१४ चैत धादिङ – व्यावसायिक रुपमा बाख्रा पालनमा लागेका धादिङका किसानहरुले आइतबार जिल्ला संघ गठन गरेका छन् । व्यावसायिक बाख्रा पालनमा लागेका किसानहरुको व्यावसायिक हक, हित र सुरक्षामा पैरवी गर्न संघ स्थापना गरेको किसानहरुले बताएका छन् ।
व्यावसायिक बाख्रा पालक केन्द्रिय संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सेढाईं र जिल्ला पशुसेवा कार्यालय धादिङका वरिष्ठ पशु विकास अधिकृत देवेन्द्र भगतको विशेष आतिथ्यमा भएको व्यावसायिक किसानहरुको भेलाले रेमनाथ भट्टको अध्यक्षतामा जिल्ला व्यावसायिक बाख्रा पालक किसान संघ तदर्थ समिति गठन गरेको हो ।
अध्यक्ष भट्ट मेचि महाकाली बाख्रा फर्म उद्योग सलाङका सञ्चालक छन् । समितिको उपाध्यक्षमा मस्र्याङ्दी बाख्रा फर्म बेनिघाटका सहदेव धितार, सचिवमा नेपाल कृषि तथा पशु व्यसाय प्रवद्र्धन केन्द्र जीवनपुरका ऋषिकुमार ढकाल र कोषाध्यक्षमा आचार्य बाख्रा फर्म केवलपुरका सीता पुडासैनी आचार्य चयन भएका छन् । आइतबार गठन भएको तदर्थ समितिले जिल्ला संघको विधान बनाउने, संस्था दर्ता गर्ने र आगामी ६ महिनाभित्रमा प्रथम अधिवेशन गराउने जिम्मेवारी पाएको सचिव ढकालले बताए ।
संघ संस्था ऐन २०३४ अनुसार जिल्ला प्रशासा कार्यालय धादिङमा दर्ता गरिने पनि सचिव ढकालले जानकारी दिए । सदरमुकाम धादिङबेसीमा भएको भेलामा संघका केन्द्रिय वरिष्ठ उाध्यक्ष सेढाइले व्यावसायिक बाख्रा पाल्ने किसानलाई सरकारी तवरबाट सहयोग उपलव्ध गराउन र उनीहरुको हकअधिकार सुनिश्चित गर्न काम यर्ने बताए ।
त्यसैगरी वरिष्ठ पशुविकास अधिकृत देवेन्द्र भगतले जिल्ला तहबाट बाख्रा पालतमा सहभागि किसानहरुलाई दिने सहयोगमा संगसंग समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । धादिङ जिल्लामा फर्म दर्ता गरेरै व्यावसायिक बाख्रा पालन गर्ने किसानहरुको संख्या एकसयभन्दा बढि रहेको र ५० ओटा भन्दा बढि बाख्रा पाल्ने किसानहरु का फर्म २० भन्दा बढि रहेको जिल्ला पशुसेवा कार्यालय धादिङका प्राविधिक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।