१५ चैत, धादिङ – पाकिस्तानको लाहोरको एक सार्वजनिक पार्कमा विस्फोट हुँदा ६९ जनाको ज्यान गएको छ ।
घटनामा अन्य तीन सय भन्दा धेरै घाइते भएको सरकारी अधिकारीले बताएका छन् । पञ्जाब प्रान्तको राजधानी लाहोरको गुलशन इकबाल पार्कको गेट नजिक आइतबार बेलुका विस्फोट भएको हो, जहाँ बिदा बनाउन गएका मानिसको भिड थियो । विस्फोटमा परि ज्यान गुमाउनेमा महिला तथा बालबालिका धेरै रहेको सरकारी अधिकारीले बताएका छन् ।
बिद्रोही संगठन तालिबानको पाकिस्तानी गुटले आक्रमणको जिम्मेवारी लिएको छ । लाहोर शहरको बिच भागमा रहेको पार्कमा आइतबार सार्वजनिक बिदाको दिन भएकाले धेरै परिवार आफ्ना बालबालिकासहित त्यहाँ पुगेका थिए । यो आत्मघाती विस्फोट रहेको र यसमा सातदेखि १० किलो विस्फोटक पदार्थ प्रयोग भएको प्रहरीले जनाएको छ ।
विस्फोट लगतै भागदौड मच्चिएको र त्यसक्रममा धेरै बालबालिका आफ्ना आमाबाबुबाट छुट्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । पाकिस्तानका राष्ट्रपति ममनुन हुसैनले घटनाको भत्सर्ना गरेका छन् । पञ्जाब राज्य सरकारले तीन दिने शोकको घोषणा गरेको छ । समाचार संस्था रोयटर्सले घटना लगतै पार्क क्षेत्रमा भिड नियन्त्रण तथा सुरक्षाका लागि सेना परिचालन गरिएको जनाएको छ ।