अस्मिता खतिवडा/ २४ चैत, धादिङ – धादिङ जिल्लामा संचालनमा रहेका सबै स्वास्थ्य संस्थाहरुमा पि.एम.टी.सी.टी सेवा प्रदान गरिने भएको छ ।
एच.आइ.भी संक्रमित आमाबाट जन्मेका बच्चामा एच.आई.भी संक्रमण रोकथाम प्रक्रिया जिल्ला अस्पताल धादिङमा मात्रै सिमित हुँदा जिल्लाका बहुसंख्यक ग्रामिण क्षेत्रमा बसोबास गर्ने महिलाहरु सेवाको पहुंचबाट वञ्चित भइरहेका छन् ।
त्यसैले सबै गर्भवती महिलालाई सेवाको पहुँच भित्र ल्याउनका लागि धादिङका सबै स्वास्थ्य संस्थामा समुदायमा आधारित आमाबाट बच्चामा सर्ने एच.आइ.भी संक्रमणको रोकथाम कार्यक्रम पि.एम.टी.सी.टी संचालन गरिने भएको छ । समुदायमा आधारित आमाबाट बच्चामा सर्ने एच.आइ.भी संक्रमणको रोकथाम कार्यक्रम पि.एम.टी.सी.टी का बारेमा बुधबार धादिङबेशीमा सम्पन्न जिल्ला स्तरीय परिचयात्मक गोष्ठि कार्यक्रममा बोल्दै वरिष्ठ जनस्वास्थ्य प्रशाशक जिवन कुमार मल्लले गाऊँ गाऊँका सबै स्वास्थ्य संस्थामा सेवा पु¥याइने बताए ।
कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय अभिमुखिकरण, जिल्ला र गाऊँ स्तरका सबै स्वास्थ्य संस्थाका स्वास्थ्य कार्यकर्ताहरुलाई तालिम, आवश्यक औषधी तथा सामाग्रीहरु व्यवस्थापन, सेवा संचालन, अनुगमन र सहयोग, समन्वय र समिक्षा तथा प्रगति प्रतिवेदन विश्लेषण लगायतका क्रियाकलाप संचालन गरिने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रक केन्द्रका झलकराज पौडेलको भनाई छ ।
संक्रमित आमाबाट बच्चामा एच.आइ.भी सर्न नदिने उद्देश्यले समुदायमा आधारित आमाबाट बच्चामा सर्ने एच.आइ.भी संक्रमणको रोकथाम कार्यक्रम संचालन गर्न लागिएको पौडेलले बताए । जिल्ला एड्स समन्वय समितिका अध्यक्ष एवं स्थानिय विकास अधिकारी भगवान अर्यालको अध्यक्षतामा सम्पन्न परिचयात्मक कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य प्रशाशक जिवन कुमार मल्ल, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, गैर सरकारी संस्था महासंघ धादिङका अध्यक्ष दामोदर अर्याल लगायत विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।