्रकाशित गरेका छ । पत्रकारिता र प्राध्यापन क्षेत्रको समेत अनुभव सँगालिसकेका उनका विभिन्न पत्रपत्रिकामा फुटकर रूपमा समेत गीत र निबन्ध प्रकाशित हुने गरेका छन् । यसै सेरोफेरोमा रहेर थापासँग पाविलन्युज डटकमका संवाददाता अस्मिता खतिवडाले गरेको कुराकानी
दिनहरु कसरी वित्दैछन् ?
– स्वअध्ययन, लेखनअभ्यास, समय र आर्थिक अवस्था अनुकूल हुँदा घुमफिर अनि आफ्नै परिवारका साथ रमाइलोसँग दिनहरू बित्दै छन् ।
वास्तवमा साहित्य भनेको के हो जस्तो लाग्छ, तपाईंलाई ?
– जीवनजगतका याबत् बिम्बहरूका भावमय र कलामय भाषिक अभिव्यक्ति नै साहित्य हो ।
हाल सम्म कति वटा कृतिहरु प्रकाशित छन् ?
– पुस्तकाकार रूपमा दुई वटा । २०६४ सालमा जीर्ण पर्खाल कवितासङ्ग्रह प्रकाशित गरेको थिए । अहिले सहयात्री शब्दहरू कवितासङ्ग्रह प्रकाशित गरेको छु ।
पछिल्लो कृति ’सहयात्री शब्दहरु’ कस्तो कविता संग्रह हो ?
– यस पुस्तकमा दार्शनिकता, राष्ट्रियता, शृङ्गारिकताजस्ता विषयगत विविधतायुक्त ३६ कविताहरूको रहेका छन् । यथार्थको धरातलमा उभिएर आफ्ना अनुभूतिहरूलाई कलाल्मक आत्मप्रकाशन गर्ने प्रयत्न यस पुस्तकमा गरेको छु ।
साहित्यिक क्षेत्रका धेरै विधा मध्ये छान्नुपर्दा ?
– सबै विधा मन पर्छ, सबै उत्तिकै पढ्छु ।
कुन विधामा बढि कलम चलाउनु भएको छ ?
– कविता ।
तपाईंको प्रेरणाको स्रोतको रुपमा कसलाई लिनुहुन्छ ?
– आफ्नै जीवनका कमीकमजोरी र सुखदुख नै मेरा प्रेरणाका स्रोत हुन् ।
आफु सम्मानित भएको क्षण सम्झंदा ?
– त्यस्तो सम्झनलायक सम्मानित क्षण भएजस्तो लाग्दैन ।
के कस्ता संघसंस्थामा समावेश हुनुहुन्छ ?
– नेपाली लेखक संघको महाधिवेशन प्रतिनिधि छु अहिले ।
साहित्यिक क्षेत्रमा लागेर खासै कमाई गर्न सकिंदैन भनिन्छ नि ?
– स्तरीय र लोकप्रिय कृति लेख्न सके कमाइ गर्न सकिने अवस्था विकसित भएको छ । पठनसंस्कृति र शिक्षित समुदाय बढ्दै जानु यसको आधार हो ।
साहित्यिक क्षेत्रमा लाग्न चाहनेलाई के भन्न चाहनुहुन्छ ?
– गम्भीर अध्ययन र परिष्कारयुक्त कलात्मक लेखनको अभ्यासमा सधै सचेत रहनु आवश्यक छ ।
धादिङमा साहित्य क्षेत्रको अवस्था कस्तो छ भन्दा के भन्नुहुन्छ ?
– सम्भावनायुक्त
अन्तमा,
– धन्यवाद !