२५ चैत, भक्तपुर – भक्तपुरमा औद्योगिक ब्यापार मेलाको आयोजना गरिएको छ । नयाँ बर्ष तथा बिस्केट जात्राको अवसरमा १२ दिनसम्म सञ्चालन हुने मेलाको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्दप्रसाद पोखरेलले उद्घाटन गरे ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्दप्रसाद पोखरेलले नेपालको संविधानको बारेमा प्रश्न उठाउने विदेशीहरुलाई पहिला आफ्नो देशको संविधान हेरेर मात्र प्रश्न उठाउनु आग्रह गरेका छन् ।
भक्तपुरको सल्लाघारीमा आयोजित औद्योगिक, साँस्कृतिक पर्यटन तथा व्यापार मेलामा मन्त्री पोखरेलले भारत र ईयूले नेपालको संविधानको बारेमा अनावश्यक प्रश्न उठाउनु गलत भएको बताए ।
नाकाबन्दी खुलाउनु, भारत र चिनसंग धेरै महत्वपूर्ण विषयमा सम्झौता गर्नु यो सरकारको सफलता भएको मन्त्री पोखरेलको भनाई रहेको छ ।
२ सय वटा स्टल रहको मेलामा दैनिक जीवनमा प्रयोगमा आउने उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, अटो, बिभिन्न्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहेको छ ।
मेलाका संयोजक दिपक थापाले अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, बिभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानहरुको स्टल रहेको जानकारी दिएका छन् ।
मेलामा बिक्री गरिने सामानहरुमा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने ब्यवस्था गरिएको जानकारी दिदै उहाँले मेलामा आउनेहरुका लागि निःशुल्क स्वास्थ्य शिविर समेत मेला आयोजक सन्दिप महतले बताए ।
मेलामा करिब ५ लाख उपभोक्ताले मेलाको अवलोकन तथा सेवा प्राप्त गर्ने र करिब १० देखि १२ करोड रुपैयाको कारोबार हुने अपेक्षा गरिएको छ । बैशाख ५ गते सम्पन्न हुने मेलामा बाल उद्यान, रोटी पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै चार दर्जनभन्दा बढि राष्ट्रिय स्तरका कलाकारहरु सांगितिक प्रस्तुतीका साथै हाँस्य व्यङ्ग्य सहितका मनोरञ्जनात्मक प्रस्तुती रहने आयोवक संस्था मध्यपुर व्बाइज ब्याण्डका अध्यक्ष सुनिल बज्राचार्यले जानकारी दिए ।