सरिता श्रेष्ठ / १६ चैत, धादिङ – यस वर्षको एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जिल्ला शिक्षा कार्यलय धादिङले जानकारी दिएको छ ।
धादिङमा एसएलसी परीक्षाका लागि २६ वटा केन्द्रहरु निर्धारण गरिएको छ । २६ वटा केन्द्र मध्ये ३ वटा केन्द्रमा महिला केन्द्राध्यक्ष खटाइने जिल्ला शिक्षा कार्यलय धादिङले जानकारी दिएको छ ।
सदरमुकाम धादिङबेसीमा रहेको बालमन्दिर मावि परीक्षा केन्द्रमा नानीमायाँ कार्कीलाई खटाइने भएको छ । कार्की सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ उमाविका शिक्षक हुन् ।
त्यस्तै नलाङमा रहेको मिन्दुका मावि परीक्षा केन्द्रमा जानुका कंडेल रहेका छन् । उनी महेन्द्र उमावि साँखुका शिक्षक हुन् त्यस्तै थाक्रेमा रहेको जनजागृति उमावि परीक्षा केन्द्रमा प्रतिभा अधिकारीलाई खटाईने जिल्ला शिक्षा अधिकारी रेनुका पाण्डेले जानकारी दिइन् । अधिकारी महांकालेश्वरी उमावि थाक्रेका शिक्षक हुन् ।
यी विद्यालयहरुमा स्थायी दरबन्दीको मावि शिक्षक नभएका कारण उनीहरुलाई खटाइएको हो । अघिल्लो वर्ष दुइवटा परीक्षा केन्द्रमा मात्र महिला केन्द्राध्यक्ष खटाइएको थियो ।