१६ चैत, धादिङ – संयुक्त अरब इमिरेट्स युएईको एक आवासीय टावरमा भीषण आगलागी भएको छ । दुबईको उत्तरमा रहेको इमिरेट्स अफ अजमानको एक आवासीय टारवरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीमा परि कोही पनि हताहत नभएको सरकारी अधिकारीले बताएका छन् । अल सावन टावरमा आगलागी सुरु भएलगतै त्यहाँ रहेका मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । सोमबार बेलुका अजमानको एउटा कम्प्लेक्समा आगलागी भएको हो । अजमानले तीन हजार अपार्टमेन्ट भएको १२ वटा टावर बनाएको छ । युएईका आन्तरिक मालिला मन्त्री शेख सैफ विन जायदले आगालागी भएको अपार्टमेन्टको अवलोकन गर्नु भएको छ ।
७३ करोड ५० लाख अमेरिकी डलरमा निर्माण पूरा भएको अजमान टावर सन् २००९ देखि प्रयोगमा आएको थियो । तर यसको सम्पूर्ण निर्माण भने गएको वर्ष मात्रै पूरा भएको हो । आवासीय टावरको एक भागमा मात्रै आगो फैलिएको प्रहरीले जनाएको छ । आगो अहिले नियन्त्रणमा लिइएको छ । आगलागीको कारण खुलेको छैन ।
युएईमा एक वर्षभित्रमा तीन पटक यसकिसिमको आगलागी भएको छ । गएको जनवरीमा दुबई एक ६३ तले होटलमा नयाँ वर्षको कार्यक्रम भइरहेका बेला आगलागी भएको थियो । गएको वर्षको फेब्रुअरीमा दुबईको एक आवासीय टावरमा आगलागी भएको थियो ।
– एजेन्सीको सहयोगमा